डीपी भण्डारी : डाँडाका छरपस्ट घाम

डीपी भण्डारी : डाँडाका छरपस्ट घाम

‘म आज डीपी भण्डारीको पहिलो निबन्धसंग्रह ‘मृगस्थली’माथि बोल्न जाँदैछु’, मैले मेरा पूर्वविद्यार्थी र मित्र प्राध्यापक अरुण गुप्तोलाई ९ असार, २०५७ को बिहान उनकोमा चिया खाएर बसेको बेला भनेँ। तिनले अकस्मात् भने, ‘सर, मौरिस ब्लाँसोको विचारसँग पनि उहाँको केही तुलना गर्नुहोला।’ मलाई अरुणले भनेपछि एउटा कुराको अभिव्यञ्जना भयो। त्यो हो मौनताको हल्ला, थोरैमा भनिने अर्थहरू र सरलताको सामथ्र्य। मैले भनेँ, ‘म उनका अराजक निबन्धको, उनका मित्र तर विचार र लेख्ने पद्धति केही नमिल्ने खगेन्द्र संग्रौलासँग केही तुलना गर्दैछु।’ अरुणले त्यसमा केही भनेनन्, किनभने उनले संग्रौलाका निबन्ध राम्ररी पढ्न पाएका थिएनन्। तर, मलाई डीपी भण्डारीको निबन्ध पढिसकेर विचारहरू जोड्ने सिलसिलामा तुलनाका निम्ति यी फ्रान्सेली विचारक ब्लाँसो र खगेन्द्र संग्रौला भाइका लेखनको प्रसंग आउँदा एउटा नौलो ऊर्जा आएको थियो।

साहित्यको भाषा वा शब्दले संसारको चित्र दिँदैन, ब्लाँसोको विचारमा। त्यसैले हामी साहित्यको भाषाको अर्थ लगाउने हाम्रो काममा सफल हुँदैनौं। डीपी भण्डारीका निबन्धमा संसारको सोझो अर्थमा भन्दा शब्द र भनाइका ध्वनि र लयमा, अनि तिनको संयोजनमा, तिनका विरोधाभाषमा शक्ति भेट्न सक्छौं भन्ने कुरा सायद ब्लाँसोका विचारका नजिक छन्। लाग्यो, अरुणले यही अर्थमा ब्लाँसोको प्रसंग ल्याएका थिए। अथवा डीपी भण्डारीका निबन्धहरूले ठाडो अर्थभन्दा जेन मौनताको जस्तो प्रभाव दिन्छन्। ‘फेवातालमा बासोको रैबार’मा बासोका हाइकुको भ्यागुतो र नेपोलियन उफ्रिएकोमा साम्य देख्छन्। उनका मित्र खगेन्द्र संग्रौलाका निबन्धले सोझै संसारको चित्र दिन्छन्, आलोचना पनि गर्छन्। तर, यी दुई विपरीत निबन्ध लेख्नेहरूका केही कुरामा चाखलाग्दा साम्य छन्। खगेन्द्र भाइ मार्क्सवादी हुन् अनि उनका यो समाज र राजनीतिक संरचनाबारे आफ्ना प्रस्ट दृष्टिकोण छन्। डीपी भण्डारीले एमालेको प्रजातान्त्रिक कार्यक्रमलाई ‘हेमा मालिनीको जुँगा’ भनेर लेखे। दुवैजना निबन्धमा आफूलाई राख्छन्। ती समयभित्र पस्छन् अनि आफ्ना अनुभव लिएर निस्किन्छन्। निबन्धमा तिनीहरू समय लेख्छन्। डीपी भण्डारीले मलाई भनेअनुसार ती खगेन्द्र संग्रौलाका निबन्धप्रेमी हुन्।

१९ कात्तिक २०६० मा खगेन्द्र भाइको निबन्धसंग्रह ‘घोडा, ईश्वर र मेरा बा’ (२०६०) को विमोचन भयो काठमाडौंमा। त्यसमा बोल्नेमध्ये म र डीपी भण्डारी पनि थियौं। भण्डारीले भने, ‘म खगेन्द्रका निबन्ध अभिले जस्तो मिहिन गरेर पढ्न नपाई आएको भए पनि, म अभिले भन्दा यिनमाथि राम्ररी बोल्न सक्छु।’ डीपी भण्डारीले नभन्दै अत्यन्त वाचाल भएर बोले। मैले उनलाई छेउछाउ पनि भेट्न सकिनँ। मलाई यी दुईजनाको संयोगबाट लाग्यो, भण्डारी अनुशासनभित्रका अराजकतावादी हुन्।

डीपी भण्डारीका अहिलेसम्म चारवटा निबन्धसंग्रह प्रकाशित छन्। मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र पूmल (२०६३) र त्यो धरती, त्यो आकाश (२०६८)। यो पछिल्लो निबन्धसंग्रह त्यो धरती त्यो आकाश मेरा अर्का विद्यार्थी र मित्र निबन्धकार शेखर खरेलले जोड्न र प्रकाशनको अवस्थामा पुर्‍याउन सहयोग गरेका थिए। त्यसमा उनले आपैंm भण्डारीका लेखन, यो संग्रहको सन्दर्भ र उनको व्यक्तित्वमाथि परिचय लेखेका छन्। अनि शेखरले त्यसमा कवि माधव घिमिरेलाई पनि लेख्न लगाएका छन्, जसमा कविले भण्डारीका निबन्धको अराजक चिन्तनमा रोमानी शक्तिले रञ्जित मानवतावाद देखेका छन्। विचार र शैलीका कुरा तलका अनुच्छेदमा लेखेको छु। तर, यहाँ अलिक असहज र मन भरंग भएको प्रसंग छ।

मैले अरुण गुप्तोलाई भनेँ, ‘म डीपी भण्डारी र रामेश्वर अधिकारीलाई भेट्न जान खोज्दैछु। तिमीसँग जान चाहन्छु।’ अरुण प्रमुख रहेको पोखरा विश्वविद्यालयको आयसर भन्ने अंग्रेजीमा मास्टर र एम्फिल् डिग्री गराउने संस्था बानेश्वरमा छ। त्यहाँबाट विस्मृति बढ्दै गएको अवस्थामा बसेका यी दुवै प्राध्यापकका घर नजिकै छन्। केही समयपहिले म यिनीहरूलाई भेट्न एक्लै गएको थिएँ। तर, पहिलेका सरल परिवेश, तिनै गल्ली र थलोहरू यतिविघ्न परिवर्तन भएछन् कि म पत्ता लगाउन नसकेर यसै फर्केको थिएँ। २७ वैशाख २०७५ को दिन अरुणले मलाई आयसरमा लिएर गए, अनि त्यहाँबाट डीपी भण्डारीका पुत्रवत् मानिस, उनलाई वर्षौंदेखि अन्तरंग सहयोग गरिआएका त्यहाँ हामीलाई पर्खेर बसेका डम्बरबहादुर धानुकले हामीलाई क्रमशः रामेश्वर अधिकारी र डीपी भण्डारीका घर लिएर गएको त्यो दोपहर कुनै अर्को दोपहरजस्तो थिएन। अंग्रेजी केन्द्रीय विभागमा वर्षौं सँगै पढाएका वयमा मभन्दा जेठा, अनि म केन्द्रीय अंग्रेजी विभागको अध्यक्ष भएकै बेला बीसौं शताब्दीका अन्तिम वर्षहरूमा रिटायर्ड भएका यी दुई मित्रहरूसँग शिक्षा र जीवन दर्शनका सहज र संकटपूर्ण सम्बन्धमाथि मैले धेरै वर्ष काम गरेको हुँ। अहिले यी दुई मित्र किञ्चित विस्मृति र किञ्चित कुनै नजानिएका जीवन र लयका नमिलेका कुइनेटामा परेर बसेका छन्। म यी मित्रहरूलाई भेट्ने मेरो यो यात्रामा एउटा कालिक विषय जोडिरहेको हुन्छु।

अहिले विश्वविद्यालयमा लिबरल् आर्टस्को अवस्था जटिल छ। यी दुई प्राध्यापकहरूको ‘रिट्रिट्’ भएको अवस्थाले मलाई अहिले यो विषयका केही प्रसंग जोड्न मन लागेको छ। अंग्रेजी विषयमा हामीले पोस्टग्य्राजुअट् पाठ्यक्रम बनाउँदा एउटा गतिलो चेतनाले काम गरेछौं। हामीले मानव विषय र साहित्यलाई जोड्ने काम गरेका थियौं। मानविकी र साहित्यलाई, त्यसमा पनि अंग्रेजी साहित्यलाई हामीले एउटा सीमित वृत्तबाट बाहिर ल्यायौं। विश्वविद्यालयको स्थापनाको नियम, ‘स्ट्याचुट्’ले राखेको अंग्रेजी साहित्य भन्ने विषयलाई नचलाई त्यसमा विचलनहरू राख्यौं। अन्तर्विषय जोड्यौं। साहित्यसँगै समाज, राजनीति, कला, संस्कृति र दर्शनहरू जोड्यौं। गायत्री स्पिभाक् चक्रवर्तीले देखेको दोहोरो बन्धन वा ‘डबल बाइन्ड’ हामीले प्रयोग गर्‍यौं। हामी हाम्रो पहिचान वा यथार्थ अंग्रेजी साहित्य भनिने पश्चिमी साहित्यमा छ र ? हामीले आपैंmलाई प्रश्न गरेका थियौं, अनि सोधेका थियौं— हाम्रा पहिचान, हाम्रा विद्यार्थीको पहिचान के हुने भो त ? हाम्रो उत्तर थियो— एक खुलस्त जीवनमुखी र प्रयोजनमुखी विषयको अध्ययन गर्ने गराउने। बीसौं शताब्दीका अन्तिम वर्षहरूदेखि हामीले सुरु गरेको यो एउटा प्रयोगको काल थियो। यसले केही अराजक चिन्तन जन्मायो तर यो प्रयोग सिर्जनशील थियो र छ। हामीले यसै विचारमा मुक्तिका सम्भावनाहरू बुझ्यौं।

आफ्नै अनुभवको कुरा गर्दा मैले तीनजना हतियार र एकेडेमियामा वारपार गरिबसेका क्रान्तिकारी युवा विद्यार्थीलाई थेसिस लेखाएँ, अंग्रेजी साहित्यमा। उनीहरूलाई मार्क्स र माओका साहित्य चिन्तनका किताब र आलेख आफ्नै संकलनबाट दिएर पढ्न लगाएँ। हाम्रो अराजकता भनेको यही निरपेक्ष खुला मानविकी अध्ययन अध्यापन थियो। बुटवलमा एउटा अंग्रेजी शिक्षण गोष्ठी गराउँदा अंग्रेजी पाठमा राखेको मार्क्सको ‘कम्युनिस्ट मेनिफेस्टो’ मैले व्याख्या गरेँ। केही कालपछि बाहिर एकजना व्यक्ति मलाई ‘कामरेड अभि सुवेदी, हाम्रा पार्टीका कामरेडहरूलाई यो विषयमा प्रवचन दिन आग्रह गर्दछौं’ लेखेको पत्र दिन बसेका थिए। मैले म कुनै दलको मानिस नभए पनि यसरी कैयौं ठाउँमा गएर प्रवचन दिएँ। हाम्रो लिबरल् आर्टस् शिक्षामा ‘कोटरी’, सानो वृत्तबाट मानविकी शिक्षालाई बाहिर निकाल्ने योजना थियो, यो सबै। यो गराउने क्रम अंग्रेजी ग्य्राजुअट अध्ययन गर्ने गराउने नेपालका केही थलोमा चलिरहेको छ।

डीपी भण्डारी र रामेश्वर अधिकारीसँग मैले यही प्रयोग, अराजकता, संकट र उपलब्धिको चुनौतीपूर्ण कालमा काम गरेका थिएँ। अरुण गुप्तोजस्ता विद्वान्हरूलाई त्यही कालमा हामीले निकालेका थियौं। पछि अनेकौं मेधावी शिक्षक, लेखक, विद्वान्हरू जन्मिए। अहिले ती अनेकौं किसिमले काम गर्छन्। डीपी भण्डारीले भने यी परिवर्तनलाई शिक्षामा आउने सकारात्मक सहज खेलको रूपमा वरण गरे। एकाध घटना सम्झिन्छु। निकै वर्षपहिले नेपाल टेलिभिजनका मेरो पहिलेका विद्यार्थी राजेन्द्र आचार्यले प्रत्यक्ष प्रसारणमा साहित्य र सिद्धान्तका विषयमा खुला छलफल गराउन निकै व्यक्तिहरूलाई बोलाए। अहिले डीपी भण्डारी, किशोर नेपाल, अरुणा उप्रेतीको नाम मात्रै सम्झिन्छु। भनाइको सिलसिलामा डीपी भण्डारीले भने, ‘अहिले डेरिडाका विचारलाई लिएर कविता लेख्ने बेला आएको छ।’ यो प्रसारण हेर्ने विद्यार्थीलाई अर्को अर्थ लाग्ला भनेर मैले तुरुन्तै डेरिडाको विषयमा भनिहालेँ, अनि कविता कर्मबारे बोलेँ। त्यसको एक हप्तापछि फेरि डनबस्को कलेजका प्रिन्सिपल प्राध्यापक चन्द्रप्रकाश शर्माले आयोजना गरेको यस्तै अर्को छलफलको कार्यक्रममा सहभागी भयौं।

डीपी भण्डारीले भने, ‘मैले पाँच वर्षदेखि डेरिडा चलाइरहेको थिएँ, अस्ति नेपाल टेलिभिजनको छलफलदेखि अभिले समाप्त गरिदियो।’ यो आक्रोश थिएन, एउटा डीपी भण्डारीको फराकिलो सिर्जनशील अराजकता र इमानदार स्वभाव थियो। हामीले गरेका प्रयोगहरूमाथि एउटा आलोचनात्मक समर्थन थियो। उनले निबन्धहरू लेख्ता सधैं एउटा इमानदारी र बहानामुक्त सिर्जनशील सामथ्र्यको प्रयोग गरे। यसले हाम्रो यो पश्चिमी ‘थ्योरी’ र नयाँ विचार पढाउने अभियानमा सहयोग गर्न रामेश्वर अधिकारीले लाखौं रुपियाँले मात्र किन्न सकिने आफ्ना घरका किताबहरू केन्द्रीय अंग्रेजी विभागको पुस्तकालयलाई दिए। अहिले पनि विद्यार्थी तिनको प्रयोग गर्छन्।

डम्बरले हामीलाई रामेश्वर अधिकारीलाई भेट्न लगे, पहिला। कुनै बिमार नभएका तर प्रायः चेतनाशून्य अवस्थामा सुतेका ती महान् शिक्षासेवी, ती लगभग एकल अभियान गरेर बृहत् शब्दकोशहरू तयार गरेर छपाएका विद्वान्, ती इमानदारिता र आचारलाई जीवन मान्ने मानिस, ती लामो शिक्षाको विगत भएका, झापामा प्रिन्सिपल भएर कलेज खोलेका अनि त्यही बेला आरके र सीपी मैनालीहरूलाई कम्युनिस्ट बनाउने तर आफू भने जीवनभर असंलग्न भएर जीवन र जगत्बारे सोच्ने र काम गर्ने मेरा अखण्ड मित्रलाई म्याडम शशिकला अधिकारीको यत्न र स्नेहको आकाशमुनि बूढानीलकण्ठ सदृश समाधिमा सुतेको देखेर म समय र चेतनाको आँधीबेहरीले अकस्मात् प्रताडित भएँ। विवेकशून्य मैले ‘म अभि, अभि !!’ भनेर बारम्बार कराएँ, उनको छेउमा गएर। एकाएक उनका आँखा खुले। केही बोली निस्क्यो, अनि उनका आँखाबाट आँसुका धारा बगे। म भक्कानिएर रोएँ। अरुण पनि रोए। त्यो एउटा अवस्था हो, जुन यथार्थ अहिले सबैले बुझेका छन्। यस्ता विस्मृति पछिल्तिर पनि केही साना आकाश खुलेकै हुन्छन् कि, कसरी थाहा हुन सक्छ र कसैलाई पनि। यो अस्मितावाद वा अस्तित्ववादको दर्शनले भेट्ने विषय होइन। यसमा आफ्नो छनोट छैन। तर, यो अवस्थाभन्दा अगाडिको जीवन एउटा चलायमान काव्यिक नाटक हो। हामीले खेल्ने त्यही हो। यो अवस्थाको दार्शनिक व्याख्या छैन। यो जीवन आइपुगेर अडिएको एउटा थलो हो, जहाँ पुगेको पुग्नेलाई थाहा हुँदैन। अरूलाई थाहा हुन्छ।

डीपी भण्डारी हिँडेर हामीलाई भेट्न बैठकमा आएका थिए। खुसी भएका थिए। उनको देह अनि अनुहार अलिक सानो भएको देखेँ। अनुहारमा एउटा क्षितिजमा छरपस्ट कोमल घामजस्तो आभा थियो। मलाई लाग्यो, हामीलाई त्यही छरपस्ट मलीन घामले उनले स्वागत गरे। छेउमा गएर बसेँ। उनले पढ्ने गर्छु भन्ने अर्थ बुझाए। निकै बेर बसेपछि हामी हिँड्यौं। डम्बरले भने, ‘उनलाई भित्र लगेपछि हामी हिँडेकोमा भण्डारीजी बालकजस्तो रोए।’ मेरो अंग्रेजी विभागका अरू मित्रहरूभन्दा डीपी भण्डारीसँगको सम्बन्ध विशेष किसिमले अभिव्यञ्जनामूलक, आत्मीय, अराजक र सिर्जनशील थियो। यी लेखक र प्राध्यापक दुवै हुन्। यिनले नेपालमा बुद्धिजीवीको दायित्वमाथि नेपाली साहित्य समाजमा आफ्ना विचार राखेको घटना सम्झिन्छु। नेपालमा प्राध्यापकहरू पञ्चायतको बन्देजको बेला दलीय विश्वासले संघका चुनाव लड्दैनथे। डीपी भण्डारीले २०४३ सालमा त्यो सबै तोडेर कपिल श्रेष्ठ, अहिले प्रदेश नम्बर १ का गभर्नर हाम्रा विद्यार्थी गोविन्द तुम्बाहरूको समूह रचना गरेर नेपाल प्राध्यापक संघको चुनाव लडे र अध्यक्ष भए। यो एउटा प्रजातान्त्रिक अभ्यासमा उनको साहसी प्रस्तुति थियो। तर उनी ‘थाकेको कांग्रेस’का आलोचक थिए।

९ असार, २०५७ को दिन डीपी भण्डारीको पहिलो निबन्धसंग्रह ‘मृगस्थली’को प्रज्ञाभवनमा भएको विमोचनमा बोल्नेमध्ये म एक थिएँ। प्रधानमन्त्री गिरिजाबाबु प्रमुख अतिथि थिए। उनलाई जान अलिक हतार थियो। तर, मैले भण्डारीका यो संग्रहका निबन्धहरूमाथि बोल्दै जाँदा कोइराला खुब खुसी भएर जाने कुरा छोडिदिए। मैले भण्डारीले अराजक कर्म गरेका निबन्धका सार भनेँ। उनकी काल्पनिक प्रेमी मीनाक्षीलाई लेखेका चिठीका अर्थ खुलाएँ। डीपी भण्डारी मथुरामा शिक्षाको निम्ति गुरुकुलमा विद्यार्थी भएर बसेको बेला ऊभित्र एउटा विद्रोही भावना जन्मियो। उनको एउटा काम बिहानै गुरुले सूची गरेपछि प्रयोग गर्ने नरम माटो लानुपर्ने थियो। एक दिन भण्डारीले माटोमा खुर्सानीको धूलो मिसाइदिए। संवेदनशील अंग जलन भएका गुरुले उनलाई कारबाही गर्न नपाई यी दुर्गाप्रसाद भण्डारी नामक वटुक त्यहाँबाट भागे र अंग्रेजी माध्यमको शिक्षातिर लागे। त्यो खुर्सानी मिश्रित माटोले उनको जीवन परिवर्तन भयो। मैले भन्दै गएँ, गिरिजाबाबु भण्डारीसँग बसेर सोधिरहेका थिए। अगाडि बसिरहेकी श्री भण्डारी नामकी म्याडमलाई देखाएर मैले खुलाएँ, ‘डीपी भण्डारीलाई पचास वर्ष लागेको दिन ठूलो चिन्ता लाग्यो। तर, म्याडमले हामीलाई त्यसपछिका पाँच वर्षसम्म डीपी भण्डारीको पचासौं जन्मदिनको पायस खान बोलाइरहनु भयो।’ गिरिजाबाबुले छोटो भाषण गरे। उनले भने, ‘भण्डारीले नर्कमै जाऔं भने पनि म साथमा जान तयार छु’ (कान्तिपुर, १० असार, २०५७)।

डीपी भण्डारीका निबन्धहरूमा हास्य र गाम्भीर्यको सिम्फोनी बज्छ। तिनी इतिहासमा अधिनायकहरूको चरित्रलाई प्रहार गर्छन्। निरोको प्रसंग त्यसैले आएको हो। सोझै हेर्दा तिनका निबन्धमा मौरिस ब्लाँसो र खगेन्द्र संग्रौला दुवैको संयोग भेटिन्छ। डीपी भण्डारीको अझ अर्को विशेषता छ। तिनका चिन्तनमा दर्शनको गहिरो प्रभाव छ। ती जगत् र जीवनलाई कुनै एक मापदण्डले हेर्दैनन्, तर, स्वतन्त्र भएर लेख्ता जुन एउटा चित्र जन्मिन्छ, त्यही नै अर्थ हो, ती मान्छन्। भण्डारीका चारवटै किताबमा समावेश गरिएका निबन्धहरूका केही साझा विशेषता छन्। पहिलो त ती आमपाठकसँग सोझै पत्रिकाको माध्यमले संवाद गर्न लेखिएका रचना हुन्। त्यसैले भण्डारीले साहित्य लेखन ढिलो आरम्भ गरेका हुन्।

अर्कोतिर साहित्य लेखनका विधागत चरित्र र सांगोपांग मिलाएर लेख्ने भण्डारीको पद्धति होइन। तिनले रोटीदेखि ‘मेटाफिजिक्स’, अधिभौतिक दर्शनसम्म टाँगिएको आकाशमुनि जीवन हेर्ने पद्धति सहज रूपले वरण गरेका छन्। अंग्रेजी साहित्यमा कवि डब्लू बी यिट्स्को गहिरो प्रभाव छ, यिनलाई। कमजोर बनाउँदै जाने बयप्रति यिट्स्जस्तै आतंकित हुने यी सिर्जनशील अराजक मित्र म्याडम् श्री दिवंगत भएपछि ऐकान्तिक अवस्थामा रहेको कुरा मलाई थाहा थियो। डीपी भण्डारी र रामेश्वर अधिकारीलाई भेटेपछि म र अरुण घरतिर जान नसकेर सानेपाको एउटा कफी हाउसतिर लाग्यौं। साहित्य र एकेडेमिक विषयभित्र रहेर जीवन कति बुझ्न सकिन्छ, कि जीवन बुझ्नु र यसको अकिञ्चन र सार्थक चरित्र बुझ्नु भनेको केवल एक दार्शनिक विषय हो भन्ने अनुत्तरित प्रश्नहरू लिएर हामी त्यहाँ बस्यौं। जीवन छरपस्ट घाम हो, हामीले भन्यौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.