म्याकडोनल्डकरण कि विश्वव्यापीकरण ?

म्याकडोनल्डकरण कि विश्वव्यापीकरण ?

केही वर्षयता सहरका टोल र गाउँका पाखाभित्तामा फास्टफुड रेस्टुरेन्ट र बर्गर हाउस खुल्ने क्रमले तीव्रता लिएको छ। त्यस्ता रेस्टुरेन्टमा सपरिवार जानु र खानु नेपालीका लागि आम बन्दै गएको छ। नेपाली समाज परम्परागत खाद्य–संस्कृति छोड्दै बिल्कुल फरक ढंगको खाद्य–संस्कृतिमा अभ्यस्त हुन थालेको देखिन्छ। समाजको यस घटनाले पुरानो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने अभियानकर्तालाई नयाँ चुनौती थपिदिएको छ।

जब तपार्इं फास्टफुड रेस्टुरेन्टमा छिर्नुहुन्छ, बस्नेबित्तिकै हातमा रंगीन मेनु लिएर एकजना वेटर सामुन्ने आउँछ र के खाने हो नोट गर्न हतारिन्छ। उसको खासा पोसाक हुन्छ जसलाई देख्नेबित्तिकै त्यो रेस्टुरेन्टको वेटर हो भनेर सजिलै चिन्न सकिन्छ। ऊ हाँस्दैन, मेसिन जसरी उभिइरहन्छ। उसले तपाईंको हालखबर र सन्चोबिसन्चो सोध्दैन। बोल्न परे पनि ऊ स्क्रिप्टमा लेखिएजसरी निश्चित संवाद मात्र गर्छ जुन उसलाई पहिले नै सिकाइएको हुन्छ।

ऊ ‘स्वागत’ र ‘धन्यवाद, फेरि आउनुहोला’ भन्ने शब्द उच्चारण गर्दा पनि जीवनहीन यान्त्रिक मुस्कानका साथ गरिरहेको हुन्छ। गाउँघर र सहरका भित्रीभागमा पाइने सामान्य खाजा पसलमा साहुजी चिनेजानेका हुन्छन्, खानेकुरा माग्नुभन्दा अघि कुराकानी हुन्छ, जीवन्त मुस्कानले स्वागत गर्दै सन्चोबिसन्चो सोधिन्छ जुन फास्टफुड रेस्टुरेन्टमा सम्भव हुँदैन। यस्तो खाद्य–संस्कृति अमेरिकी जीवनशैलीसँग सम्बन्धित छ जुन म्याकडोनल्डस् रेस्टुरेन्टले सुरु गरेको थियो।

के हो म्याकडोनल्डस् ?

अमेरिकामा सन् १९४० मा रिचार्ड र माउरिस म्याकडोनल्डले पिताको सानो पसललाई विस्तार गरेर ‘म्याकडोनल्ड बार–बी–क्यु’ नामक रेस्टुरेन्ट खोलेका थिए जसमा २५ किसिमका खानेकुराको मेनु थियो। सोचेजस्तो फाइदा नभएपछि तिनले सन् १९४८ मा ह्यामबर्गर बेचेर नाफा कमाउन सकिने दिमाग चलाए। सामान्य मेनुलाई बदलेर चिज बर्गरसँगै आलुको चिप्स, कफी, चिसो र एप्पल पाई राखे। एक वर्षपछि आलु चिप्सको सट्टामा फ्रेन्च चिप्स र मिल्क सेक थपे। रेस्टुरेन्टको नाम छोट्याएर ‘म्याकडोनल्डस्’ बनाए। यतिले मात्र तिनको चित्त बुझेन। दुई दाजुभाइले सन् १९५२ मा यसको दक्षतामा सुधार गर्नुका साथै आँखा लोभ्याउने आवरण बनाउने लक्ष्य लिए। केही इन्जिनियरसँग अन्तर्वार्ता नै लिएर सुधारको कार्य अगाडि बढाए।

म्याकडोनल्डस् बिस्तार भएर अहिले १२० देशमा पुगेको छ। एउटै नाममा संसारभर ३७ हजार रेस्टुरेन्ट सञ्चालित छन् जसमा चार लाख कामदार काम गर्छन् र दैनिक ६ करोडभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिन्छ। विश्वका प्रमुख देशहरू रुस, भारत, चीन, ब्राजिल, क्यानडा, जापान, दक्षिण अफ्रिका लगायतका देशबाट म्याकडोनल्डस् कम्पनीले नाफा कुम्ल्याएर लगिरहेको छ। सन् १९८० मा सुरु भएको नवउदारवाद र खुला बजार तथा विश्वव्यापीकरणका कारण म्याकडोनल्डस् संसारभर फैलिन सकेको हो। स्थानीय बजारलाई धुलोपिठो पार्दै अमेरिकी खाद्य–संस्कृति फैलाउनु यसको प्रमुख उद्देश्य हो।

म्याकडोनल्डस् अमेरिकी फास्टफुडको साम्राज्य हो। यसको प्रमुख सूत्र हो— गोजीभरि पैसा लैजानुहोस् र कम समयमा मेनुमा उपलब्ध भएमध्ये आफूलाई मनपर्दो खानेकुरा छानेर छिटोभन्दा छिटो आफ्नो भोक मेट्नुहोस्। म्याकडोनल्डस्को औपचारिक शाखा नेपालमा नखुले पनि त्यसको नक्कल गर्दै फास्टफुड रेस्टुरेन्ट र बर्गर हाउस गल्लीगल्ली, टोलटोल र कुनाकाप्चामा खुलेका हुन्। म्याकडोनल्डस्को सिको गरेर केही देशले त्यस्तै खालको रेस्टुरेन्टको चेन विकास गरेका छन्। क्यानडाको कफी सप र भारतको निरुलाज् यसका उदाहरण हुन्। फ्रान्स र जापानमा पनि यस्ता रेस्टुरेन्ट खुलेका छन् जसले बर्गर पनि बेच्छन्। नेपालको बाजेको सेकुवा वा भेटघाट तास यसका उदाहरण हुन्।

म्याकडोनल्डस् आफ्नो उत्पादन मात्र गर्दैन, जुन देशमा खोलिन्छ यसले त्यस देशको स्थानीय खानेकुरालाई आफ्नो बनाएर बेच्छ, स्थानीयसँग मिलाएर बर्गर र पिज्जा बेच्छ। यति धेरै चलाखी गर्छ कि नेपालमा खोल्यो भने ढिँडो र गुन्द्रुकसँगै बर्गर बेच्छ। स्थानीय र बाह्य स्वादको मि श्रणबाट बन्ने हाइब्रिड पहिचानले मानिसलाई नयाँ स्वाद दिन्छ। तर, स्थानीयपनलाई यसले ध्वस्त बनाउँछ। म्याकडोनल्डस्ले स्वादका लागि विभिन्न रसायन प्रयोग गरेर खानाको पुनर्संरचना गर्छ र मानिसलाई स्वादको अतियथार्थमा पुर्‍याउँछ। एकपटक स्वाद लिएपछि मानिस त्यसको पुनः उपभोगका लागि लालायित रहन्छ। फोर्ड कम्पनीले एकै रूपका मोटरकार उत्पादन गरेजस्तै म्याकडोनल्डस्ले एकै किसिमका खानेकुरा प्रचुर मात्रामा उत्पादन गर्छ। यो औद्योगिक सिद्धान्तबाट सञ्चालित छ। यसले उत्तरआधुनिक जादुयी विज्ञापन र वस्तुको चमत्कारबाट उपभोक्तालाई मन्त्रमुग्ध पार्छ।

म्याकडोनल्डकरण

संसारको संरचना फेरिँदै छ भन्नेमा विद्वत् वर्गबीच विमति छैन। वास्तवमा यो विश्वव्यापीकरण या ग्लोबलाइजेसन हो कि अन्य केही हो ? यस विषयमा भने संसार विभाजित छ। विश्वव्यापीकरण भनेको वास्तवमा अमेरिकीकरण हो भन्ने एकथरीको मत छ भने अर्काथरि अझ अगाडि बढेर यसलाई म्याकडोनल्डाइजेसन अर्थात् म्याकडोनल्डकरण भन्छन्। म्याकडोनल्डस्जस्ता फास्टफुड रेस्टुरेन्टको सिद्धान्तले समाजका हरेक आयामलाई प्रभाव पार्ने र नियन्त्रण गर्ने प्रक्रिया नै म्याकडोनल्डकरण हो। अहिले संसारमा विश्वव्यापीकरण, उत्तरआधुनिकतावाद, नवउदारवाद या उपभोक्तावादलगायत केही छैन, केही छ त त्यो म्याकडोनल्डकरण छ। जर्ज रिट्जरले सन् १९९३ मा ‘दी म्याकडोनल्डाइजेसन इन् सोसाइटी’ पुस्तक लेखेर कसरी संसार म्याकडोनल्डको पछाडि पागल भएर दौडिएको छ भन्ने दृष्टान्त प्रस्तुत गरेका छन्।

बीसौं संस्करणभन्दा बढी छापिएको उक्त पुस्तकमा जर्ज रिड्जर समाजका हरेक अंगले म्याकडोनल्डस् कम्पनीको सिको गरेको विश्लेषण गर्छन्। म्याकडोनल्डस्कै मान्यता विश्वका हरेक कार्य र सेवामा लागू भएका छन्, समाज नै म्याकडोनल्डाइज्ड भएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, धर्म, पारिवारिक जीवन, व्यापार, लोकप्रिय मनोरञ्जन, सञ्चार क्षेत्र, सामाजिक कार्य, पर्यटकीय यात्रा र फुर्सदलगायत समकालीन सामाजिक जीवनमा म्याकडोनल्ड प्रवृत्ति फैलिएको छ।

नेपालीहरू म्याकडोल्डस्का बारेमा जानकार छन् र त्यसको उत्पादनको उपभोग गर्न अभ्यस्त भइसकेका छन्। तर, नेपालमा म्याकडोनल्डकरण के हो र यो कसरी फैलिइरहेको छ भन्ने बारेमा चर्चा र परिचर्चा हुने गरेको छैन। नेपाली विद्वान् विश्वव्यापीकरण, उत्तरआधुनिकतावाद, नवउदारवाद र उपभोक्तावादमा मात्र केन्द्रित हुने गरेका छन्। तिनीहरू अमेरिकीवादको कुरा त गर्छन् तर एउटा महत्वपूर्ण पाटो म्याकडोनल्डकरणलाई छोड्छन्। यो यस्तो दृष्टिकोण हो जसले समकालीन विश्व र समाज कस्तो छ, हाम्रो दैनिक अभ्यास कस्तो छ र कसरी प्रभावित भइरहेको छ, त्यसबारे बुझ्नलाई महत्वपूर्ण सहयोग पुर्‍याउँछ।

म्याकडोनल्डकरणको व्याख्या गर्न समाजशास्त्री म्याक्स वेवरको औपचारिक विवेकीकरणलाई सहायता लिइएको छ। मानिसले संसारमा उपलब्ध सीमाभित्र रहेर मात्र आफ्नो विवेकको प्रयोग गर्न सक्छ। उपलब्ध नभएको सेवामा मानिसले आफ्नो विवेक प्रयोग गर्न सक्दैन। वेवरले प्रशासनतन्त्रलाई औपचारिक विवेकीकरणका रूपमा विश्लेषण गरेका छन् जसको आफ्नै नियम हुन्छ र मानिस त्यसभन्दा बाहिर चल्न सक्दैन। यसले प्रविधिको प्रयोग गरेर मानिसलाई विस्थापन गर्नुका साथै संसारलाई निरस र अर्थहीन तुल्याएको छ। तिनले प्रदान गर्ने सेवा गणनायुक्त र पूर्वानुमान गर्न सकिने खालका हुन्छन्। खासमा यो विवेकीकरणको अविवेकीकरण हो। वेवरकै आधारमा म्याकडोनल्डकरणका चारवटा गुणलाई प्रमुख मानिन्छ जुन म्याकडोनल्डस्का रेस्टुरेन्टमा प्रयोग भएका छन्।

म्याकडोनल्डस् अमेरिकी फास्टफुडको साम्राज्य हो। यसको प्रमुख सूत्र हो— गोजीभरि पैसा लैजानुहोस् र कम समयमा मेनुमा उपलब्ध भएमध्ये आफूलाई मनपर्दो खानेकुरा छानेर छिटोभन्दा छिटो आफ्नो भोक मेट्नुहोस्।

पहिलो, दक्षता। यसको अर्थ थोरै समयमा बढीभन्दा बढी मानिसलाई उनीहरूले चाहेको सेवा उपलब्ध गराउनु हो। उत्कृष्ट साधन प्रयोग गर्दै समयको बचत गर्नु र ग्राहकलाई सन्तुष्ट तुल्याउनु यसको प्रमुख गुण हो। फास्टफुड रेस्टुरेन्टमा झ्यालबाट चाँडोचाँडो कम समयमा खानेकुरा उपलब्ध गराउनु यसको उदाहारण हो।

दोस्रो, पूर्वानुमान। संसार अब अचम्मित हुनुपर्ने खालको छैन, हरेक कुरा के हुँदैछ भन्ने पूर्वानुमान गर्न सकिन्छ। तपाईं आज रेस्टुरेन्टमा गएर खानुभयो भने भोलि वा अर्को वर्ष के पाइन्छ आजै भन्न सकिन्छ। जहाँ गए पनि, जहिले गए पनि एउटै उत्पादन, उस्तै सेवा उपलब्ध गराइन्छ। मेनुमा के लेखिएको छ, त्यो तपाईंले छनोट गर्न सक्नुहुन्छ, के आउँछ भनेर पर्खिरहनु पर्दैन। रुटिनबद्ध सेवा र पुनरावृत्ति यसको विशेषता हो।

तेस्रो, गुणभन्दा परिणाममा जोड। एउटै कुरा बनाउने भएपछि गुणको कुरा हुँदैन, परिमाणमा मात्रै जोड दिइन्छ। बढीभन्दा बढी मानिसलाई सेवा पुर्‍याउने र नाफा कमाउने उद्देश्य राखिन्छ। कसले कति छिटो धेरै परिमाणमा सेवा उपलब्ध गराउन सक्छ, त्यसबाट सेवाको मूल्यांकन गरिन्छ।

चौथो, नियन्त्रण। यसको मुख्य उद्देश्य विभिन्न प्रविधि र तरिका अपनाएर उपभोक्तालाई नियन्त्रणमा राख्नु हो। वेटरलाई मानवीय गुण सिकाउनुको सट्टा रोबोटजस्तो कार्य गर्न सिकाइन्छ। तिनलाई निश्चित पोसाक दिइन्छ र ग्राहकसँग बोल्न तथा हाँसेर अनौपचारिक हुन बर्जित गरिएको हुन्छ। तिनले मेसिनजसरी खानेकुरा सर्भ गर्छन्। फास्टफुड रेस्टुरेन्टले खाद्य अनुभवलाई अमानवीय र अचम्मित हुनु नपर्ने खालको सामान्य बनाइदिएको छ। यसको सेवामा सामान्य मानवीयता वा मानवीय गुणलाई लत्याइन्छ।। दक्ष कुक राख्नुको सट्टा अदक्ष कुकबाट पनि काम चलाइन्छ जसलाई कम पारि श्रमिक दिए पुग्छ। फास्टफुड रेस्टुरेन्टले अमानवीय प्रविधिबाट मानवीय प्रविधिको विस्थापन गर्ने रणनीति अपनाउने गर्छन्। मानिसको सट्टा मेसिन र रोबोटकै प्रयोग हुनु यसको उदाहरण हो।

सामाजिक क्षेत्रमा म्याकडोनल्डकरण

समाजशास्त्रीहरू विश्वका हरेक सामाजिक सम्बन्ध र बजार सबै म्याकडोनल्डस्ले सुरु गरेको फास्टफुड रेस्टुरेन्टजस्तै भएको विश्लेषण गर्छन्। ज्याकोब उलरिड्ज र स्टेभेनस् (२०१६)का अनुसार समाजको आधारभूत सामाजिक संगठन परिवार पनि म्याकडोनल्डकरणबाट प्रभावित भइसकेको छ। आमाबाबुको भूमिका, छोराछोरीको सिकाइ प्रक्रिया र आर्थिक उपार्जनलगायत परिवारको कार्य पूर्वअनुमान लगाउने खालको, रुटिनबद्ध, गणना गर्न सकिने र धेरै नै यान्त्रिक बनिसकेको छ। मानिसलाई एकताबद्ध गराउने संस्कृति एकैखालको, छिटोछरितो र निरस हुँदै गएको अनुभव गर्न सकिन्छ। संसार अहिले एउटा यस्तो बिन्दुमा आएको छ जसमा विश्वभर राजनीतिक, आर्थिक र सांस्कृतिक एकरूपता देखिएको छ। अन्तर्राष्ट्रिय विस्तारले म्याकडोनल्डस्लाई विश्वव्यापीकरणको प्रतीक र अमेरिकी जीवनपद्धतिको विस्तार मानिन्छ। हामी आज म्याकडोनल्ड विश्वमा बाँचिरहेका छौं।

बैंकिङलगायत विभिन्न आर्थिक क्षेत्रमा म्याकडोनल्डस्का माथि उल्लिखित यिनै चारवटा गुणका आधारमा कार्य सञ्चालन गरिन्छ। यसका लागि जर्ज रिट्जर क्रेडिट कार्डको उदाहरण प्रस्तुत गर्छन्। क्रेडिट कार्डले आम्दानी र खर्चलाई म्याकडोनल्डस्जस्तै सहज र पूर्वानुमान लगाउन सक्ने बनाइदिएको छ। पैसा हातमा नभए पनि क्रेडिट कार्डका आधारमा मानिसले खरिद र उपभोग गर्ने सुविधा पाउँछन्। फास्टफुड रेस्टुरेन्टले खानेकुरा जसरी उपलब्ध गराउँछ बैंकले त्यसरी नै पैसा वितरण गर्छ जहाँ बैंकका कर्मचारी रोबोट जसरी कार्य गर्छन्। यसैगरी अस्पताल र शिक्षा क्षेत्रको सेवा पनि म्याकडोनल्डस्जस्तै भएका छन्।

शिक्षा क्षेत्रमा भएको म्याकडोनल्डकरणको बारेमा रोबर्ट सल्टर (१९९९)ले विस्तृत अध्ययन गरेका छन्। उनका अनुसार विश्वभरका विद्यालयमा कक्षाकोठाको डिजाइन गर्दा पश्चिमी कक्षाकोठाको नक्कल गरिएको छ। कक्षाकोठाको साइज, सजावट तथा पढाउने तरिका अमेरिकाको जस्तै छ र पश्चिमी संस्कृतिलाई ज्ञान वितरणको दक्षता मानिन्छ। शिक्षामा म्याकडोनल्डकरण हुनु भनेकोे प्रश्न गर्ने क्षमता र सिर्जनशीलता नष्ट हुनु हो। यसै कारण बालबालिकालाई गुणस्तरीय शिक्षा दिने र सिर्जनशील विद्वान् उत्पादन गर्ने कार्यमा आजका विद्यालय कम प्रभावकारी भएका छन्। त्यस्ता विद्यालय ‘म्याकविद्यालय’ हुन् जसका लागि विद्यार्थी केवल उपभोक्ता हुन् र नाफा आर्जन गर्ने साधन हुन्। ज्यारी र पार्कर (१९९९) का अनुसार अर्थतन्त्र र प्रशासनको दबाबमा परेका र केवल निराशा उत्पादन गर्ने विश्वविद्यालय ‘म्याकविश्वविद्यालय’ हुन्। अस्पतालमा डाक्टर र नर्सले उपलब्ध गराउने सेवा रेस्टुरेन्टमा कुक र वेटरले उपलब्ध गराउने सेवासँग सजिलै तुलना गर्न सकिन्छ।

समाजका परिघटनालाई विश्लेषण गर्ने क्रममा ‘म्याक’ शब्द जोड्ने गरिएको छ। डकर्मी भन्नुपर्दा ‘म्याकडकर्मी’, ‘म्याककफी’, ‘म्याकजागिर’, ‘म्याकशब्द’ आदि। भाषामा एउटै कुरा दोहोरिनेजस्तो फेसबुके भाषा ‘म्याकभाषा’को राम्रो उदाहरण हो। फास्टफुड रेस्टुरेन्ट एवं समाजमा जरो गाड्दै गएको म्याकडोनल्डकरणले समाजको भौतिक र मनोवैज्ञानिक विनाश गरिरहेको छ, पारिवारिक विघटनलाई यसले मलजल गर्नुका साथै समाजको विविधतालाई ध्वंस गरेको छ। जंक–पत्रकारिता म्याकडोनल्डकरणको उदाहरण हो जसले सामान्य समाचारलाई रोमाञ्चक बनाएर स्वादका लागि पस्किने गर्छ।

म्याकडोनल्डस् अमेरिकी समाजको उत्पादन हो जुन आक्रामक रूपमा बाँकी विश्वमा निर्यात भइरहेको छ। अहिले म्याकडोनल्डस् अमेरिकाभन्दा पनि बाहिरी देशमा द्रुत गतिमा फैलिइरहेको छ र आधा नाफा अमेरिकाभन्दा बाहिरबाट संकलन गरिन्छ। यसले अमेरिकी मूल्य, मान्यता, संरचना र संगठनको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। त्यसैले अमेरिकीकरण भन्नु पनि म्याकडोनल्डकरण नै हो। त्यस्तै कोकाकोला पिउने कुरा मात्र होइन न त डिज्ने मनोरञ्जनको सहज साधन मात्र हो। यिनले संसारलाई कोकाकोलाकरण र डिज्नेकरण गरेका छन् जुन अमेरिकी संस्कृतिकै निर्यात हो।

अपरादुराई (१९९०) का अनुसार विश्वव्यापीकरणले तेस्रो संस्कृति निर्माण गरिरहेको छ जसले देशका सीमा नाघेर अन्तर्राष्ट्रिय रूप धारण गरेको छ। यस नयाँ संस्कृतिअन्तर्गत वित्तीय, पर्यटन संस्कृति र प्रविधि पर्छन् जसको राम्रो उदाहरण इन्टरनेट सेवा हो। विश्वव्यापीकरणले कुनै एउटा देशको खास संस्कृतिको कुरा गर्दैन, यसले व्यापक संस्कृतिको कुरा गर्छ। अहिले अमेरिकी संस्कृति नै विश्वव्यापी बनिरहेको छ। संस्कृतिमा भएको म्याकडोनल्डकरणले ‘म्याकसंस्कृति’ निर्माण गरिरहेको छ। म्याकडोनल्डकरण फास्टफुड रेस्टुरेन्टमा मात्र सीमित छैन, यो हरेक सेवामा विस्तार भएको छ। अन्तर्राष्ट्रियस्तरमा सेवा, व्यवसाय र हरेक सामाजिक सम्बन्धको म्याकडोनल्डकरण भएको विश्व ‘म्याकविश्व’ हो।

राजनीति र कूटनीतिमा म्याकडोनल्डकरण

एउटै व्यहार प्रदर्शन गर्ने र छिटोछरितो देखिएर उस्तै सेवा प्रदान गर्न खोज्ने अहिलेको राजनीति ‘म्याकराजनीति’ हो भने नागरिकहरू ‘म्याकनागरिक’ हुन्। माथ्यु फ्रेडरिक (२०१८) का अनुसार ‘म्याकनागरिक’ सही सूचनाबाट वञ्चित हुनुका साथै कुनै कुराको मौन समर्थन गर्नेे खालका एकै किसिमका नागरिक हुन्। उदाहरणका लागि इराकमाथिको युद्धमा अमेरिकी नागरिकले मौन समर्थन जनाएका थिए जसलाई सही सूचना प्रवाह गरिएको थिएन। म्याकडोनल्डस् कम्पनी स्वयं आर्थिक कुरा मात्र होइन, यो विश्वराजनीति र कूटनीतिको अंग बनिसकेको छ।

थोमस फ्रेडम्यान (१९९६)ले एकपटक म्याकडोनल्डस् रेस्टुरेन्ट स्थापना भएको देशबीच युद्ध नहुने कुरा व्यक्त गरेका थिए। यसको अर्थ हो म्याकडोनल्डस्ले देशहरूबीच कूटनीतिक सम्बन्धमा वृद्धि गरेको छ। तर, पानामामाथि अमेरिकी, सर्वियामाथि नेटो र लेबनानको युद्धले यसलाई गलत साबित गरिदिए। सन् २०१४ मा क्रिमियालाई रुसले गाभेपछि क्रिमियामा रहेको म्याकडोनल्डस्को शाखा बन्द गरियो। यसको प्रतिक्रियास्वरूप रुसी सरकारले अमेरिकी नाकाबन्दीलाई कारण बनाउँदै मस्कोको म्याकडोनल्डस्को शाखा पनि बन्द गरिदियो। यसबाट के देखिन्छ भने म्याकडोनल्डस् अब राजनीतिक मुद्दा बनिसकेको छ जसलाई अमेरिका तथा अन्य ठूला देशले प्रयोग गरिरहेका छन्।

अमेरिकी राजनीतिशास्त्री बेन्जामिन बारबरद्वारा लिखित ‘जिहादविरुद्ध म्याक्वर्ल्ड’ (१९९५) नामक पुस्तकमा विश्वमा टकराव गरिरहेका दुईवटा प्रवृत्तिको उल्लेख गरिएको छ। पहिलो ‘म्याकवल्र्ड’ जसमा विश्वव्यापीकरण र कर्पोरेट कम्पनीले राजनीतिलाई नियन्त्रणमा राखेको हुन्छ। ‘म्याकवल्र्ड’का लागि बजार, स्रोतको दोहन, सूचनाप्रविधि र पर्यावरणलाई अनिवार्य तत्व मानिन्छ। दोस्रो, जिहाद जुन अरबी शब्द हो, यो पुरानो मूल्यमान्यता कायम राख्न गरिएको संघर्षसँग सम्बन्धित छ। अतिराष्ट्रवादी सोचले विश्वमा जातीय हिंसा मच्चिरहेको सन्दर्भ तथा मुसलमान एवं क्रिस्चियनबीचको संघर्ष जिहादअन्तर्गत पर्छन्। एक किसिमले यो लेबनानीकरण हो जसरी भारतमा हिन्दु अतिवादी गतिविधिबाट हिन्दुकरण भइरहेको छ। जेहादलाई रोक्न ‘म्याकवल्र्ड’ असफल भइरहेको छ। वास्तवमा, यी दुवै प्रवृत्ति अलोकतान्त्रिक छन् जसले गर्दा विश्वमा युद्धको बादल मडारिइरहेको छ।

नेपालको पछिल्लो चुनावमा १५ वटा स्मार्ट सिटी बनाइने घोषणा गर्दै चुनाव प्रसारप्रसार गरियो। यो कस्तो प्रकारको सहर हो ? अधिकांश मानिस अलमलमा परे। यो चुस्त र दुरुस्त सेवा हातहातै पुर्‍याउने अत्याधुनिक सहरको कल्पना हो। इन्टरनेट सेवा निःशुल्क हुने, द्रुत गतिका यातायात सेवा र त्यस्तै किसिमका अन्य सेवाको विस्तार हो। नेपालमा विकसित देशमा जस्तो स्मार्ट सिटी बन्न वर्षौं लाग्न सक्छ। यस्ता स्मार्ट सिटी बन्नु भनेको पनि म्याकडोनल्डकरणकै एउटा रूप हो। यसले आफ्नो मौलिक विकासलाई लत्याएर पश्चिमको नक्कल गर्न प्रेरित गर्छ। वैदेशिक पलायन बढ्दै जानु, विदेशी नयाँ संस्कृति अपनाउन थाल्नु, रहनसहन र खानपान परिवर्तन हुँदै जानु लगायतका परिवार तथा सामाजिक सम्बन्धको विश्लेषण गर्ने हो भने नेपाली समाज द्रुत गतिमा म्याकडोनल्डकरण हुँदै गएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.