भुटानी राजालाई देउबहादुरको चिठी
देउबहादुर कालिकोटे ७७ वर्षका भए। करिब आठ दशक लामो जीवनमा एक चौथाइ त शरणार्थी भएरै बिताए। जीवनमा कहिल्यै प्रेमपत्र नलेखेका देउबहादुरले बितेको २६ वर्षमा ‘देश फर्कन पाऊँ’ भन्दै एक सय २२ वटा चिठी लेखे। भुटानी राजाको नाममा ५२, भारत सरकारको नाममा २० र नेपाल सरकारको नाममा ५० वटा चिठी लेखे। छोराछोरी, नातिनातिना सबै अमेरिका गइसके। उनी भने बाँसको कप्टेरो र प्लास्टिकले बेरेको शरणार्थी बस्तीमा बस्छन्। देश फर्कने आशामा अझै चिठी लेखिरहेकै छन्।
चिठीको उत्तर आउने आशामा देउबहादुर दिन गन्दै बस्छन्, महिना गन्दै बन्छन्। तर, कुनै उत्तर नआई बिते उनका २६ वर्ष। उनको शब्दकोषमा ‘थकान’ भन्ने शब्दै छैन सायद। चिठीको उत्तर कुरिबसेका छन्। उत्तर कुर्दाकुर्दै बित्न लाग्यो एकबारको जुनी। तर, लेख्न छोडेका छैनन्, राजालाई चिठी।
जसको आउने ठेगाना छ, उसको प्रतीक्षा गर्नु कठिन हुन्छ। जसको आउने कुनै ठेगानै छैन, उसैको प्रतीक्षा गर्नु झनै कठिन छ। अझ प्रतीक्षा गरिरहन मन लाग्नु, थाहा छैन कति कठिन हुन्छ। देउबहादुर यस्तै कठिन प्रतीक्षामा छन् वर्षौंदेखि।
देउबहादुरलाई आधा रातपछि निद्राले छोड्छ। आँखाभरि घुम्न थाल्छ— भुटान। मनमनै बोल्छन् आफैंसँग— हामीले पाएको दुःख राजालाई थाहा दिनुपर्छ। राजा पनि मान्छे हो। राजाको पनि मन हुन्छ। तर, राजालाई आफ्नो दुःख देखाउने कसरी ? उनको दिमागमा सधैं एउटै उपाय फुर्छ— चिठी लेखेर पठाउनु। बस् चिठी पठाइरहनु ! तर, कागजको एउटा टुक्राले सवा लाख मान्छेको आँसुको कथा भन्न सक्ला ?
हाम्रो कथाले थिम्पु दरबारको आँखा रसाउला र ? उनी आफैंलाई प्रश्न गर्छन् अनि कुनै बालकले होमवर्क गरेजस्तै राजाको नाममा चिठी लेख्न थाल्छन्। उनको चिठीको बेहोरा हुन्छ, ‘दासु, म देउबहादुर कालिकोटे विश्वकर्मा। घर चिराङ जिल्ला, गेवोक गोसेलिङ, गैरीगाउँ। हजुरको दरबार बनाउने एउटा ज्यामी। फुन्चोलिङबाट थिम्पुसम्म पुग्ने त्यो राजमार्ग बनाउने एउटा कुल्ली। हजुरको दरबारमा भारी बोकेर पुर्याउने एउटा भरिया। आज हावा–हुरी, घाम–पानी सहेर छाप्रोमा बसिरहेको छु। म भुटान फर्कन चाहन्छु। आफ्नै देशमा मर्न चाहन्छु, डासु।’
उज्यालो भइसक्दा टुटेफुटेको नेपाली भाषामा उनको चिठी तयार भइसक्छ। त्यसपछि चिठीलाई अंग्रेजीमा उल्था गर्न लगाउँछन्। कम्प्युटरमा टाइप गराएपछि उनी चिठी बोकेर हस्ताक्षर संकलन गर्न लौरो टेक्दै बस्तीभरि डुल्छन्। प्लास्टिकको पालमुनि खोकिरहेका, चौतारामा सुस्ताइरहेका, आँगनको डिलमा डोको बुनिरहेका बूढाबूढीहरू ल्याप्चे लगाइदिन्छन्। साँवा अक्षर चिन्नेहरूले सही गरिदिन्छन्। त्यसपछि देउबहादुर चिठी बोकेर कन्काई नदी, मेची नदी र टिष्टा नदी तर्दै घाम उदाएतिर जान्छन्।
देउबहादुर सिक्किम–दार्जिलिङ पार गरेर भुटानको सीमावर्ती क्षेत्र फुन्चोलिङ पुग्छन्। दसगजावारि उभिएर अघाउँजी भुटानी माटो हेर्छन्। अनि चिठीलाई निधारमा छुवाएर पोस्ट् अफिसतिर हिँड्छन्।
फुन्चोलिङमा उनलाई दुईपटक ‘राजालाई चिठी लेख्ने मान्छे’ भनेर पुलिसले पक्राउ गर्यो। पुलिसले भनेका कुरा सम्झन्छन्, ‘सबै चिठी राजाले पढिरा’छन्। के–के लेख्या छस् कुन्नि ! नराम्रो लेख्या भए जेल जालास्।’ चिठीहरू प्रहरी अफिसमै फाइल गरेर राखेको देखे देउबहादुरले। दिनभरि प्रहरीचौकीमा थुनेर साँझ भुटानको सिमाना कटाइदिन्थे प्रहरीले। दिनभरि नछाड्नु, राति मात्रै छाड्नुमा उनको आफ्नै अनुमान छ, ‘बेलुकीसम्म राजाले चिठी पढेर सक्यो होला। त्यसपछि मलाई छाडेको हुनुपर्छ। नराम्रो लेखेको भए जेलमै राख्थ्यो नि !’
देउबहादुरको चिठी थिम्पु पुग्यो वा पुगेन, वा तिनै प्रहरी चौकीमा वर्षौंदेखि थन्कियो यसको कुनै प्रमाण छैन। बस् उनको एउटै विश्वास छ, ‘मैले प्रत्येकपटक पठाएको चिठी राजाले पढ्छन्, अनि आफ्ना नागरिकले पाएको दुःख सम्झिएर एक दिन पक्कै देश बोलाउनेछन्।’
७७ वर्षका देउबहादुर कालिकोटे बेलडाँगी शरणार्थी शिविरमा बस्छन्। बितेका २६ वर्षमा ‘भुटान फर्कन पाऊँ’ भन्दै उनले एक सय २२ वटा चिठी लेखे। छोराछोरी, नातिनातिना अमेरिका पुगिसके। उनी भने शरणार्थी बस्तीमा अझै चिठी लेखिरहेकै छन्।
त्यसपछि टिष्टा तरेर देउबहादुर फर्किन्छन् उही प्लास्टिकको छाप्रोमा। उनका दौंतरी चौतारामा अनवरत कुरिरहन्छन् उनकै बाटो। परबाट कोही बूढो मान्छे सुस्तरी हिँँड्दै आएको देख्दा दौंतरीहरू ‘देउबहादुर राजाको खबर लिएर आयो’ भन्दै चनाखो हुन्छन्। जब देउबहादुर नै अगाडि प्रकट हुन्छन्, तब चौतारा कुरिरहेका साथीहरूको अनुहारमा खुसी दौडिन्छ। देउबहादुरले खुइय्य गर्दै चौतारामा छाता बिसाए भने पर्खिनेहरू बुझ्छन्, ‘राजाको मन अझै पग्लिएन।’
त्यसपछि त्यो खुसी रूखको हाँगाबाट उडी गएको कागसँगै बेपत्ता हराउँछ।
चिठीमा राजाको उत्तर बोकेर एक दिन हुलाकी पक्कै बस्तीमा आउनेछ भन्ने आशामा देउबहादुर दिन गन्दै बस्छन्। उनी सुकेको रूखको फेदमा रेडियो
सुनिरहन्छन्। महिनौं राजाको खुटखबर नआएपछि फेरि एउटा बूढो मान्छे झोलामा चिठी बोकेर कन्काई तर्छ।
कन्काई तरेर जाँदाजाँदै देउबहादुरको निधारमा थपिँदै गयो चाउरी। पाइतला झनै फुट्दै गयो। हातमा थपियो चिठीसँगै लौरो। तर, चिठी लेख्न कहिल्यै छाडेनन् उनले। उत्तर नआउनुमा उनको ठहर छ— भाषा मीठो बनाउन सकेको भए राजाको मन पग्लिन सक्थ्यो। तर, मीठो बनाउने कसरी ? जीवनजस्तै टुटेफुटेको छ उनका अक्षरहरू। चिठीको उत्तर नआउनुमा उनी आफ्नै दोष देख्छन्। मनमनै आफैंलाई गाली गर्छन्, ‘चिठी लेख्नैै जानिनँ।’
०००
वैशाखको एक साँझ, साथी कृष्ण सुब्बासँगै झापा बेल्डाँगीस्थित शरणार्थी शिविरको छाप्रो नम्बर ५१ मा पुग्दा देउबहादुर बाँसको छाप्रोअघि टोलाइरहेका थिए। अगाडि बढेमानको रूख ढलेको थियो। आँगनमा नातिनातिना खेलिरहेका थिएनन्। बूढीआमा छाप्रोभित्र खोकिरहेकी थिइन्। निधार ठोक्किने छाप्रोमाथि केही पुराना लुगा झुन्डिरहेका थिए। शून्य हुँदै गएको बस्तीमा फाट्टफुट्ट साइकलको किरिङ–किरिङ आवाज परपरसम्म सुनिथ्यो। त्यही साँझ देउबहादुरले भुटान छोड्दाका र शरणार्थी जीवन बिताउँदाका तिता दिनहरू बेलिविस्तार लगाएका थिए।
०००
चिराङ जिल्ला, गेवोक गोसेलिङ, देउबहादुरको घर। डम्फुमा कपडा दोकान। तीन तलाको घर तीनै ठाउँमा। एउटामा आफू बस्ने, अरू दुइटा भाडामा। दुई तलाको आरसीसी बिल्डिङमा उनको दोकान थियो। बाख्राको खोर, भान्साघर र दुईवटा गुवाली। सुन्तला बारीदेखि सयौं मुरी धान फल्ने खेत थियो। जीविका राम्रैसँग चलेको थियो। धेरै पढ्न पाएनन्। टुटेफुटेको अनौपचारिक शिक्षामै जीवन चलाइरहेका थिए।
एक दिन अचानक भुटान सरकारले पसल दर्ताको लाइसेन्स लिएर गयो। हिँड्ने बेला प्रहरीले भनेको थियो, ‘आइन्दा दोकान खोलिस् भने तँ बाँच्दैनस्।’ त्यस दिनदेखि देउबहादुरको खुसीको संसार हल्लिन थाल्यो।
डरैडरमा बाँच्न थाल्यो देउबहादुरको परिवार। राति लुकीलुकी दोकान खोल्थे। तर, त्यो धेरै दिन भएन। हाट बजार क्रमशः बन्द हुन थाल्यो। अब बजारमा ग्राहक देखिन छोडे, बरु सैनिकको बुटको आवाज सुनिन थाल्यो।
देउबहादुरलाई आर्मीले छ्याप्छ्याप्ती खोज्न थाल्यो। उनी लुकीलुकी हिँड्न थाले। सैनिकले उनलाई नभेटेपछि श्रीमती धनमाया कालिकोटेलाई धम्की दिँदै भन्यो, ‘तेरो श्रीमान्को सट्टा तँ हिँड् आर्मी क्याम्पमा।’ साँझको बेला सानो नानी छाडेर आर्मी क्याम्पमा जान सक्दिनँ भन्दै धनमायाले बिलौना गरिन्। सैनिकले सर्त राख्यो, ‘कि देश छाडेर जान्छु भनी यो कागजमा सही गर्, कि क्याम्प हिँड्। दुवै सर्त भयानक थिए। राति सैनिक क्याम्पमा जानू स्वस्थ थिएन। उनले दोस्रो विकल्प रोजिन्।
भोलिपल्ट बिहानै देउबहादुर सुन्तला, दूध र घिउ कोसेली लिएर आर्मी क्याम्प पुगे। देश छोडेर जान सक्दिनँ भन्दै बिन्ती बिसाउन मात्रै लागेका थिए, ८÷१० जना सैनिकको झुण्डले उनलाई झम्टियो र भकाभक कुट्न थाल्यो। ‘म सुगर र प्रेसरको बिरामी छु, मलाई नकुटियोस्’ भन्दै देउबहादुर चिच्याए। तर, कसैले सुनेन। उनको हातमा हत्कडी लगाइयो र पाता कसेर लडाइयो। कसैले खुट्टा थिचे, कसैले टाउको। उनलाई बेस्सरी कुटियो। ‘म त लर्याकलुरुक भएँ’, उनी सम्झन्छन्। त्यसपछि देउबहादुरको आँखा धमिलो हुँदै गयो। अन्ततः देउबहादुर बेहोश भएर ढले। धेरै बेरपछि आँखा खुल्दा जेलको चार दिवारभित्र थिए उनी।
देउबहादुर कोल्टेसमेत फेर्न नसक्ने गरी लडिरहे। आँखा खोल्नेबित्तिकै कुट्दै–कुट्दै ‘डासु’को अगाडि उभ्याइयो। उनी थरर कामिरहेका थिए। डासुले भन्यो, ‘१३ वर्ष ६ महिना यस्तै यातना सहेर जेलमा सड्छन् कि देश छोडेर जान्छन् ? ’ थरथर काँपेको स्वरमा देउबहादुरले भने, ‘देश छाडेर जान्छु, हजुर’।
देउबहादुर राति अबेर घिस्रिँदै घर पुगे। देश छाड्न नपरोस् भन्दै भोलिपल्ट सकीनसकी धेरैलाई हात जोड्दै हिँडे। जिल्लाका नेतालाई भेटे। दुई महिनासम्म बिन्ती बिसाउँदै हिँडे। गाउँमा नयाँ जनगणना सुरु भयो। पुर्खौंदेखि बस्दै आएको मातृभूमिमै बस्न पाऊँ भन्दै भुटान सरकारलाई बिन्ती बिसाए। तर, कसैले सुनेनन्। अन्ततः जनगणनाबाट उनको नाम काटियो। जिल्ला कार्यालयबाट हाकिमले घोक्र्याउँदै बाहिर निकालेर भन्यो, ‘अस्ति जान्छु भनिस्, अहिले जान्न भन्छस् ? अब तँ यो देशको नागरिक होइनस्। तँलाई कसैले मार्यो भने राज्य जिम्मेवार हुँदैन।’ त्यसपछि देउबहादुर सडकमा निस्किएर एक्लै कराए, चिच्याए। तर, उनको आवाज कसैले सुनेन।
गाउँ खाली हुँदै जान थाल्यो। गाउँलेहरू बाख्राको पाठी डोर्याएर, गुन्द्री र दुधे बच्चा पिठ्यूँमा च्यापेर गाउँ छाड्न थाले। देउबहादुर पनि अलिकति देशको माटो, परालको गुन्द्री, एकजोर हँसिया, डोकोमा सानी नानी, स्कुल ड्रेस लगाएका छोराछोरी अघि लगाएर घाम डुब्ने दिशातिर निस्किए। बा–आमा भुटानमै बितिसकेका थिए। भोटेसँग बिहे गरेकी एउटी छोरी उतै छुटिन्। देशले खेदेको देउबहादुरको आठजनाको परिवार एकमुठी देशकै माटो बोकेर गन्तव्यहीन यात्रामा निस्कियो। गाउँ डुल्न गएको देउबहादुरको कुकुरले साँझ पर्खिँदा घर रित्तो पायो। त्यसपछि रित्तो घरको आँगनको डिलमा बसी रातभरि कुकुर रोइरह्यो।
०००
सन् १९९२ मा मेची तरेर देउबहादुर नेपाल आइपुगे। उनका पुर्खा यतैबाट भुटान पसेका थिए युगौंअघि। उनको परिवार बेलडाँगी शिविरमा बाँसको छाप्रोेमुनि बस्न थाले। करोडौंको सम्पत्ति भएको देउबहादुरको परिचय फेरियो। अब उनी डम्फुका साहुजी रहेनन्, छाप्रो नम्बर ५१ का शरणार्थी भए। उनको दैनिकी बदलियो। प्लास्टिकको छाप्रोमुनि देश फर्कने सपना देख्दै राजाको नाममा चिठी लेख्नु उनको दैनिकी हुन थाल्यो।
माटो खोसिएको मान्छेलाई जग्गाको कित्ता नम्बर मुखाग्र छ। आफ्नै घरसँग बिरानो भएको मान्छेलाई घर नम्बर अझै याद छ। देश हराएको मान्छेलाई नागरिकता नम्बर कण्ठस्थ छ। देउबहादुर भन्छन्, ‘मेरो नागरिकता नम्बर ०१४७३१४ हो।’
भुटानी राजालाई चिठी लेख्दालेख्दै उनलाई लाग्यो— भुटान सरकारको चाबी भुटानसँग छैन। मेची पुलमा गोली हान्नेसँग छ चाबी। त्यसपछि उनले लेख्न थाले भारत सरकारको नाममा चिठी। भुटान फर्काउन सहयोग गरिदिनू भन्दै शब्द खिपेर, भावनाहरू व्यक्त गरेर पटकपटक चिठी लेखे। कहिले जोगबनी, कहिले जयगाउँ, कहिले पानीट्यांकीसम्म पुगेर उनले भारत सरकारलाई चिठी पोस्ट् गरिरहे। पठाउने क्रम २० पटकसम्म चल्यो तर कुनै उत्तर आएन।
भारतलाई चिठी लेख्दालेख्दै फेरि उनलाई लाग्यो— जसले बस्न अस्थायी माटो दिएको छ, चिठी उसलाई पनि लेख्नुपर्छ। नेपालले पहल गरिदियो भने भुटान फर्कन पाइन्छ भन्ने सोचेर उनले नेपाल सरकारको नाममा ५०औं पटक चिठी लेखे। पूर्वराजा वीरेन्द्रको नाममा लेखे। प्रधानमन्त्रीका नाममा लेखे। परराष्ट्रमन्त्रीको नाममा लेखे। बिर्तामोडमा केपी ओली पुगेको बेला त चिठी ओलीको हातैमा थमाइदिए। ‘तर... तर कुनै उत्तर आएन’, देउबहादुर बोल्दाबोल्दै रोकिए। पर साइकलको घन्टी किरिङकिरिङ बजाउँदै छाप्रोतिर जाँदै गरेको छिमेकीलाई हेरे। एक गिलास पानी पिए, लामो सास फेरे।
०००
हन्डर र ठक्करको अनगिन्ती अध्यायले चुलिएको देउबहादुरको छाप्रोमा फेरि अर्को अध्याय थपियो। यूएनएचसीआर (संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग)ले तेस्रो मुलुक पुनर्बासको कार्यक्रम ल्यायो। अमेरिका, क्यानडातिर जान पाउने भएपछि बस्तीका धेरै रमाए। तर, देउबहादुरले बूढी श्रीमतीलाई अँगालो हाल्दै भने, ‘हामी कहीँ नजाने, छोराछोरीलाई पनि नपठाउने, भुटानमै गएर मर्ने है !’ यूएनएचसीआरले तेस्रो मुलुक लैजाने भनेको दिन देउबहादुरको आँखाबाट रातभरि आँसु बगिरह्योे।
तर, देउबहादुरलाई समयले साथ दिएन। नयाँ पुस्ता र पुरानो पुस्ताबीच कुरा मिलेन। जति नै सम्झाए पनि बाँसको छाप्रो छाडेर छोराछोरी अमेरिका जाने नै भए। अन्ततः देउबहादुर हारे। ‘नजाऊ नजाऊ’ भन्दाभन्दै दुई भाइ छोरा, तीन बहिनी छोरी र नातिनातिनी सबै अमेरिका गए। कान्छो छोरालाई भने देउबहादुरको आँसुले रोक्यो। तर, देउबहादुरलाई अझै चयन छैन।
बाआमाको मायाले दोभानमै अल्मलिएको बटुवाजस्तो कान्छो छोरा एक दिन जान्छु भन्छन्, अर्को दिन जान्न भन्छन्। मानसिक तनावमा डुबे कान्छा छोरा। आमाबाको आँसुको अघि उनी घरि पग्लिन्छन्, घरि भविष्य सोच्दै अमेरिका जान्छु भन्छन्। अझै दोधारमै छन् कान्छा छोरा।
१४ जनाको सन्तानले सजिएको उनको टहरा अब झनै रित्तो हुँदैछ। छोराले हाँक्ने साइकल खियाले खाएर छेउमा लडिरहेको छ। नातिले खेल्ने काठको गाडी धमिराले खाएको छ। नातिनीले खेल्ने भाँडाकुटी बूढो रूखले किचेको छ। रुग्णताको बादलले छाप्रोमा डेरा जमाएको छ। देउबहादुर यी सप्पैै हेर्दै टोलाएर बसिरहन्छन्।
अब देउबहादुरको साथी भएको छ— पात झर्दै गएको उही चौतारा, उही पुरानो रेडियो र आफूजस्तै भुटान फर्कन चाहने बूढाबूढीहरू। दिनभरि चौतारामा बूढाबूढी भेला भएर भुटानको कथा सुनाउँदै बस्छन्। तर, अघिल्लो साँझ रूखको फेदमा बसेर भुटानको कथा सुनाउँदै गरेको साथी भोलिपल्ट ढ्यांग्रो पोको पारेर अमेरिका हान्निएका छन् कति। छाडिजाने आफन्तको बाटो कुर्दाकुर्दै एक मुठी सास झुपडीमै छाडेर गएका छन् कति। रूखको फेदमा बसेर आफन्तको बिलौना गर्दागर्दै मानसिक रोगी भएर मरेका छन् कति। देशको बिछोड, आफन्तको बिछोड अनि आफैंसँगको बिछोडमा रोइरहेको छ— शरणार्थी बस्ती। कथैकथा बोकेको यो बस्तीबाट अब बिस्तारै कथा हराउँदैछ।
०००
‘मेरो जन्मभूमि भुटान हो। मेरो खुनपसिना बगेको छ भुटानमै। म अमेरिका जाँदै जान्नँ। मेरा छोराछोरी जम्मैलाई भुटान फर्काएर जमिन अंशबन्डा गरिदिने अन्तिम इच्छा छ मेरो’, देउबहादुर भन्छन्।
बेलाबेला खोक्दै गुनगुन आफैंसँग कुरा गर्छन् देउबहादुर, ‘दुई ट्रक सुन्तला फल्ने सुन्तला बारी उतै छ। लुगा दोकान उतै छ। अलैंचीको पैसा उतै छ। सिमेन्टको सेयर उतै छ। सयौं मुरी धान फल्ने खेत उतै छ। त्यो मेरो घरमा डुक्पा बस्यो होला। त्यो घाँसे मैदान, त्यो गैरी खेत कस्तो भयो होला ? भाडामा दिएको थिएँ कोठाहरू, ती मान्छेहरू अहिले कहाँ गए होलान् ? ’ देउबहादुरको छाती आधा रातमा ऐँठनले निमोठ्छ। निद्रामै बर्बराउँछन्। सपनामा बारम्बर भुटान पुग्छन्।
देउबहादुरको छाप्रोमाथि रातभरि चरा चिर्बिराउँछ। आधा रातपछि देउबहादुरको साथी भइदिन्छन्— तिनै अञ्जान चराको बथान। निद्रा कोसौं टाढा भाग्छ। त्यसपछि टुकी बालेर कोर्न थाल्छन्, जग्गाको नक्सा। माटो खोसिएको मान्छेलाई जग्गाको कित्ता नम्बर मुखाग्र छ। आफ्नै घरसँग बिरानो भएको मान्छेलाई घर नम्बर अझै याद छ। देश हराएको मान्छेलाई नागरिकता नम्बर कण्ठस्थ छ। देउबहादुर भन्छन्, ‘मेरो नागरिकता नम्बर ०१४७३१४ हो।’
आजको फुर्सदका अन्य लेखहरूः