स्मृतिग्रन्थः पवित्र कर्म
धन जीवन सञ्चालनको साधन मात्र हो, साध्य होइन। हाम्रा धर्मशास्त्र आदिले पनि यही सन्देश मुखरित गरेका छन्। समाजमा जो आदर्श व्यक्तित्व छन्, उनैको अभिनन्दन स्मृति वा जीवनी प्रस्तुत गर्नु उपयुक्त रहन्छ। कुनै व्यवसायबाट प्रशस्त धनार्जन गरी धनाढ्य बनेको व्यक्तिहरूको यहाँ कमी देखिन्न। तर तिनको धनलाई भन्दा गुणलाई हेरेर कदर गरिनुपर्छ। उसको धन सामाजिक हितका कार्यमा यथेष्ट रूपमा खर्चिएको छ भने ऊ सबैको सरोकारको पत्र र विषय हो।
स्मृतिग्रन्थ भनेपछि कृतिमा स्मरणयोग्य वा सन्देशप्रद विचारको पुञ्ज संग्रृहीत हुनुपर्छ, जसले सामाजिक शुद्धीकरण वा संस्कृतिकरणका पक्षमा सुन्दर भूमिका निर्वाह गरोस्। तर स्मृतिग्रन्थका नाममा अचेल केही नातागोता, इष्टमित्र तथा बोक्रे नेताका सामान्य सतही प्रकृतिका विचार र घटना विवरणहरू प्रस्तुत हुने गरेका छन्, तिनले गुणगरिमामा ह्रास ल्याई कृतिको वजन घटाएको छन्। महŒवपूर्ण विचार भएका रचनाहरूलाई मात्र स्थान दिएर सम्पादन प्रक्रियाद्वारा यथोचित परिमार्जन भएर कृति प्रकाशन भयो भने कृतिको गरिमा कायम राख्छ। त्यस्तै प्रकृतिका कृतित्वबाट प्रकाशन हुनुको पनि सार्थकता रहन्छ। त्यसैले, स्मृतिग्रन्थका प्रकाशकहरूले पनि जीवन—जगत्लाई गहिराइबाट बुझेका सम्पादक चयन गर्नुपर्छ।
अचेल नेपाली साहित्यमा स्मृतिग्रन्थ वा अभिनन्दन ग्रन्थहरू व्यापक रूपमा निस्कन थालेको छन्। मेरो कर्मथलो चितवनमै पनि दर्जनौंको संख्यामा यस प्रकृतिका कृति प्रकाशनमा आउन थालेका छन्। अहिले त यो अनुसन्धानकै एक विषय बन्न पुगेका देख्न सकिन्छ। हालै देखा परेका केही कृतिहरू जस्तै : स्मृतिविम्बमा खेमलाल लामिछाने (२०७२), बाबुराम पाण्डे : व्यक्तित्व र कृतित्व (२०७३), सूर्यप्रसाद शर्माको जीवनका सुसेलीहरू (२०७३) आदि।
ज्ञान र अनुभव मानिसको मन–मस्तिस्कमा रहन्छ। यो लिपिबद्ध गर्न सकिएन भने त्यो त्यसै समाप्त भएर जान्छ। त्यसैलै स्मृतिग्रन्थको प्रकाशन पुराण आदिको प्रवचनभन्दा पनि राम्रो र पवित्र कर्म हो। ग्रन्थ भनिसकेपछि त्यसमा स्मरणीय र उल्लेखनीय गुणात्मक तत्वको कुराहरू निहित हुन्छन् भने स्मारिकामा सामान्य सतही कुराहरू पनि समाविष्ट हुन्छन्। ग्रन्थ गरिमायुक्त भएकाले उच्च दृष्टिले हेरिन्छ तर स्मारिकालाई सामान्य दृष्टिले हेरिन्छ। जेहोस् स्मृतिग्रन्थले स्मरणीय गुण गरिमालाई दर्शाउँछ। व्यक्तिको सम्मानार्थ निकालिने पुस्तकको बृहत् आयामलाई बुझिन्छ। समाजमा जो गुणशील र सिर्जनशील छन्, तिनैका विषयमा स्मृतिग्रन्थ र अभिनन्दन ग्रन्थहरू निस्कने गर्छन्।
मानिसहरू आध्यात्मिक भावनाले प्रेरित श्राद्ध गर्छन्, सप्ताह लगाउँछन्। तर ती सबैभन्दा उच्च स्मृतिग्रन्थको प्रकाशन भने एक महान् पितृयज्ञ हो। श्राद्धले संस्कार बचाउने काम गर्दछ। सप्ताह वा पुराण आदिका प्रवचनले पितृहरूको उद्धार गर्छ भने स्मृतिग्रन्थले मानवीय मनमस्तिस्ककै परिष्कार गर्दछ। मानव मनमस्तिस्कको परिष्कार सबैभन्दा उच्च पवित्र कर्म हो। त्यसैलै पितृलाई सम्झेर गरिने यो पवित्रतम यज्ञ ओ। श्राद्धादि सामान्य कार्य भएकाले पितृकार्य भनिएको हो भने प्रकाशन जस्तो कार्य महान् कार्य भएकाले पितृयज्ञ भानिएको हो।
असल ग्रन्थको कुलको अक्षनिधि वा कुलको सुगन्धमयी बगैंचा जे भने पनि हुन्छ। गान्धीका दृष्टिमा ‘असल ग्रन्थको मूल्य रत्नभन्दा पनि अधिक हुन्छ। रत्नले बाहिरी चमक—धमक देखाउँछ भने असल ग्रन्थले अन्तस्करणलाई नै उज्यालो प्रदान गर्दछ,’ तसर्थ स्मृतिग्रन्थ कुलका उज्ज्वल हुन्, जसले कुललाई नै चम्काउने काम गर्छन्।