मेयरले डोजर घुमाउँदा पाँच जना खोलामा

मेयरले डोजर घुमाउँदा पाँच जना खोलामा

 पोखरा : फिर्केखोला अतिक्रमण गरेका संरचना भत्काउन डोजर ठिक्क पारिएको थियो । पैदल मार्ग बनाउने गरी अतिक्रमण भत्काउने क्रम सुरूवात गर्न महानगरपालिकाका मेयर मानबहादुर जिसी डाकिएका थिए । जसै डोजर ठिक्क पर्‍यो, मेयर चालक क्याबिनमा उक्लिए । फरासिला र जोसिला मेयर जिसीले ‘खै खै मैले के गर्नुपर्‍यो, घुमाउने नै हो त घुमाइदिऊँ’ भन्न के भ्याएका थिए, डोजर घुमिहाल्यो । अन्जानमै मेयरको हातले लिबर गियर समातेपछि निमेषभरमै डोजरको बकेट घुम्यो र भुइँमा बसिरहेका ५ जनालाई लाग्यो । २ जना पत्रकार, एक जना वडा सदस्यसहित ५ जना खोलामा खसिहाले । धन्न कसैको प्राण भने गएन ।

पत्रकारहरु रञ्जन अधिकारी र सन्देश श्रेष्ठ अनि वडा सदस्य गौरी पौडेललाई चोट लाग्यो । सन्देशले आफूलाई सम्हाल्दै रञ्जनकै मोटरसाइकलमा उनलाई लिएर अस्पताल पुर्‍याए । अलि बढी चोट लागेकी गौरीलाई अस्पताल लगियो । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । खोलामै खसे पनि अरु २ जनालाई भने खास चोट लागेको थिएन । पत्रकारद्वय सामान्य उपचारपछि घर फर्के । मेयर जिसीले उद्घाटन गर्दै गरेको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई स्काभेटरले रेलिङसहित घसारेर खोलाको किनारमा पुर्‍याएको हो । मेयर जिसीले डोजरको क्याबिनमा चालकबाहेक अरु पनि बसेको र उनीहरुमध्येका एकजनाले अचानक समातिदिँदा डोजर घुमिहालेको प्रतिक्रिया दिएका छन् ।

पोखराको फिर्केखोला किनारमा शुक्रबारदेखि फुट ट्र्याक निर्माण सुरु भएको छ । पोखरा ५ पस्र्याङस्थित फिर्केखोला किनारबाट फुट ट्र्याक निर्माण सुरु भएको हो ।

फुट ट्र्याक निर्माणको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर मानबहादुर जिसीले प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै विकास गर्ने उद्देश्यले फिर्केखोला र बुलौंदी खोलाको दुबै किनारमा ५÷५ मिटर दायाँबायाँ फुटपाथ बनाउने कार्य सुरु भएको घोषणा गरे । फिर्केखोला र बुलौदी खोलाको ६ किलोमिटर क्षेत्रको दायाँबायाँ सरकारी, विभिन्न संघ संस्था र निजी गरी २ सय ११ संरचना रहेको मेयर जिसीले बताए । मापदण्डविपरीतका संरचना भत्काएर पोखरालाई दीर्घकालीन रुपमा विकास गर्न योजनाअघि बढेको उनले सुनाए ।

पहिलो चरणमा ३ सय मिटर ट्र्याक बनाइने पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए । पहिलो चरणमा १ करोड ७२ लाखमा तीन सय मिटर पैदलमार्ग बन्न लागेको हो । फिर्केखोला अतिक्रमण गरेर खोलामाथि समेत घरटहरा बन्ने क्रम बढेपछि पोखरा महानगरपालिकाले खोलाको जमिनको खोजीका लागि फागुन २९ गतेदेखि खोलाको नापजाँच र रेखांकन सुरु गरेको थियो ।

खोलाको नापजाँचका क्रममा खोला मिचेर घर, भान्छा घर, निजी पानी टंकी, सेप्टिक ट्यांक, शौचालय, घर कम्पाउन्डसमेत गरी २ सयभन्दा बढी संरचना बनाएको पाइएको पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए । यसरी खोलाको मापदण्ड मिचेर संरचना बनाउनेमा सरकारी कार्यालय, कलेज, विद्यालय, विभिन्न समुदायका समाज घर, क्लबका भवन, निजी घर, पोल्टी फारम समेत छन् । नापजाँचका क्रममा पूरा घर नै खोलामाथि समेत बनाइएको पाइएको छ । फिर्केखोला किनारमा मापदण्डविपरीत सुकुम्बासीले समेत घर बनाएका छन् । त्यो संख्या ३३ घर रहेको महानगरपालिकाले खोलाको नापजाँचपछि तयार पारेको रिपोर्टमा उल्लेख छ ।

खोलाको वरपर हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले खोलाको संरक्षण गरी खोला वरपर हरियाली बनाइ फुटपाथ निर्माण गर्ने योजना अनुसार काम अघि बढेको हो । फिर्के खोला पोखरा १८ अधेरीकुनावाट फेवाताल सम्म ८ किलोमिटर लम्बाइ छ । फेवाताल किनारमा ३४ मिटर चाक्लो रहेको फिर्केखोला कम्तीमा ५ मिटरसम्म साँघुरो रहेको महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.