मुक्तकिलो दह : देवदह

मुक्तकिलो दह : देवदह

जो बस्छ त्यही उठ्छ, मैले देखेको

जो जुट्छ त्यही फुट्छ, मैले देखेको

अपराधी र निर्दाेष एकसाथ पक्राउ पर्छन्–                    

अपराधी पहिला छुट्छ, मैले देखेको।

               – सञ्जीव पौडेल

नेपाली साहित्यमा अत्यन्त चोटिलो र पोटिलो विधाको रूपमा लोकप्रियता पाउँदै आएको छ मुक्तकले। नेपाली मुक्तककले ६ दशकको दर्विलो यात्रा तय गरिसकेको छ।

नेपाली मुक्तकलाई आजको उचाइ र लोकप्रियता दिनमा भीमदर्शन रोक्का, टेकबहादुर नवीन, कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, भूपि शेरचन, हरिभक्त कटुवाल, यादव खरेल, मोहनहिमांशु थापा, अशेष मल्ल, सरुभक्त, उषा शेरचन आदिको विशिष्ट योगदान छ। उतिवेला कविता सुनाउनुअघि आफ्नो माहोल जमाउन छोटा टुक्रे कवितालाई मुक्तक भनेर सुनाउने ‘फोसा’मा गरिन्थ्यो। तर अहिले चतुष्पदीय शैलीशिल्पका मुक्तक नै सुनाउन भनेर मुक्तक मेला र मुक्तक उत्सव हुन थालेका छन्।

तीसको दशकमा पोख्रेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक सुनायो। त्यहीँदेखि नेपाली मुक्तकले उभार पायो र अहिले नेपालीले पाइला टेकेको ठाउँ जताततै लोकप्रियता पायो। त्यसो त अहिले नेपाली मुक्तकको उन्नयनका लागि प्रतिष्ठान र विधागत विभिन्न संस्थाहरू पनि खुलिसकेका छन्।

मुक्तक मेरो आफ्नु पनि प्रिय विधा भएकोले डेढ दशक अघिदेखि रेडियो नेपालबाट मुक्तकप्रधान कार्यक्रम विम्बप्रतिविम्बमा आवाज दिँदै आएँ। रेडियो सुनेकै भरमा मुक्तकको शैलीशिल्प बुझेर मुक्तक कृति निकाल्ने दर्जनौ नामहरू मनभरि छन्। युगीन साहित्य समाजले परारैदेखि निम्ता पठायो। पोहोर पनि अनुकूल भएन। खामबन्दी अक्षरमा भेटिएका सिर्जनशील नामहरू भेट्दाको अनुभूति बिल्कुलै पृथक् हुन्छ। यसपालि भने युगीनको प्रतीक चिन्ह अंकित टिसर्ट लाएका त्यस्तै मुक्तकिला नामहरू लहरै भेटिए रूपन्देहीको देवदह मञ्चमा। जेठको तेस्रो साता समाजले देशका विभिन्न प्रदेशका २ दर्जन स्रष्टाहरूलाई भेला पारेर मुक्तक उत्सव नै मनायो। उत्सवमा मुक्तकवाचन गर्ने कविहरूका मुक्तक पहिले नै मागिएको रहेछ। कारण, रचनाको स्तरीयता, वाचन र प्रस्तुति कलाको विशिष्टीकरण।

युगीनको तेस्रो मुक्तक उत्सवमा जाजरकोटदेखि पूर्ण समीर महतरा आइपुगेका थिए भने पोखराबाट गौरी तमु र सञ्जीव पौडेल, हेटौंडाबाट सत्यम्, तनहुँबाट विजय रानाभाट, धादिङबाट विमला दाहाल र प्रशान्त प्रदीप खतिवडा, दाङबाट अभि क्षेत्री समर्पण, रूपन्देहीबाट रमेश समर्थन, देवदहबाट निर्मल ढुंगाना, कपिलवस्तुबाट प्रकाश पाठक, नवलपुरबाट आदर्श सुशील र देवदहबाट प्रमोद खनाल सहभागी थिए। दशकौंदेखि मुक्तककै मलजल गरिरहेका मुक्तककार बिस्नुप्रवा सापकोटा भने विदेश भ्रमणको कारण छुटे। दंगाली अभिले सुनाएः

मलाई यो सहर र सडक पेटी उस्तै उस्तै लाग्छ।

भिक्षा होस् या मन्दिरको भेटी उस्तै उस्तै लाग्छ।

बसाएको ठाउँबाट कुन बेला निकाल्छन् पत्तै हुँदैन –

अचेलका केटी अनि घरभेटी उस्तै उस्तै लाग्छ।

देवदहको मुक्तक उत्सवमा सहभागी मुक्तककारहरूले पहिलो चरणमा विभिन्न भाव र विषयका पाँच÷पाँच वटा र दोस्रो चरणमा पाँच÷पाँच वटा मुक्तक सुनाए। सहयोगस्वरूप टिकट काटेर मुक्तक सुन्न आउने चार सयको हाराहारीमा थिए। काठमाडौंका कतिपय यस्ता समारोहमा निम्ता हातैमा थमाए पनि उपस्थिति भने न्यून नै देखिन्छ। आदिदेखि अन्त्यसम्म आउनेको पनि धैर्य देखिँदैँन। यो पीडाबाट भने देवदह मुक्त रहेछ। वाचनको बीच–बीचमा कलाकारहरूले स्थानीय मौलिक नृत्य प्रस्तुत गर्नुले उत्सवको रौनकता बढाएको थियो। विमला दाहालको मुक्तकमा प्रश्न थियोः

बरालिँदै हिडेर रोजगारी कहाँ पाइन्छ ?

कलियुगमा सभ्य नारी कहाँ पाइन्छ ?

छोरी छे भनेर गर्भपतन गर्नेहरू भन्नुस्

आफ्नो घरको लागि बुहारी कहाँ पाइन्छ ?

धेरै पृष्ठमा व्याख्यानसहित भनिरहेको कुरा र मात्र चार पंक्तिको मुक्तकले दिने सन्देश एउटै हो। त्यसैले भनिन्छ, मुक्तक गागरमा सागर अटाउने विधा हो। पहिलो, दोस्रो र चौथो अन्त्यानुप्रास, तेस्रो स्वच्छन्द पंक्तिको शैलीशिल्प नै अहिलेको मुक्तकको ‘मानक’ हो। अब मुक्तक यस्तो र उस्तो हुन्छ भनेर भनिरहनु पर्दैन। अहिलेको पुस्ता विधागत जानकारीसहित प्रतिबद्ध रूपमा साधनारत छ।

मुक्तकले भन्नुपर्ने कुरा घुमाएर भने पनि दिनुपर्ने सन्देश निकै चोटिलो र धारिलो हुन्छ। कवि, लेखकहरू समयभन्दा पर रहन रक्तैनन्। उनीहरूले लेख्ने भनेकै जिन्दगी र समय हो। मुक्तकको विशिष्ट कला भनेको व्यंग्यबाण हान्नु नै हो। रमेश समर्थन मुक्तकमा यसरी गुञ्जिएः

प्रेमिका प्रेमी भेट्न जान्छिन् सिन्दूर पोते चुरा राखेर

परीक्षार्थी परीक्षा दिन जान्छन् बगलीमा छुरा राखेर

पारस्परिक मित्रताको यस्तो उदाहरण खोज्नु पर्दैन–

पिता–पुत्रको वार्ता चल्छ यहाँ गिलासमा सुरा राखेर।

लेखनको सबैभन्दा बढी विषय जन–जिन्दगीको नै हुनेगर्छ। जिन्दगीको अर्को नाम संघर्ष पनि हो। अहिले मुक्तककारहरू लेखनको नाममा राष्ट्रिय चिन्तन र समाजोपयोगी कुरा लेख्नु पर्छ भन्ने कुरामा सचेत छन्।

के जात के धर्म यो माटोले भन्दैन

को आफ्नो को पराई यो बाटोले भन्दैन

जात, धर्म सीमामा बाँड्ने सबै मान्छे नै हुन्

छूत, अछूत् भोको पेटमा आँटोले भन्दैन।

                                   – गौरी तमु

नेपालीको भान्छामा चुलो बलेको छ बाहिरबाटै

उँचो हाम्रो स्वाभिमान पनि ढलेको छ बाहिरबाटै

नेताहरू लम्पसार छन्, जनताले दुःख झेल्छन

शासन सत्ता अनि सरकार चलेको छ बाहिरबाटै।

                             – निर्मल ढुंगाना

संसारकै साहित्यमा सबैभन्दा बढी माया–प्रेम नै लेखियो होला। भनिन्छ– मायाको उपचार, माया गर्नुबाहेक अरू केही हुँदैन ! प्रणय, नारी संवेदना र नियतिमा पनि जेलिएको हुन्छ।

हेटौंडा मुक्तककार सत्यम्ले प्रेमिकालाई यसरी सम्झिएः

जब रात पर्छ मलाई सम्झिनु

जब वर्षात् पर्छ मलाई सम्झिनु

कहिल्यै पनि दुख्न दिन्न भन्या थेँ’ नि मैले

जब आघात पर्छ मलाई सम्झिनु।

उता विजय रानाभाट आफ्नी स्वार्थी प्रेमिकालाई यसरी दुत्कार्दै थिएः

बहिनी बिर्सिएर मामा बिर्सिएर

कतिसम्म गरौं मैले धामा बिर्सिएर

माफ गर तिमीलाई माया गर्न सक्दिनँ म

जन्म दिने आफ्नै बाउ आमा बिर्सिएर।

पूर्ण समीर महतरा बाँचुञ्जेलको परिभाषा मुक्तकमा यसरी उतार्दै थिएः

आफन्त चाहिन्छ, दुस्मन चाहिन्छ बाँचुञ्जेल

आकाश चाहिन्छ, बन्धन चाहिन्छ बाँचुञ्जेल

आऊ पखालौं, हाम्रा दिव्य दोषहरू

यौटा न यौटा चलन चाहिन्छ बाँचुञ्जेल।

उद्धरण गरिएका यी मुक्तक मैले सुनुञ्जेल टिप्न भ्याएका मुक्तक मात्र हुन्। यीभन्दा बान्किला मुक्तक थुप्रै सुनिए। हरफै पिच्छे तालीको पर्रा छुट्नु उत्सवको विशेषता नै रह्यो। हरफमा पढिरहेका मुक्तकिला मनहरूको मुक्तक सुनेर मायाको चिनु बाँड्न पाउनु मेरो मुक्तक मोहको प्राप्ती ठानेको छु। राजधानी बाहिरको साहित्यिक माहोललाई सायद मोफसल भन्छन् क्यार। मैले आजसम्म मोफसल भनेको छैन। आफ्नै थातथलोमा बसेर पनि सुन्दर सिर्जना गर्न सकिन्छ भन्ने विश्वासले नै सिर्जनाधाम भन्न मन लाग्छ।

युगीनका अध्यक्ष यज्ञप्रसाद न्यौपाने ‘दीपक’ले मञ्चबाटै उद्घोष गरे, ‘अब हामी देवदहलाई सिर्जनाधाम बनाउँछौं। बुद्धको मावली आउँदा देशका कवि, लेखकहरूलाई आवासगृहको साथमा पुस्तकालय पनि बनाउँछौं।’ उनको बोलीमा विश्वास भरिएको थियो। ५ नं. प्रदेशका उपस्थित सांसदहरू दीपकको होस्टेमा हैंसे थप्दै थिए। देशभरिका कवि, लेखकहरूलाई बोलाएर स्तरीय कार्यक्रम गर्न सहज पक्कै छैन। मेरो मुक्तकिलो यात्राभरिका सहयात्री कवि ऋषि बराल भन्दै थिए, ‘दाइ, मुक्तकको भविष्य निकै उज्यालो पो रहेछ, मुक्तक सुन्न त बाहिरै पो जानुपर्ने रै’छ।’

मनका बोझहरू हटाउन सके पो मुक्तक

चोटिलो चटनी चटाउन सके पो मुक्तक

कागजको खपत नगर्नु गन्थन लेखेर–

गागरमा सागर अटाउन सके पो मुक्तक !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.