विदेशबाट फर्किंएर सामूहिक खेती

विदेशबाट फर्किंएर सामूहिक खेती

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका–९ सिम्पानीका पाँच जना युवाले विदेशबाट फर्किंएर गाउँमै सामूहिक तरकारी खेती सुरु गरेका छन् । १० वर्षसम्म विदेशमा श्रम गरेर स्वदेश फर्किएका युवाको अगुवाईमा गाउँमै व्यावसायिक कृषि पेसा सुरु भएको छ ।

विदेशमा गरेको श्रम गाउँमै गर्न सके राम्रो आम्दानी गर्ने सकिने भएकाले गाउँ फर्किंएर १६ रोपनी जग्गा लिजमा लिइ व्यावसायिक रूपमा सामूहिक रूपमा तरकारी खेती थालिएको रामबहादुर बरालले बताए । बरालसँग भीमबहादुर मगर, चेतबहादुर मगर, रेवत मगर र टेकबहादुर मगरले साझेदारी गरेका छन् । चेतबहादुर मगर विदेशमा काम अनुसारको दाम नपाएपछि भागेर घर फर्किएका थिए । रामबहादुर र चेतबहादुरको सामूहिक खेती गर्ने अभियानमा छिमेकी भीमबहादुर, रेवत र टेकबहादुर मगरले साथ दिएपछि गाउँपालिकामै पहिलो पटक सामूहिक खेती सुरु भएको छ ।

‘१० वर्षसम्म विदेशमा बगाएको पसिना यही माटोमा बगाएको भए राम्रै आम्दानी हुने थियो’, बरालले भने, ‘तीन वर्ष मलेसिया र सात वर्ष साउदी बसेर पसिना बगाइयो, गाउँमै श्रम गर्ने सोचेर फर्के’, अन्नपूर्णसँग उनले भने,‘मेहनत गरे कृषिमै पैसा छ, टिप्न मात्र नजानेको हो ।’ उनले बिदेसिएर दुःख नपाउन युवालाई सुझाव दिए । उनीहरूले दुईवटा प्लास्टिकका ग्रिन हाउसमा टमाटर उत्पादन थालेका छन् । टमाटरसहित रायो, धनिया, मुला, गाजरजस्ता तरकारी पनि सँगै उत्पादन गरेका छन् ।

अर्का युवा चेतबहादुर आलेले विदेशको दुःख र श्रम यही गरे पैसा कमाउन विदेशै जान नपर्ने बताए । ‘हामी अहिले तरकारीसहित सामूहिक बंगुर पाल्ने योजनामा छौं’, चेतबहादुरले भने, ‘व्यावसायिक बन्ने हो भने कृषिमा निकै सम्भावना छ ।’ उनीहरूले तरकारी उत्पादनपछि बोकेर मानेभञ्ज्याङ र केत्तुकेसम्म लगेर बेच्छन् । अहिले गाउँपालिकाको पशु शाखाबाट ४० वटा बंगुरका पाठा पाएपछि उनीहरू उत्साहित छन् । भविष्यमा सिम्पानी गाउँलाई तरकारीको पकेट क्षेत्र बनाउन एकजुट भएको उनीहरूले बताए ।

उनीहरूको अभियानमा वडा कार्यालय र संघसंस्थाले पनि साथ दिएका छन् । दुई लाख रुपैयाँमा थालेको सामूहिक अभियानमा ५० हजार अनुदान दिएको छ । प्रयास नेपाल नामक संस्थाले तीनवटा थोपा सिँचाइ सेट र टनेल सहयोग गरेको छ । पाँच युवाको सामूहिक खेती देखेर छिमेकीले पनि तरकारी खेती थालेको स्थानीय दिपक मगरले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.