हावाहुरीका कारण पोखरामा पाँच प्याराग्लाइडर दुर्घटना
पोखरा: मौसम परिवर्तन हुँदा आइतबार पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन्। प्याराग्लाइडिङ गर्ने पाइलोट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ।
सराङ्कोटबाट उडेर आकाशमा रमाउँदै गरेका दुई प्याराग्लाइडर फेवातालमा खसेका हुन्। अन्य तीन प्याराग्लाइडर ताल किनारको जंगलमा खसेको वडा कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।
फेवातालमा दुर्घटना भएका प्यारापाइलोटलाई सशस्त्र प्रहरीको उद्धार टोली, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। ताल किनारका जंगलमा खसेका प्यारापाइलोट स्थानीयको सहयोगमा उद्धार गरी घर फर्केको प्रहरीले बताएको छ।
फेवतालमा माउण्टेट फ्लायर र पिस हिमालयन प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेको प्यारा तालमा खसेको प्रहरीले बताएको छ। माउण्टेन फ्लायर पाइलोट करण पहारी र भारतको आग्राहाका पर्यटक दिलिप शर्मा, पिस हिमालयन प्याराग्लाइड्रिका पाइलोट सुरेश नेपाली र चीनीयाँ पर्यटकलाई प्रहरीले तालबाट उद्धार गरेको हो दुर्घटनामा परेको सबै प्यारापाइलोट र पर्यटक सकुशल रहेको प्रहरीले बताएको छ।
हावाहुरी चलेपछि प्यारासहित तालमा खसेका भारतीय पर्यटक दिलिप शर्मा (हेलमेट लगाएका)लाई उद्धार गर्दै स्थानीय। तस्बिर : कृष्णमणि बराल