विश्वकपः शक्ति, सत्ता र सन्दर्भका किस्सा !
सन् १९६० ताका बेलायतको उपनिवेशबाट मुक्त भएसँगै अफ्रिकी देशहरू धमाधम आफूलाई स्वतन्त्र घोषणा गर्दै थिए। यसैअन्तर्गत नाइजेरियाको पूर्वी सीमा जोडिएको बियाफ्राले आफू पनि स्वतन्त्र भएको घोषणा गर्यो। पेट्रोलबाट सुसज्जित देशले आफूखुसी स्वतन्त्र घोषणा गर्नु पक्कै पनि नाइजेरियाका लागि रुचिकर हुने विषय भएन। त्यसैले उसले १९६७ मा बियाफ्राविरुद्ध युद्ध घोषणा गर्यो।
‘बियाफ्रा युद्ध’को नामले कुख्यात यस गृहयुद्धमा भोकमरीका कारण २० लाख बढी मानिसले ज्यान गुमाए। युद्ध करिब अढाई वर्ष लम्बियो। यही युद्धसँग फुटबलको एउटा रोचक प्रसंग जोडिएको छ, जुन यो खेलको विश्वव्यापी लोकप्रियतालाई दर्शाउन पर्याप्त मानिन्छ। युद्धग्रस्त नाइजेरियामा १९६९ ताका दुई मैत्रीपूर्ण खेल खेल्न ब्राजिली फुटबलका महान् हस्ती पेले आफ्नो सदाबहार क्लब सान्तोस टिमसँगै भ्रमणमा निस्किएका थिए।
उनको फुटबलको जादु हेर्न नाइजेरियालीहरू यतिसम्म पागल देखिए, उनीहरूले आफ्नो घरमा भइरहेको युद्ध नै बिर्सिए। अझ कति मानिसहरू आफ्नो टाउकोमा कुर्सी बोकेर फुटबल मैदान पुगेका थिए। विश्लेषकहरू अहिले पनि यो घटनालाई युद्धमाथि फुटबलको जितको रूपमा अथ्र्याउने गर्छन्।
सानोमा बल किन्न अरूको जुत्ता पालिस गर्दै हिँडेका पेलेसँग यस्ता अनगिन्ती घटना जोडिएका छन्; जसले फुटबलको विश्वव्यापी राजनीति, अर्थनीति, समाजशास्त्र र साहित्यलाई परिभाषित गर्न धेरै अर्थमा मद्दत पुर्याउने गरेको छ।
फुटबल खेलाडीका रूपमा स्थापित हुनुअघि किशोर अवस्थामा पेलेको एक गोरी युवतीसँग खुब हिमचिम थियो। युवतीको बुवाले अश्वेत जातिका पेलेसँग प्रेम गरेको पत्तो पाएपछि छोरीलाई समाजको अगाडि उभ्याएर पिटे। यो घटनाका कारण पेलेको पहिलो प्रेमसम्बन्ध त्यहीँ समाप्त भयो।
पछि आफ्नो अद्वितीय खेल शैलीले ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेले श्वेत युवती रोजमेरीसँग विवाह गरे। एउटा सामान्य मजदुरको घरमा जन्मिएका पेले फुटबलको मणि अर्थात् ‘ब्ल्याक पर्ल’मा रुपान्तरण भएपछि समाजमा विद्यमान थुप्रै आडम्बर तोडियो। बेलायती महारानी एलिजाबेथ द्वितीयले १९६८ मा आफ्नो ‘मर्यादा बिर्सिएर’ पेलेसँग हात मिलाएको घटनाले विश्वजगत् नै तरंगित भयो। यस्तै १९७२ मा इरानी राजा रेजा पहल्वी पेलेसँग हात मिलाउन तीन घन्टा आफ्नै देशको विमानस्थल तेहरानमा कुरेर बसेको घटनाले उपल्लो वर्गको मस्तिष्क नै हल्लियो।
सन् १९९४ मा कोलम्बियाली टिम अमेरिकामा विश्वकप खेल्न उत्रिँदा मार्खेजले आफ्नो देशले विश्वकप जित्ने भविष्यवाणी गर्दै ‘मर्सिडिज बेन्ज’ बाजी थापेका थिए।
सन् १९८२ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनसँग पेलेको पहिलो जम्काभेट धेरै अर्थमा रोचक र महत्वपूर्ण मानिन्छ। रोज गार्डेनको एउटा सभा हलमा पेलेलाई भेटेका अमेरिकी राष्ट्रपतिले आफ्नो परिचय दिँदै भनेका थिए, ‘मेरो नाम रोनाल्ड रेगन हो। म अमेरिकी राष्ट्रपति हुँ। तर, तपार्इंले आफ्नो परिचय दिइराख्नु पर्दैन किनभने सबैलाई थाहा छ, को हुन् पेले भनेर।’
अमेरिकी पूर्वराष्ट्रपतिको यो संवाद अन्तर्राष्ट्रिय जगत्मा फुटबल खेलाडीको प्रतिष्ठा बुझ्न पक्कै सहज होला। सन् १९९४ को विश्वकपमा अर्जेन्टिनी फुटबलका जादुगर डिएगो म्याराडोनासँग पनि यस्तै एउटा घटना जोडिएको छ। उनलाई शक्तिवद्र्धक औषधि ‘इफिड्रिन’ प्रयोग गरेको आरोपमा फिफाले १८ महिना फुटबल खेल्न प्रतिबन्ध लगायो। तर, यसको सबैभन्दा चर्को विरोध हाम्रो छिमेकी देश बंगलादेशमा भयो। बंगाली दर्शकले म्याराडोनालाई विश्वकप खेल्न दिनुपर्ने मागसहित राजधानी ढाकाको अमेरिकी दूतावासअगाडि दुई दिन नारा–जुलुससहित धर्ना दिए। सन् १९९४ को विश्वकप अमेरिकामा हुँदै थियो। स्थिति तनावतर्फ धकेलिएपछि स्थानीय सरकारले धर्नामा बसेका फुटबल समर्थकमाथि हस्तक्षेप गर्यो।
अर्जेन्टिनी फुटबलसँग कुनै नाता नभएको र १९७० मा कूटनीतिक सम्बन्ध मात्र गाँसेको देशको खेलाडीलाई लिएर ढाकामा भएको विशाल प्रदर्शन वास्तवमै अचम्म पार्ने खालको थियो। यो घटनाले फुटबलको भूमण्डलीकरण र खेलाडीको लोकप्रियता कुन दिशातर्फ अग्रसर भइरहेको छ, त्यो बुझ्न पर्याप्त थियो।
अहिले फुटबलको महाकुम्भ विश्वकपको २१औं संस्करण रुसमा भइरहेको छ। यसमा ३२ राष्ट्रका सात सय ३६ खेलाडी सहभागी छन्। र, अमेरिकी पूर्वराष्ट्रपति रेगनले भनेजस्तै प्रायः यी सबै खेलाडी आफ्नो विशेष खेलशैलीका कारण चर्चामा छन्। उनीहरूलाई छुट्टै परिचयको आवश्यकता छैन। ६ महादेशका तीन अर्ब २० करोड व्यक्ति प्रत्यक्ष वा काँचको सहयोगले महिनाभरि उनीहरूलाई पछ्याउन लालायित छन्।
सन् २००७ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आफूसँग आबद्ध दुई सय सात राष्ट्रमा गरेको सर्वेक्षणअनुसार २६ करोड ५० लाख व्यक्ति फुटबल खेल्छन्। यसको सोझो अर्थ हो, विश्वको चार प्रतिशत जनसंख्या फुटबल खेलाडीले ओगटेको छ।
फिफाले एउटा विश्वकपदेखि अर्को विश्वकपसम्म चार वर्षको समयलाई एक कार्यकाल मान्दै बजेट विनियोजन गर्छ। यसैअन्तर्गत उसले २०१५–१८ को बीच पाँच अर्ब ५५ करोड ६० लाख अमेरिकी डलर बराबरको बजेट प्रक्षेपण गरेको थियो। फिफाले अनुमानित गरेको बजेट विश्वकप सुरु हुनुअगाडि नै ९८ प्रतिशत उठिसकेको छ। र, यो विश्वकपबाट उसले थप ६ अर्ब डलर आम्दानी गर्ने आशा राखेको छ।
फुटबलको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ सन् १९०४ मा फ्रेन्च पत्रकार रोबर्ट गुइरिनको अध्यक्षतामा फिफाको स्थापना भएको थियो। अहिले फुटबलको विश्वव्यापी लोकप्रियताका कारण फिफा यति बेला संयुक्त राष्ट्रसंघ (यूएन) भन्दा प्रभावशाली बन्न पुगेको छ। फुटबलकै कारण फिफाले आफ्नो प्रभाव ६ महादेशका दुई सय ११ राष्ट्रमा स्थापित गरिसकेको छ।
सन् १९१८ मा पहिलो विश्वयुद्ध समाप्त भएपछि त्यति बेलाको सर्वशक्तिशाली बेलायती शासक आफूसँग युद्धमा पराजित जर्मनीलगायत ऊसँग आबद्धमध्ये युरोपेली देशलाई फुटबल खेल्नबाट वञ्चित गराउन चाहन्थ्यो। तर, १९२१ देखि फिफाको अध्यक्ष नियुक्त भएका जुलेस रिमेले बेलायती अपिल ठाडै अस्वीकार गरे। उनको भनाइ नै थियो, ‘फुटबल आफैंमा युद्धको विकल्प हो।’ रिमेको अडानपछि बेलायतले फिफाबाट बाहिरिने निर्णय गर्यो।
पेलेको फुटबलको जादु हेर्न नाइजेरियालीहरू गृहयुद्धलाई समेत बेवास्ता गरी टाउकोमा कुर्सी बोकेर फुटबल मैदान पुगेका थिए। विश्लेषकहरू अहिले पनि यो घटनालाई युद्धमाथि फुटबलको जितका रूपमा अर्थ्याउने गर्छन्।
राजनीतिक रूपमा रुससँग पछिल्लो समय चलिरहेको खटपटका कारण बेलायतले गत वर्ष पनि फिफालाई यस्तै धम्की दिएको थियो— विश्वकप आयोजना रुसबाट अन्यत्र नसारे प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने।
तर, यति बेला बेलायत आफैं लत्रिएको छ। यसको कारण स्पष्ट छ— पछिल्लो समय फुटबलको बढ्दो आयतन र अर्थतन्त्र। यो सिजन मात्र बेलायतले प्रिमियर लिगबाट ६ अर्ब ३३ करोड पाउन्ड आम्दानी गरेको थियो। अहिले बेलायती सरकार फिफासँग झगडामा उत्रिनु भनेको उसले आगामी सिजनदेखि फुटबलबाट हुने अर्बौं कमाइबाट हात धुनु हो। विश्व फुटबलमा सबैभन्दा महँगो क्लब म्यानचेस्टर युनाइटेड बेलायतमै छ। क्लबको ‘ब्रान्ड भ्याल्यु’ चार अर्ब डलर नाघिसकेको फोब्र्स पत्रिकाले हालै उल्लेख गरेको छ। म्यानचेस्टरले जर्सीलगायत आफ्नो उत्पादन विश्व बजारमा बेचेर गत सिजन ९६ करोड अमेरिकी डलर आम्दानी गरेको थियो।
इङ्लिस क्लब मात्र होइन, युरोपका अन्य क्लबले पनि फुटबलको विश्वव्यापी प्रभावबाट मनग्गे आम्दानी गर्ने गरेका छन्। युरोपेली फुटबलमा महत्वपूर्ण मानिने पाँचवटा लिग इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मनी बुन्डेसलिगा, इटालीको सिरिया ‘ए’ र फ्रान्सको फ्रेन्च लिग–१ ले यो सिजन १५ अर्ब युरो आम्दानी गरेका थिए। सन् २०१६ मा भएको एक सर्वेक्षणअनुसार युरोपेली फुटबलको मार्केट २४ अर्ब ६० करोड अमेरिकी डलर बराबर छ र यो अझै बढ्ने क्रममा छ।
फुटबलकै कारण दक्षिण अमेरिकी राष्ट्रको अवस्था दिनहुँ सुदृढ हुँदै गइरहेको अर्को सर्वेक्षणले बताएको छ। जसरी नेपालले वैदेशिक रोजगारीबाट सात दशमलव ९५ बिलियन डलर देशमा भिœयाउने गरेको छ, त्यसैगरी ब्राजिल, अर्जेन्टिनालगायत देशका खेलाडीले युरोप, अमेरिका र एसियामा बसेर व्यावसायिक फुटबल खेलेबापत देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन्।
सन् २०१७ मा फिफाले सार्वजनिक गरेको रिपोर्टअनुसार ब्राजिलले ‘ट्रान्सफर मार्केट’बाट मात्र ३० करोड अमेरिकी डलर आम्दानी गरेको थियो। यस देशका १२ सय दुई खेलाडी ९३ देशको एक सय ३७ लिगमा छरिएर व्यावसायिक फुटबल खेलिरहेका छन्। यिनीहरूले पठाउने रेमिट्यान्सको हिसाब गर्ने हो भने यो संख्या खर्बमा पुग्ने अनुमान गर्न सकिन्छ। सन् २०१० मा बीबीसीले सार्वजनिक गरेको एउटा रिपोर्टमा ब्राजिलले बन्दुक निर्यातबाट गर्ने आम्दानीभन्दा बढी खेलाडीबाट गरेको थियो।
ब्राजिली स्टार नेइमार विश्व फुटबलको सबैभन्दा महँगो रकममा क्लब परिवर्तन गर्ने खेलाडी हुन्। उनका लागि गत वर्ष फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले २२ करोड युरो खर्चेको थियो। ब्राजिलकै फिलिप काउटिन्हो सिजनको दोस्रो महँगो खेलाडीका रूपमा बार्सिलोनामा अनुबन्धित भएका थिए। उनलाई यसै वर्ष इङ्लिस क्लब लिभरपुलबाट अनुबन्धित गर्न बार्सिलोनाले १० करोड युरो खर्चिएको थियो।
अर्जेन्टिनाले पनि गत वर्ष ‘ट्रान्सफर मार्केट’बाट २० करोड अमेरिकी डलर आम्दानी गरेको फिफाले जनाएको छ। सात सय ५३ अर्जेन्टिनी खेलाडी हाल विश्वका विभिन्न ठाउँमा छरिएर व्यावसायिक फुटबल खेलिरहेका छन्। बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार लिओनल मेसी फोब्र्सको सूचीमा यो वर्ष सबैभन्दा बढी आम्दानी गर्ने फुटबल खेलाडी हुन्। उनको यस वर्षको आम्दानी ११ करोड डलर छ। सन् २०१६ देखि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा अटाउन नसकेका अर्का स्ट्राइकर कार्लोस टेभेज हाल चीनको सांघाई सेनहुवा क्लबमा आबद्ध भएर व्यावसायिक फुटबल खेलिरहेका छन्।
सन् २००१ मा वल्र्ड ट्रेड अर्गनाइजेसन (डब्ल्यूटीओ) को सदस्य भएपछि चीनले युरोपेली फुटबल बजारलाई आफूतर्फ आकर्षित गर्न आक्रामक नीति अख्तियार गरेको छ। यसैअन्तर्गत उसले आफ्नो देशको फुटबल लिगमा युरोपेली फुटबलका चर्चित अनुहारलाई महँगो मूल्यमा भिœयाउने अभियान थालिसकेको छ। यसैअन्तर्गत गत वर्षको सुरुमा उसले टेभेजका लागि ३७ करोड अमेरिकी डलर र ब्राजिली ओस्कारका लागि २४ करोड डलर खर्चेको थियो।
फुटबलको यही अंकगणितलाई बुझेको अमेरिका फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरको पालामा रुसको विश्वकप आयोजनालाई लिएर जति उग्र देखिएको थियो, अहिले सेलाएको छ। अझ दुई वर्षअघि मेक्सिको बोर्डरमा पर्खाल लगाउने हावादारी गफ गर्दै अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेका डोनाल्ड ट्रम्प २०२६ मा मेक्सिकोसँगै २३औं संस्करणको विश्वकप आयोजनाको अवसर पाउँदा दंग छन्।
सन् १९९४ को विश्वकप पहिलोपल्ट अमेरिकाले आयोजना गर्दा कन्जर्भेटिभ पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार ज्याक केम्पले यसको विरोध गर्दै भनेका थिए, ‘विश्वकप अमेरिकाले गर्नु हुँदैन। यो युरोपेलीहरूको खेल हो र समाजवादीले मात्र खेल्छन्।’
खासमा यो उनले विश्वचर्चित लेखक गाब्रियल गार्सिया मार्खेजलाई पढेर भनेको हुनुपर्छ। सन् १९८२ मा साहित्यतर्फ नोबेल पुरस्कार पाएका मार्खेज कुनै बेला अमेरिकाको नम्बर एक दुस्मन क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका निकै नजिकका साथी थिए। ‘गाबो’ उपनामले विश्व साहित्यमा चर्चित उनी फुटबलका यस्ता पारखी थिए, थुप्रैपल्ट उनले कोलम्बियाली टिमका लागि बाजी लगाए।
सन् १९५० मा आफूले समर्थन गरेको कोलम्बियाको जुनियर डे बारनक्युलाले विश्व फुटबलका नामुद खेलाडी अर्जेन्टिनाका अल्फ्रेडो डी स्टेफानो सम्मिलित मिलेनोरिजलाई २–१ ले पराजित गरेपछि गाबोले स्थानीय एक पत्रिका ‘अल हेराल्डो’मा ‘दी ओथ’ शीर्षकमा लेख नै प्रकाशित गरे। आफ्नो विशिष्ट लेखनशैली ‘जादुमय यथार्थवाद’को प्रयोगमार्फत फुटबल मैदानमा आफूले गुमाएको चेत र फुटबलको कट्टर समर्थक बनेको कहानीलाई उनले रोचक ढंगले प्रस्तुत गरेका छन्।
सन् १९९४ मा कोलम्बियाली टिम अमेरिकामा विश्वकप खेल्न उत्रिँदा मार्खेजले आफ्नो देशले विश्वकप जित्ने भविष्यवाणी गर्दै ‘मर्सिडिज बेन्ज’ बाजी थापेका थिए। विश्वकप छनोटमा अर्जेन्टिनालाई उसैको सहर ब्युनोस आयर्समा कोलम्बियाले ५–० ले पराजित गरेको घटना र चोटबाट टोलीमा फर्किएका स्टार खेलाडी कार्लोस भाल्डेरामाका कारण मार्खेज त्यति बेला निकै उत्साही थिए।
तर, समूह चरणको एक खेल पनि जित्न नसकेको कोलम्बिया समूह चरणबाटै बाहिरियो। अझ, अमेरिकी पुँजीवादको खोइरो खनिरहेको कोलम्बिया उही टिमसँग दोस्रो खेलमा डिफेन्डर आन्द्रेस स्कोबारको आत्मघाती गोलका कारण २–१ गोलले पराजित भयो। विश्वकपको अप्रत्याशित बहिर्गमनपछि घर फर्किएको पाँच दिनभित्र मेडलिन सहरमा ६ गोली हानी स्कोबारको हत्या भयो। यति बेला मार्खेज निःशब्द भए।
मार्खेजको निधन उनलाई शरणार्थीका रूपमा स्वीकार गरेको मेक्सिको सहरमा सन् २०१४ मा भयो। यति बेला फुटबल जगत्ले एक सच्चा हितैषी गुमाएको भन्दै उनलाई भावपूर्ण श्रद्धाञ्जलि दियो। फिफाले उनको निधन हुनुअघि नै सन् २०११ मा उनको सम्मानमा ‘गोल्टी माकुन्डो’ नामको विशिष्ट बल नै डिजाइन गर्न लगाएको थियो। यही बलले कोलम्बियाले सन् २०१४ को विश्वकपका लागि २०११ मा आफ्नै देशमा छनोट खेल खेलेको थियो। मार्खेजले नोबल पुरस्कार पाएको उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिटियुड’लाई झल्काउने किसिमले तयार पारिएको उक्त बल २०१३ सम्म प्रयोगमा ल्याइएको थियो।
सन् १९५० मा जुनियर डे बारनक्युला र मिलेनोरिजको खेल हेरेर फुटबलको कट्टर समर्थक बनेका मार्खेज भन्ने गर्थे, ‘मिलेनोरिजलाई पराजित गर्न बारनक्युलाका ब्राजिलियन प्रशिक्षक हेलेनो डा फ्रेइट्सले जुन किसिमको जाल बुने र योजना बनाए, यसले उनीसँग जासुसी किताब लेख्ने यथेष्ट गुण रहेको प्रमाणित गर्छ।’