फेवातालको आइल्यान्ड भत्काउन आदेश

फेवातालको आइल्यान्ड भत्काउन आदेश

पोखरा : पोखरा लेखनाथ महानगरपालिका र वडा कार्यालयबीच समन्वय नहुँदा वडा कार्यालयको प्रत्यक्ष लगानीमा बनेको संरचना महानगरले भत्काउने आदेश दिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ बैदामस्थित फेवाताल किनारमा वडा कार्यालयले ताल अतिक्रमण गरी बनाएको आइल्यान्ड महानगरपालिकाका मेयर मानबहादुर जिसीले भत्काउन आदेश दिएका हुन् ।

फेवातालको पहारी घाटमा वडा कार्यालय बैदामले पोखरा महानगरपालिकासँग समन्वय नगरी डुंगा आकारको आकर्षक आइल्यान्ड निर्माण गरेको हो । वडा कार्यालय बैदामले स्थानीयको सहयोग जुटाएर करिब ५ लाख रुपैयाँ लागतमा आइल्यान्ड निर्माण गरिसकेको छ । ताल किनारमै वडा कार्यालयले आइल्याड निर्माण गरेपछि स्थानीयले वडा कार्यालयले ताल अतिक्रमण गरेर संरचना बनाएको भन्दै वडाविरुद्ध महानगरमा उजुरी दिएपछि महानगरले आइल्यान्ड भत्काउन आदेश दिएको हो ।

ताल किनारका जग्गा धनीले ताल अतिक्रमण र मापदण्ड मिचेर बनाएको संरचना भत्काउनु पर्ने जिम्मेवार महानगरले तालभित्रै नयाँ आइल्यान्ड निर्माण गरेको स्थानीयको गुनासो आएपछि मेयर जिसीले महानगरकै फेवा ताल संरक्षण आयोजनामार्फत् वडा कार्यालयलाई सात दिनभित्र आइल्यान्ड भत्काएर रिपोर्ट दिन आदेश दिएका हुन् । महानगरसँग समन्वय नगरी प्राकृतिक सम्पदामा वडा कार्यालयले आफू खुसी आइल्यान्ड निर्माण गरेकाले मेयरको निर्देशनमा महानगरले सात दिनभित्र संरचना भत्काउन आदेश दिएको पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका संयोजक महेन्द्र गोदारले बताए ।

यसरी फेवाताल किनारमा आफूखुसी संरचना बनाउँदै जाने हो भने तालको अस्थित्व समाप्त हुने भएकाले महानगरले तत्कालै ताल किनारमा बनेको संरचना भत्काउने आदेश दिएको उनले बताए । महानगरले संरचना भत्काउन आदेश दिएको बुधबार एक साता पुगे पनि तालमा बनेको आइल्याड भत्काइएको छैन । पोखरा महानगरका वडा नं. ६ का वडाध्यक्ष जगतबहादुर पहारीले स्थानीय नागरिकको पहलमा ताल किनारमा पहिले थुप्रेको माटोको ढिस्को भएको ठाउँमा वरिपरि वाल लगाएर पर्यटकीय आकर्षणका लागि घाटसहितको आइल्यन्ड बनाएको बताए । आइल्याड निर्माणले ताल अतिक्रमण भन्दा पनि तालको सौन्दर्य बढेको र संरक्षण समेत भएको उनको दाबी छ ।

आइल्यान्ड निर्माण गर्न पोखरा महानगर वडा नं ६ ले २ लाख रुपैयाँ लागनी गरेको छ । स्थानीय टोल सुधार समितिले १ लाख ५० हजार, डुंगा व्यवसायी समिति र स्थानीय नागरिकको समेत सहयोगमा करिब ६ लाख लागतमा आइल्यान्डको निर्माण भएको हो । फेवातालको मापदण्ड मिचेर ताल किनारमै घर बनि पनि महानगरले रोक्न सकेको छैन । रामसार क्षेत्रमा सूचिकृत फेवाताल किनारको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने मापदण्ड भए पनि महानगरले कायान्वयन गर्न सकेको छैन ।

फेवातालको मापदण्ड मिचेर २ सय १७ संरचना निर्माण भएको महानगरको तथ्यांक छ । तालको मापदण्ड मिचेर बनेका संरचनाको नयाँ तथ्याङंक तयार हुँदै गरेको इन्जिनियर गोदारले बताए । पछिल्लो समयमा तालको मुहान क्षेत्रको सिमसार पुरेर घडेरी बनाइए पनि महानगरले नियन्त्रण गर्न सकेको छैन । फेवातालको आयुसँग प्रत्यक्ष जोडिएको सिमसार क्षेत्रमा प्लाटिङ समेत बढेको हो ।

सन् १९९२ को एक अध्ययन अनुसार फेवातालको मुख्य स्रोत हर्पन खोलाहुँदै मुहान क्षेत्रमा करिब १ लाख ४२ हजार मेट्रिक टन गेग्रयान र माटो तालमा मिसिने गरेको छ । विस १९५७ मा करिब २२ हजार रोपनी रहेको फेवाताल अहिले ९ हजार ९ सय ५५ रोपनीमा सीमित भएको छ । २०१८ सालमा १० वर्ग किलो मिटरमा फैलिएको फेवाताल २०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार ४.२० वर्ग किलोमिटरमा खुम्चिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.