अल्लाह र अमेरिका
३२ मिनेट भएछ खालिफ निस्किएको। फर्किएको छैन।
सधैंझैं बिहान ९ बजेदेखि हामी दुई काममा जुटेका थियौं। आज जसरी पनि बगैंचा सफा गरिसक्नुपर्नेछ, साना घाँसका बोटसमेत नरहने गरी। भोलिदेखि छानाको टायल झिक्ने काम सुरु गर्नुपर्नेछ। त्यसका लागि बगैंचा पूरै सफा हुनुपर्नेछ। हाँगाबिँगा डम्पिङमा लैजानका लागि भ्यान लिन गएको ठेकेदार हसनले निस्कने बेलामा यही भनेको थियो।
हामी सकेसम्म छिटो छिटो हात चलाइरहेका थियौं। खालिफ बार छेउमा ढलेको एउटा पोथ्रोको जरा कोट्याउनमा व्यस्त थियो। म भने गुलाफका झाडी फाँड्दै थिएँ। ऊ र म बीचको दूरी करिब पाँच मिटरको थियो होला। तर हामीबीचमा मौनताको पर्खाल यति अग्लोसँग उभिएको थियो कि मानौं हामी दुई सँगै काम गरिरहेका छैनौं।
१० बजेर ५१ मिनेट जाँदा खालिफले हातको पिक फ्यात्त भुइँमा फाल्यो। देब्रे हातले निधारको पसिना पुछे झैं गर्यो। मैले टाङमुनिबाट उसैलाई चियाइरहेको थिएँ। तर उसले मतिर हेर्दा पनि हेरेन र सरासर घरभित्र पस्यो। १० मिनेट जति पछि उसले एउटा ट्रेमा चिया र बिस्कुट लिएर आयो र सरासर अर्कोपट्टि रहेको हसनको घरको बगैंचातिर गयो। भित्तामा टाँसिएको धारोमा हात धोएर म पनि त्यतै गएँँ।
हामीले काम गरिरहेको घर र ठेकेदार हसनको घर जोडिएका छन्। यी दुई घरबीचको बार भत्काइएको छ। किनकि सामान यता र उता लैजाने र ल्याउने क्रममा हामीलाई हसनको घरतिर गइरहनुपर्ने हुन्छ। त्यसैले हसनको घरपरिवेश हामी दुईका लागि विरानो पटक्कै छैन।
हसनको बगैंचामा एकछेउमा म्याग्नोलियाको मझौला आकारको रूख छ। रूखलाई वरिपरिबाट इँटाको पर्खाल लगाएर चौतारोकोे रूप दिइएको छ। त्यसको छेउछाउमा लाभेन्डर र जस्मिनका साथमा मैले नचिनेका अरू अनेक फूलका बोट छन्। रूखको काखमा बालुवा र स–साना सफा कंक्रिट राखिएको छ। अनि त्यसमाथि खरायो, मृग, बाँदरका आकृतिका स–साना सेरामिक्सका मूर्ति छन्। वरिपरि साना बत्ती राखिएका छन् र एउटा चाहिँ अलिकति अग्लो र मोटो छ, जसमा हसनको कान्छो छोराको तस्बिर टाँसिएको छ। हसनको कान्छो छोरा क्यान्सरबाट ६ वर्षको उमेरमै बितेपछि उसको पहिलो जन्मतिथिमा रोपिएको यो रूख अहिले ठ्याक्कै १० वर्षको भयो। हसन यसलाई म्याग्नोलिया भन्दैन, उसको छोराको नाम ‘अदिल’ भन्छ।
म्याग्नोलियाको रूखतिर मोहडा पर्ने गरी एउटा बेन्च राखिएको थियो। त्यो बेन्च खालिफ र मेरो चिया पिउँदा सुस्ताउने बिसौनी बनेको थियो। म बेन्चीको एउटा छेउमा गएर बसेँ। खालिफ र मेरोबीचमा चियाको ट्रे थियो। ऊ एउटा हातले बिस्कुट पुक्याउँदै मोबाइलतिर घोत्लिरहेको थियो। उसले मतिर हेर्दै हाँस्न खोजेजस्तो गरेर इशारैले चियातिर संकेत गर्यो तर केही नबोली पुनः मोबाइलतिर घोप्टियो। म भने चियाको चुस्की लगाउँदै म्याग्नोलियातिर हेर्न थालेँ।
सुरुमा त यो मलाई बेक्कारको रूख लागिरहेको थियो। तर जब यसको कथा सुनियो, तब यसले मनमा अर्कै किसिमको भावुकता पैदा गरिदियो। हरेक पटक हसनका लोग्नेस्वास्नी यो रूखलाई हेरेर के सोच्छन् होला ? यसका हाँगा र पात स्पर्शित हुँदा तिनीहरूको मनमा अलग्गै केही भावना आउँछ होला। हरेक खालि समयमा यो रूखले मलाई एउटा कोमल कविताले जस्तो भित्र कतै छोएर जाने गथ्र्यो। केही दिन अगाडि म्याग्नोलिया पूरै फुलेको थियो। पत्तै नपाई फुल्दोरहेछ। अघिल्लो दिनसम्म केही थिएन, भोलिपल्ट बिहान काममा आउँदा त सफा सेता पत्रहरूमा गुलाबी रङका छिर्का लागेका फूलहरूले रूख पूरै छोपिएको देख्दा एकछिन त आफैंलाई सपना पनि जस्तो लागिरहेको थियो। यसले वरपर ताजा सुगन्ध छरिरहेको थियो।
मैले कपडा नबदली हतारहतार आएर सेल्फीसमेत खिचेको थिएँ। यो देखेर हसन पनि क्यामेरा नै लिएर आएको थियो। उसले आफ्नी स्वास्नीलाई पनि बोलाएर भनेको थियो ‘अजिन, आऊ हामी पनि अदिलसँग फोटो खिचुँ।’ अनि उनीहरूका फरकफरक पोजका फोटोहरू मैले नै खिचिदिएको थिएँ। अजिनले पारसी मिठास मिश्रित अंग्रेजीमा मलाई धन्यवाद दिँदै भनेकी थिइन् ‘हामी सिल्ली बूढाबूढीले त आफ्नो छोरा हाँसेको पनि याद गर्न छाडिसकेछौं। हामी कति स्वार्थी भइसकेछौं, आज तिमीले सम्झाइदियौ।’ अनि तिनी म्याग्नेलियाको फूल सुम्सुम्याएर पारसी हो या अरबी भाषामा निकैबेरसम्म केही गुन्गुनाइरहेकी थिइन्। तिनका आँखामा आँसुको रेखी बन्दै गएको थियो। हसन पनि उनको काँधमा टाउको राखेर त्यही लयमा भुन्भुनाउन थालेपछि क्यामेरा यही बेन्चमा राखेर म अर्कोतिर भागेको थिएँ। भर्खरै छोराको बाउ बनेको मलाई यो दृश्यले दिनभरि नराम्ररी चिमोटेको थियो। मेरो आँखाअगाडि त्यही दृश्य झलझली आयो।
खालिफ अझै मसित बोलिरहेको थिएन। अति नै भयो जस्तो लागेर मैले उससित कुराकानीको बहाना निकाल्दै भनेँ, ‘आज सकिएला त ?’ तर अहँ, उसले बोल्ने कुनै कष्ट गरेन। साबिकको झैं माथितिर हेरेर हातले इशारा गर्यो। मेरो कुराकानीको सिलसिला निशब्द टुंगियो। उसित आज मेरो भएको कुराकानी जम्माजम्मी यति थियो।
चिया पिउँदा पिउँदै खालिफलाई फोन आएको थियो। सुरुमा ऊ कुरा गर्दै खिस्स हाँसेको देखियो, तर क्षणभरमै त्यो मलिनो, अनि एकछिनमा त त्यो कालो न कालो अनुहार लगाएर डग्डगी काम्न थाल्यो। अनि ऊ माथितिर हेरेर बर्बराउन थाल्यो, ‘अल्लाहहुमा इन्ही अब्दुका इब्नु...।’ ऊ केही भट्याइरहेको थियो। आँखाबाट बर्रबरी आँसु झरिरहेको थियो।
के गर्ने मैले भेउ नै पाइनँ। हामी एउटै बेन्चमा थियौं। चियाको कप त्यहीँ छोडेर म खालिफको छेउमा गएर उभिएँ। के भन्ने, के सोध्ने ? म पूरै अलमलमा थिएँ।
त्यतिखेर खालिफ दुवै हातले आफ्नो अनुहार छोपेर निहुरिएको थियो र पूरा जिउ हल्लाइरहेको थियो। ऊ आफैं कामिरहेको थियो कि कमाइरहेको थियो, मैले बुझिनँ। सानो आवाजमा सोधेँ, ‘के भयो खालिफ ?’
तर खालिफ अघिजस्तै मौन थियो। म अवाक् उसको अघिल्तिर उभिएको थिएँ। मैले दोहोर्याएर उसलाई केही सोध्ने साहस गर्न सकिरहेको थिइनँ। उसको मौनता एकदमै डरलाग्दो लाग्यो, म सरक्क सरेर अर्कातिर लागेँ र उसलाई चियाएर हेर्न थालेँ।
एकैछिनमा खालिफ उठ्यो र घरभित्र पस्यो। उसको हिँडाइ पूरै निर्जीव लाग्थ्यो, मानौं कसैले उसलाई घिसारिरहेछ। मैले ढोकाको छेउमा गएर कान थापेँ निकैबेर। तर केही भेउ पाइनँ। करिब १५ मिनेटजति मैले उसलाई पर्खिएँ। तर ऊ ननिस्केपछि म पुनः काममा फर्किएँ। तर मेरा हात चलिरहेका थिएनन्।
म पटकपटक मोबाइल निकालेर समय हेरिरहेको थिएँ। घरको झ्यालतिर आँखालाई बेलाबेलामा फ्याँकिरहन्थेँ। अर्को १७ मिनेट मैले यसै गरी बिताइदिएँ। र, यतिखेर ठ्याक्कै ३२ मिनेट बितिसकेको थियो।
म घरभित्र पसेँ।
मेरो अवस्था सामान्य थिएन। सास फुलेको थियो। गोडा कामेका थिए। ड्वाङड्वाङती खाली त्यो घर मलाई अघिपछिको जस्तो परिचित लागिरहेको थिएन। कुनै फिल्मको भुताहा घरमा पसेजस्तो। ढोका छेउको किचेनमा चियाएर हेरेँ। धाराबाट चुहिएको पानीका थोपाको पातलो आवाजबाहेक केही सुनिएन। अगाडिको कोठा पनि खुलै थियो, त्यहाँ पनि कुनै चिजको अस्तित्व थिएन।
भर्याङमा टाउको सुताएर चाल मारेँ। अहँ, कोही बोलेको त के सर्याकसुरुक आवाज पनि आएन। यतिबेला मैले आफ्ना हात पनि लगलगी कामेको महसुस गरेँ। मेरा आँखाअघिल्तिर खालिफलाई पात्र बनाएर आशंकाका धेरैवटा नाटकीय दृश्य मञ्चित भइरहेका थिए। मुख प्याक्प्याकती थियो। छाती नै फुटाउँला जस्तो गरी मुटु उफ्रिरहेको थियो, जसको आवाज मेरो कानसम्म सजिलै गुञ्जिन आइपुग्थ्यो।
मैले बलपूर्वक टाउको उठाएर माथिल्लो तलामा चियाएँ। सबै कुरा निःशब्द थियो, सिवाय मेरो फुलेको सास र मुटुको धड्कन। कुनै अज्ञात भय माथिदेखि हामफालेर मलाई झम्टिँदै आयो। म कुदेर फेरि बगैंचातिर निस्कने ढोकामा आएर उभिएँ। लामो सास फेरेर पछाडि हेरेँ। परिवेश उस्तै खाली थियो।
मोबाइल निकालेर हेरेँ। ३६ मिनेट बितिसकेको छ। मैले आँखा चिम्लिएँ, मुठ्ठी कसेँ र लामो गरी सासलाई फ्याँकेर अलिकति सम्हालिने प्रयत्न गरेँ र फेरि भित्रतिरै लागेँ। यतिखेर मेरो गन्तव्य माथिल्लो तल्ला थियो।
तर भर्याङको पहिलो खुड्किला टेक्नु अगाडि मैले फेरि एक पटक चाल मारेर कुनै आवाजको अस्तित्व खोज्ने प्रयत्न गरेँ। तर केही सुनिएन। अब म बिस्तारै खुड्किला चढ्न थालेँ। मैले आफ्नो गोडाको यति कमजोर हिँडाइ यो उमेरसम्म कहिल्यै महसुस गरेको थिइनँ। मेरो चेतनाले मेरा गोडालाई बलियो भर दिइरहेको थिएन। बलजफ्ती गोडा चलाइरहेको थिएँ। एउटा खुड्किलोदेखि अर्को खुड्किलो चढ्न मलाई केही नभए पनि २५, ३० सेकेन्ड लाग्यो होला।
भर्याङको शिरमा पुगेपछि अगाडिको ठूलो कोठामा आँखा परे। त्यो ह्वाङ्गै थियो। सडकपेटिका दुई कोठातिर मुन्टो फर्काएँ, ती पनि खुला र रित्ता थिए। अब बाँकी बाथरुम र भर्याङसँगै जोडिएको ट्वाइलेट थियो। ती दुवै बन्द थिए।
धार्मिक रूपमा कट्टर खालिफको दुई शक्तिप्रति अत्यन्तै ठूलो विश्वास थियो, ‘अल्लाह र अमेरिका।’ अल्लाहप्रतिको उसको विश्वास त स्वाभाविकै थियो, तर अमेरिकाको भक्ति चाहिँ कृत्रिम र शंकास्पद लाग्थ्यो।
मैले खालिफको नाम लिएर बोलाउने प्रयत्न गरेँ। पहिलो पल्ट त स्वर नै निस्किएन। दोस्रो पटकमा निस्कियो, आफैंलाई डरलाग्ने गरी कामेको धोद्रो स्वर। तर कुनै प्रत्युत्तर आएन। तेस्रो प्रयासमा मात्रै साबिकको आवाज निस्कियो। तर त्यो स्वर घरको खालिपनमा गुञ्जियो मात्रै। मैले ठूलो हिम्मतका साथ ट्वाइलेटको ढोका ढक् ढक् गरेँ र ढोका तानेँ। त्यहाँ खालिफ थिएन। अनि केही पनि नसोची बाथरुमको ढोका तानेँ। त्यो पनि खाली थियो।
मलाई आफूले पुनर्जीवन पाएझैं महसुस भयो। एकअर्कोसित छुट्टिएका मेरो शरीरका पुर्जाहरू सबै सोहोरिएर बिस्तारै साबिकको ठाउँमा आए। सरासर ट्वाइलेटमा गएर सञ्चोसित पिसाब फेरेँ। अनि सामान्य अवस्थामा बगैंचातिर निस्किएँ।
हसन आइसकेछ। मलाई देख्नेबित्तिकै सोध्यो, ‘तिमीहरूले त केही काम गरेकै रहेनछौं ? यति बेलासम्म के गरेर बसेको ? उहाँ मैले भ्यान ल्याइसकेँ।’
मैले घटनाक्रमको सविस्तार वर्णन गरेँ। हसनले गम्भीरतापूर्वक मलाई सुन्यो र भन्यो, ‘पक्कै पनि केही नराम्रो घटना भएको हुनुपर्छ।’ अनि ऊ खालिफलाई फोन गर्न थाल्यो। हसनको अनुहारमा हैरानी र चिन्ताका रेखाहरू एकैसाथ देखा परे। ऊ खालिफलाई तारन्तार फोन लगाउँदै यता र उता गरिरहेको थियो। खालिफले फोन उठाइरहेको थिएन।
खालिफसित मैले सँगै काम गर्न थालेको जम्मा जम्मी दुई महिनामात्रै भएको थियो। योे अवधिमा ऊ खुलेर हाँसेको, अथवा कुनै ठट्टा गरेको मैले देखेकै थिइनँ। सुरु सुरुमा त ऊ मसित बोल्दै बोल्दैनथ्यो। केही काम सोधे पनि ‘तिमीलाई जे मन लाग्छ, त्यही गर’ भनेर तर्कन्थ्यो। विस्तारै कुराकानीको क्रम अघि त बढ्दै गएको थियो, तर आफ्नो व्यक्तिगत जीवनको बारेमा ऊ कुनै कुरा नै गर्न चाहँदैनथ्यो। मेरो बारेमा भने सबै सोधिखोजी गथ्र्यो। सन् २०११ मा सिरियामा सिभिल वार सुरु नहुँदै बेलायत आएपछि खालिफ आफ्नो देश फर्किएको छैन भन्ने बाहेक मैले उसको बारेमा थप केही बुझ्न सकिरहेको थिइनँ।
खालिफको स्वभाव र व्यवहारले मलाई ऊ शंकास्पद लाग्थ्यो। यसको पछाडि मेरो अनावश्यक तार्किक स्वभावले काम गरेको थियो। उसको जीवनमा दुईवटा सपना थिए, एउटा मक्का जाने अनि अर्को चाहिँ अमेरिका स्थायी रूपले बस्ने। धार्मिक रूपमा कट्टर खालिफको दुई शक्तिप्रति अत्यन्तै ठूलो विश्वास थियो, ‘अल्लाह र अमेरिका।’ अल्लाहप्रतिको उसको विश्वास त स्वाभाविकै थियो, तर अमेरिकाको भक्तिचाहिँ कृत्रिम र शंकास्पद लाग्थ्यो। मेरो विचारमा यो विरोधाभाषपूर्ण कुरा थियो। आफूलाई अनौठो लागे पनि म यसबारेमा केही बोल्दिनथेँ। बिस्तारै खालिफ लन्च समयमा केहीबेर अल्लाह र इस्लामको बारेमा मलाई व्याख्यान दिन थाल्यो। उसको अंग्रेजी व्याख्यान दिने तहको त थिएन तर ऊ मलाई आफ्नो कुरा बुझाउन सक्दो प्रयास गथ्र्यो। कहिले त गुगल ट्रान्सलेटरको सहायतासमेत लिन्थ्यो। कहिलेकाहीँ आफूले कुरा राम्रोसित बुझाउन सकिनँ जस्तो लाग्दोरहेछ क्यारे भन्थ्यो ‘तिमीलाई म एकदिन मस्जिद लिएर जान्छु। त्यहाँ प्रवचनमा धेरै कुरा बुझिन्छ। अंग्रेजीको कुरान पनि पाइन्छ।’ अनि हरेक प्रवचनको अन्तिममा उसले यो कुरा चाहिँ भन्नै भ्याएको हुन्थ्यो, ‘तिमी एकदमै असल मान्छे छौ। तिमीजस्तो मान्छेले इस्लाम बन्नैपर्छ।’
एकदिन त हसनले यो कुरा सुनिरहेको रहेछ। उसले तत्काल प्रतिक्रिया जनायो, ‘तिमीलाई इस्लामको तागतले पुगेन र अरू धर्मबाट पनि जेहादीहरू खोज्न लागेको ? ’ यसको जवाफ चाहिँ खालिफले अरबीमा फर्कायो। हसनको टिप्पणीले मेरो शंकालु मनमा पहिरो नै गएको थियो। उनीहरूबीच अरबी भाषामा लामै विवाद पनि भयो। यसले मेरो दिमागमा खालिफको अर्कै स्वरूप निर्माण गरिदियो। जस्तो कि फोटोहरूमा इस्लामिक लडाकुहरूलाई देख्छौं।
हसन धार्मिक कट्टरता एवम् अराजकताको विरुद्धमा थियो। एकदिन त खालिफले मलाई ‘हसन सक्कली मुसलमान नभएको, नमाज नै नपढ्ने’ भनेर हसनको कुरा काटेको थियो। त्यो दिन हसन सिया र खालिफ सुन्नी भएको पनि मैले बुझेको थिएँ। सिरियाको शासक आसद सिरियाको अल्पसंख्यक सिया भएको र हसनको जन्मभूमि इरान पनि सिया बाहुल्य भएकै कारण आसदकोे समर्थन र सहयोगमा लागिपरेको रहस्य त्यसदिन बल्ल बुझेको थिएँ मैले।
टीभीमा दैनिक रूपमा भयावह तरिकाले छाएको सिरियाको अवस्थाको वास्तविकता म एउटा सिरियनकै मुखबाट बुझ्न चाहन्थेँ। तर खालिफ चाहिँ यो बारेमा खासै बोल्न चाहँदैनथ्यो। कहिलेकाहीँ आसद सरकार र उसलाई समर्थन र सहयोग गर्ने रसिया र इरानप्रति घृणा व्यक्त गथ्र्यो र अनि अमेरिकालगायत अरू देशको हस्तक्षेपलाई चाहिँ ‘अल्लाहको मर्जी’ मान्दथ्यो। धेरै कट्टरपन्थी मुस्लिमहरूले अमेरिकालाई ‘ठूलो सैतान’ र इजरायललाई ‘सानो सैतान’ भनेको मैले सुने पढेको थिएँ। तर खालिफ चाहिँ त्यसको पूरै विपरीत थियो। उसको नजरमा सबैभन्दा ठूलो सैतान रसिया थियो र उसलाई समाप्त पार्न अल्लाहले अमेरिकालाई अह्राएको तर्क गथ्र्यो। सिरियामा चलिरहेको प्रजातन्त्र प्राप्तिको आन्दोलनको बारेमा, त्यहाँको ध्वस्त बनाइएको जनजीवनको बारेमा चाहिँ ऊ केही भन्न चाहँदैनथ्यो। यस्ता कैयौं सवालमा ऊ अल्लाहलाई देखाएर ऊ यसरी पन्छिन खोज्थ्यो, मानौं त्यो कुरा जान्न मैले अल्लाहलाई नै भेट्नुपर्छ।
हसनले हामीबीच हुने गरेको कुराकानीलाई निकै गम्भीरतापूर्वक लिएको रहेछ क्यारे। एकपटक त खालिफ नभएको मौका पारेर मलाई सम्झायो, ‘हेर है, यो खालिफको कुरालाई धेरै गहिरिएर नसोच्नु। यसका दिमागका पुर्जा खल्बलिएका छन्। धर्मको बारेमा त योसित कुरा गर्दै नगर्नु। अनि सिरियाको बारेमा पनि।’
हसनको कुराले मेरो मन चिसो भयो। उसै त धेरै दिनदेखि मनमा यस्ता
कुरा पकाइरहेको थिएँ। मैले हड्बडाएर सोधेको थिएँ, ‘किन र ? ’
‘हेर, तिमी यस्ता कुराको पछि नलाग। तिम्रो त परिवार छ। तिमीले तिनीहरूका लागि गम्भीर हुनुपर्छ। यो खालिफ त...।’ हसन केही भन्न खोज्दैथियो, तर उसले प्रसंग बदल्यो, ‘जे होस्, ऊसित अनावश्यक कुरामा धेरै घुलमिल नहुनु।’
म खालिफको कुरामा गम्भीर त पटक्कै थिइनँ। खाली समय बिताउने हिसाबले मात्रै ऊसित यस्ता गफ गर्थे। तर हसनको कुराले मलाई चिन्तित बनायो। उसै पनि मलाई उसको व्यवहार अत्यन्तै ‘सन्देहपूर्ण’ लाग्थ्यो। उसमाथि हसनले यो कुरा त्यस्तो समयमा गरिरहेको थियो, जतिबेला बेलायती मुसलमानहरू आईएसआईमा भर्ती हुन मध्यपूर्वतिर जान थालेका समाचार धमाधम आउन थालेका थिए। शंकास्पद ‘आतंककारी’ हरूलाई धरपकड गरिँदै थियो। इस्लामका नाममा लन्डन र युरोपका अरू सहरमा केही अप्रिय घटना पनि घटिसकेका थिए।
सम्झेर ल्याउँदा खालिफदेखि मलाई डर पो लाग्न थाल्यो। यस्तो डर मानौं उसले मलाई रातारात आईएसआईको लडाकु बनाइदिनेछ अथवा मलाई मानव ढालको रूपमा प्रयोग गर्नेछ, अथवा मेरो कम्मरमा आत्मघाती बम बाँधेर लन्डनको व्यस्त सडकमा उभ्याइदिनेछ, यस्तै यस्तै। यस्तै डरलाग्दा कल्पनाले मलाई रातभरि छेको हान्दै रहे। मैले हसनसितको काम छोड्ने विचार पनि गरेँ। तर यो पनि सजिलो कुरा थिएन। एक त हसनले दिने तलब मैले अन्त गएर पाउनेभन्दा एक चौथाइले बढी थियो। उसको सरल र सम्मानजनक व्यवहार अन्तको काममा सायद सम्भव नै थिएन। अर्को काम पाउनु पनि त सजिलो थिएन। त्यसैले मैले तत्काललाई काम छाड्ने कुरा त्यागिदिएँ र सकेसम्म उसको कुराबाट तर्किन खोजिरहेको थिएँ। तर मेरा इन्द्रियले आफूभित्र कोरिएको खालिफको शंकास्पद छविका बारेमा छिन्द्रान्वेषण गर्न छाडेका थिएनन्।
मलाई खालिफ यति शंकास्पद लाग्दै गएको थियो, जस्तो कि धेरै मानिसहरू सोच्न थालेका थिए, विशेषगरी इराक र मध्यपूर्वतिरबाट छिरेका शरणार्थीहरूका बारेमा। मानौं उनीहरू सबैले हरहमेशा कम्मरमा टाइमबम बाँधेर हिँडिराखेका हुन्छन् जस्तो। केटाकेटीमा तमिल टाइगर्सका लडाकुहरूले पोटासियम साइनाइडको क्याप्सुललाई माला बनाएर भिरिराखेका हुन्छन् भन्ने किस्सा खुब सुनिन्थ्यो, आजकल त्यही झल्झली सम्झिन थालेको थिएँ।
घन्टा बित्यो। हसन म्यागनोलियाको बोट अघिल्तिर घोरिइरहेको थियो। म काममा फर्केको थिएँ तर काम गरिरहेको थिइनँ। म प्रत्येक तीन चार मिनेटमा मोबाइल हेरिरहेको थिएँ र खालिफ निस्किएको समय हिसाबमात्रै गरिरहेको थिएँ। थप केही मिनेट बिते। एक घन्टा १९ मिनेट बितेपछि खालिफ हसनको घरको छेउबाट बगैंचातिर फुत्त देखा पर्यो। हसन र म एकैपटक उछिट्टिएर उसको छेउमा पुगेछौं।
‘के गरेको खालिफ ? यसरी अरूलाई अत्याउनु हुन्छ ? भनेर त जानुपर्छ।’ हसनले सुरुमा त खालिफलाई हकारेको जस्तो गर्यो तर फेरि उसको ख्याल गरेझैं गरी भन्यो, ‘के भयो खालिफ ? तिमी ठीक त छौ ? ’
खालिफको कपाल असरल्ल छरिएको थियो। अनुहार थाकेर कालोनीलो भएजस्तो। आँखा पनि सुन्तला रङका देखिन्थे। उसले हातको झोला उही बेन्चमाथि राख्यो, जहाँ दुइटा कप जालो लागिसकेको चिसो चिया बोकेर उदास टाक्राकटुक्रुक बसिरहेका थिए। त्यसपछि उसले देब्रे हातले कपाल माथितिर सार्दै लामो सास बाहिर फ्याँक्यो। अनि बाँधिएको आवाजमा अरबी भाषामा हसनसित केही भन्यो। हसनको अनुहार विषादले भरियो र उसले हात माथितिर उठाएर ठूलो आवाजमा ‘या अल्लाह’ भन्यो।
म यो दुःखलाई महसुस मात्रै गर्न सकिरहेको थिएँ। तर यसको कारण बुझ्न नसकेर वाल्ल परिरहेको थिएँ। खालिफले सायद मेरो अनुहारको समवेदनाको भावलाई पढ्न सक्यो क्यारे। भन्यो, ‘मेरो परिवारमा अब मबाहेक कोही बाँकी रहेन। सबै अल्लाहको नाममा सिद्धिए। बचेका पनि अस्ति दोमाको आक्रमणमा मारिए।’ खालिफले यसरी भन्यो, मानौं उसले समाचार पढिरहेको थियो। अन्तिममा उसले हसनतिर हेर्दै भन्यो, ‘तिमीले भनेको सही रहेछ। हामीलाई अल्लाहले होइन, हामीले अल्लाहलाई बनाएका रहेछौं। यदि अल्लाहले हामीलाई बनाएको भए बुबाआमालाई साना छोराछोरीकै अगाडि बीभत्स तरिकाले किन मारिन दिन्थ्यो ? साना केटाकेटीलाई केमिकल सुँघाएर मार्न दिन्थ्योे ? ’
बोल्दाबोल्दै खालिफ आवेगमा आयो। अघिपछि अंग्रेजीमा लामो कुरा बोल्नुपर्यो भने ऊ अड्की अड्की बोल्थ्यो। तर आज ऊ स्वतस्फुर्तः बोलिरहेको थियो। उसका आँखा एकोहोरो बगिरहेका थिए। हसनले उसलाई अँगालो हाल्यो र पिठ्युँमा सुम्सुम्याउँदै अरबी भाषामा गुन्गुनायो, ‘इनालिल्लाही वा इन्ना इल्लाही राजिउन्...।’
म्याग्नेलियाको छेउमा म पनि रसाइसकेको थिएँ। मैले आफूलाई सम्हाल्न सकिनँ। खालिफलाई सम्झाएझैं गरी भनेँ, ‘जे हुनु भइहाल्यो खालिफ। आफूलाई सम्हाल।’
खालिफले हसनबाट आफूलाई छुटायो। टिसर्टको बाहुलाले अनुहार पुछ्यो र हसनतिर हेर्दै भन्यो, ‘हसन तिमी मलाई एउटा सहयोग गर्छौ ? ’ तर उसले हसनको जवाफ पर्खिएन। उसले आफूले ल्याएको प्लास्टिकको झोलाबाट सानो गमलासहितको एउटा विरुवा निकाल्यो र भन्यो, ‘अनाहकमा यातनापूर्वक सिद्धिएको मेरो परिवारको नाममा चेरीको यो बिरुवा रोप्न चाहन्छु। तर मेरो त आफ्नो घर छैन। तिम्रो बगैंचामा तिम्रो अदिलको छेउछाउमा यसलाई हुर्किने ठाउँ दिन्छौ ?’