डेढ सयको अक्सिजन ६० हजारसम्म बिक्री
काठमाडौं : ७२ सय लिटरको मेडिकल अक्सिजन पाँच सय ५० मा खरिद गरेर १२ सय लिटरका ६ वटा सिलिन्डरमा भरेर प्रतिसिलिन्डर ६० हजार रूपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ । सरकारको नियमन निकायको बेवास्ताले कम गुणस्तरका अक्सिजनलाई धेरै रकममा बिक्री गर्दा आरोही ठगिएका छन् ।
पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनको मापदण्ड डिउ पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ, यो लिक्विड अक्सिजनमा मात्र हुने गर्छ, जुन माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्ने गर्छ यो अक्सिजन उच्च हिमाली क्षेत्रको चिसो र अक्सिजनको एकदमै अभाव भएको क्षेत्रमा प्रयोग गरिन्छ । तर हिजोआज ६० प्रतिशत बढी अक्सिजन कम गुणस्तरको सस्तो मेडिकल अक्सिजन प्रयोग हुने गरेको छ ।पर्वतारोहणमा प्रयोग गरिने अक्सिजनसम्बन्धमा कुनै चासो नराखेको पर्यटन विभागले अन्नपूर्ण पोस्टमा समाचार प्रकाशनपछि चासो बढाएको छ । ‘प्राविधिक विषय भएकाले जानकारी थिएन, छलफल र नियमन अगाडि बढाएका छौं’, विभाग निर्देशक तथा पर्वतारोहण शाखा प्रमुख रामप्रसाद सापकोटाले भने, ‘पर्यटनसँग सम्बन्धित निकाय र विज्ञहरूसँग परामर्श थालेका छौं, विकृतिलाई तत्काल नियन्त्रण गर्नेतर्फ लाग्छौं ।’
आरोहण अनुमति दिँदा कानुनी रूपमा अक्सिजनसम्बन्धी कुनै आधार राखिएको छैन । जोखिमपूर्ण मात्र नभएर मृत क्षेत्र भनेर समेत चिनिने हिमालमा अक्सिजनको गुणस्तरीयतालाई राज्यका निकायले अनुगमन नगरेको आरोही लाक्पा शेर्पाको आरोप छ । तीन सय बार प्रेसरको चार लिटरमा क्षमताको सिलिन्डर मात्र पर्वतारोहण क्षेत्रमा प्रयोग हुने गरेको छ । यो सिलिन्डरमा १२ लिटर अक्सिजन अटाउने गर्छ । तर मेडिकल अक्सिजन एक सय ५० बारमा हुन्छ ।
सरदार, गाइड, शेर्पा र मजदुरलाई कमसल अक्सिजन प्रयोग गर्न दिइन्छ भने केही विदेशी आरोहीले मात्र अक्सिजनको गुणस्तरमाथि प्रश्न गर्ने गरेको एजेन्सीहरू बताउछन् । ‘कुन कस्तो अक्सिजन भन्ने हुँदैन तर शक्तिबद्र्धक अक्सिजन लिक्विड अक्सिजन नै हो, यो माइनस १ सय ८३ डिग्रीमा मात्र लिक्विड अक्सिजन बन्छ’, एसडी ग्यासका प्रमुख डा. दिवस अमात्यले भने ।
अमात्यका अनुसार मेडिकल अक्सिजन ग्यासमा मात्र हुने, लिक्विड नहुने भएकाले हिमालमा प्रयोग गर्नु उपयुक्त हँुदैन । ‘ग्यासमा भएको अक्सिजनलाई सिधै सिलिन्डरमा भरेर प्रयोग गर्दा डिउ पोइन्ट मोइस्चर माइनस ६० डिग्री हँुदैन, त्यसैले यो गुणस्तरहीन हो’, अमात्यले भने ।
‘नियमन अगाडि बढाएका छौं, विकृति तत्काल रोक्न लाग्छौं’ रामप्रसाद सापकोटा, पर्यटन विभाग निर्देशक तथा पर्वतारोहण शाखा प्रमुख
काठमाडौं आसपासमा अवैध रूपमा सञ्चालमा रहेका अक्सिजन कम्पनीहरूले एक सय ५० बारको अक्सिजन तीन सय बारमा भरेर बिक्री गर्नु गलत भएको पुष्टि भएको छ ।
२० वर्षदेखि एउटै सिलिन्डर प्रयोग
नेपाल भित्राइएका अधिकांश सिलिन्डर पुनःप्रयोग गर्न मिल्दैन तर २० वर्षदेखि सिलिन्डर प्रयोग हँुदै आएको छ । २० वर्ष यता प्रयोग गरिएका सिलिन्डरमा खिया भरिएकाले अक्सिजनसँगै खिया फोक्सोसम्म पुग्दा आरोहीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । खियाले गर्दा खोकी लाग्ने, घाँटी र फोक्सोमा समस्या आउने गरेको आरोही विनायक जे मल्लले अनुभव सुनाए ।
‘नेपालमा रहेका करीब ६ हजार बढी सिलिन्डर अधिकांश प्रयोग गर्न योग्य छैनन्, तर वर्षौंदेखि प्रयोग हँुदै आएको छ’, मल्लले भने, ‘अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) अनुसार सिलिन्डर निर्माण गरेर लिक्विड अक्सिजन बिक्री वितरण गर्न सरकारले पहल थाल्नुपर्छ ।’
अक्सिजन कम्पनीले सिलिन्डर, नोजल, क्याबलगायत सामग्री कमसल प्रयोग गरी सस्तोमा बिक्री गर्नेको झन् होड नै चलेको छ । गुणस्तर दिनेभन्दा पनि सस्तोमा खरिद गरी आरोहीलाई महंगो मूल्य असुल गरिन्छ ।
समुद्रको पानीमा २१ प्रतिशत र काठमाडौंको वायुमण्डलमा १९ प्रतिशत अक्सिजन हुने गरेको अध्ययनले देखाएको छ तर हिमालमा अक्सिजनको मात्रा न्यून हुने गर्छ । क्याम्प १, २, ३, ४ र त्यसमाथि अक्सिजन कति प्रयोग हुन्छ भन्ने यकिन तथ्यांक छैन । एजेन्सीले मापदण्डभन्दा बाहिर रहेर सात बोतलसम्म अक्सिजन लाग्ने भनेर रकम असुल्ने गरेको छ ।
केही विदेशीले भने नयाँ सिलिन्डर र लिक्विड अक्सिजन माग गर्ने गरेको तर कामदारको हकमा भने कामै नलाग्ने थोत्रा सिलिन्डरमा मेडिकल अक्सिजन भरेर प्रयोग गर्न दिने गरेको एक सरदारले भने । ट्रेकिङ कम्पनीले एक सय ५० अमेरिकी डलरमा सिलिन्डरसहितको ग्यास भाडामा लिएर पाँच सय डलरमा आरोहीसँग बिक्री गरी हिमालमा आरोहण सञ्चालन गर्ने गरेको छ ।
सरकारले बिक्री गर्नेलाई भ्याट प्रणालीमा ल्याएको तर खरिद गर्नेलाई भ्याट अनिवार्य नगर्दा जथाभावी अवैध रूपमा अक्सिजनको कारोवार बढेको आरोही र अक्सिजन कम्पनीको दाबी छ । रसियन सर्भिस सेन्टरसँग मिलेर लिक्विड अक्सिजनसम्बन्धी काम गर्दै आएको एसडी ग्यास प्रालिले चाहेर पनि कानुनी दायरामा आउन सरकारले रोकेको एसडी ग्यासका प्रमुख अमात्यले भने । नियम र प्रणाली नहुँदा राज्यले करोडौं रकम राजश्व गुमाएको छ ।
नेपालमा हाल शंकर, हिमाल, सगरमाथा, नवज्योतिलगायत ११ वटा कम्पनीले अक्सिजन उत्पादन गर्दै आएका छन् । यो अक्सिजन आरोही, बिरामी, सिसा बनाउनेहरू, पानीमुनि र जमिनमुनि जाँदा प्रयोग गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस !