कविता : नीलो पहाडमुनि
भन्थ्यौ,
पुगेपछि नीलो पहाड
कान थापेर सुन्नु
दुःखको आरा–धरान थापेर
जीवनको गीत गाइबस्छ मेरो गाउँ ।
एक दिन तिमीलाई खोज्दै म
चराहरूको बथानसँगै
पुगेँ तिम्रो गाउँ
म पुग्दा गाउँदै थियौ तिमी
हरियो चप्लेटी ढुंगामा बसेर
झरनाको गीत
जहाँ बाचुन्जेल नुहाउँथिन् तिम्री आमा
केही बेर बिर्सेर संसारका सप्पै दुःख
नाच्थिन् कसैले नदेख्ने गरी पानीको तालसँग ।
जब भेटियौं हामी
चिनायौ तिम्रा कलिला गोडा रक्ताम्य पार्ने
डम्फर काँडा झ्यांग
मान्छेको बस्ती र ब्वाँसोको ओढार
आमाको हँसिया, डोको र नाम्लो
जतनले पट्याइएको पुरानो चौबन्दी
सिँगौरीको दुधेरी
आमाले पढेको प्रौढ कक्षाको किताब
र भित्तामा मुस्कुराइरहेको उनको तस्बिर
तिमी हिँडेको बाटो
तिमीले टेकेको माटो
ढुंगेधारो, खेलिहुर्किएको चौतारी र स्कुल
गिद्धेडाँडा, घाँसे कान्ला र तोरीबारी
तिम्रो आँगन, सिकुवा र मादल झुन्डिएको दलान
त्यो बिहान,
जब टेकेँ वर्षौंपहिले तिम्री आमाले पोतेको सँघार
सोध्यौ— दियो बालौं कि एक झर
ठीक त्यही बेला ठोक्किए
मेरा आँखाहरू अँगेनाको आगोमा
प्रिय ! जब घर पुग्छौ
फेरि पनि भेट्छौ होला मझेरीमा
त्यो पल मेरो अनुहारबाट पोखिएको एक मुठी उज्यालो ।
याद छ ?
हिँड्नुअघि सँगै चोपलेका थियौं पानीमा गोडा
सँगै खोपेका थियौं त्यो ढुंगामा तिम्रो र मेरो नाम
आज पनि हुनपर्छ
त्यो झरनामा मिसिएको हाम्रो सुगन्ध
त्यो पहाडलाई सुनाएको
हाम्रो सपना र संकल्प
हो, भेटेपछि तिमीलाई बिर्सिएँ
जीवनका सप्पै सप्पै दुःख
र उठाएको हुँ न्यायका निम्ति
सबभन्दा अनकन्टार यात्राको जोखिम
त्यही दिन पहिलोपल्ट गाएको हुँ मैले
तिमीसँगै यो प्रेम गीत
त्यो कालदेखि
यही गीत गाउँदै लडेका हुन् मानिसहरूले
न्याय र समानताको लडाइँ
यही गीत गाउँदै
देखेका हुन् मानिसहरूले गाउँमा उज्यालो ।
प्रिय !
संसारमा उज्यालो रहेसम्म
मानिसहरूले भोलिभोलि पनि गाइरहने छन्
आआफ्नै लयमा
तिम्रो गाउँमाथि उभिएको नीलो पहाडजस्तै
हाम्रो अजम्मरी प्रेम गीत ।।