ट्रम्प र सी : को बलियो ?

ट्रम्प र सी : को बलियो ?

विश्व राजनीतिको नेतृत्व गरिरहेको अमेरिका, केही वर्षदेखि हरतरहले आफ्नो क्षमतामा उत्साहजनक अभिवृद्धि गरिरहेको चीनप्रति निकै सशंकित देखिन्छ। एसिया, अफ्रिकामात्र हैन; अन्य महाद्वीपका देशहरूमा समेत चिनियाँ पहुँच जसरी विस्तार भइरहेको छ; त्यसको आधारमा चीनले आफूलाई कमजोर बनाउन सक्ने अमेरिकी चिन्ता अस्वाभाविक ठहर्दैन।

विश्वव्यापी रूपमा आफ्नो नेतृत्व स्थापित गर्ने ध्येय लिएका यी दुई देशमध्ये कसले लक्ष्य भेट्टाउँछ भन्ने कुरा नेतृत्वमा रहेका दुवै देशका राष्ट्रपतिमा निर्भर हुन्छ नै। तर, यी दुई राष्ट्रप्रमुखको चरित्र र विशेषतामा अतुलनीय फरकपना स्पष्ट देखिन्छ। पाँचवर्षे पहिलो कार्यकाल सकेर आजीवन सोही पदमा आसीन हुन पाउने खुकुलो वातावरणलाई अभूतपूर्ण किसिमले संसद्बाटै अनुमोदन गराएका छन्, चिनियाँ राष्ट्रपति सी जिनपिङले। उता कार्यकालको लगभग डेढ वर्ष व्यतीत गरेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले। यी दुवैबीच स्वभाव, व्यक्तित्व, कार्यशैली, अभिव्यक्ति लगायतका कुनै कुरामा पनि समानता देखिँदैन। अमेरिकाजस्तो समृद्ध र चेतनशील राष्ट्र हाँकिरहेका ट्रम्पको हल्का रूपमा प्रस्तुत हुने स्वभाव र विवादित अभिव्यक्ति देशभित्रमात्रै हैन, विश्वभर नै आलोचित छन्।

उनले ट्विट गरेका कुरामाथि सत्यताको अभाव हुने गरेको स्वयं अमेरिकीहरू नै बताउँछन्। दुई तिहाइ अमेरिकीले उनको ट्विटर प्रयोगको तरिकालाई विल्कुल मन नपराउने जनाइएको छ। एक सर्वेक्षणमार्फत वासिङ्टन पोस्ट्ले जुलाई २०१७ मा यो कुरा सार्वजनिक गरेको थियो। भाषण तथा वक्तव्यहरूमा झुटा कुरा बोल्ने आरोप उनले देशभित्रै मनग्य खेपिरहेको देखिन्छ। त्यस्तै अमेरिकासँग विवाद जोडिएका अन्य देशका प्रमुखहरूसँग पनि उनी अति सस्तो वाकयुद्धमा ओर्लिरहेका भेटिन्छन्। परमाणु अस्त्र विकासको विषयलाई लिएर केही महिनाअघि उत्तर कोरियासँग चलेको उनको केटाकेटी पाराको सवालजवाफ विश्वभर चर्चित रह्यो। भलै यस बीचमा सम्बन्धमा अचानक सुधार देखियो। नेता किमजोङ उनलाई ‘पागल’ र ‘आत्महत्या उन्मुख रकेटमान्छे’को नाम जुराउन ट्रम्प पछि परेका थिएनन्। अन्तर्राष्ट्रिय मामिलामा समेत देखिएको उनको हल्का प्रस्तुतिका कारण थोरै उपलब्धि तर धेरै विवाद निम्तिएको अमेरिकीहरूकै विश्लेषण छ। अन्तर्राष्ट्रिय मामिलालाई ह्यान्डिल गर्न ट्रम्पसँग केवल २२ प्रतिशतमात्र आत्मविश्वास रहेको छ, जब कि पूर्वराष्ट्रपति बाराक ओबामामा यस्तो आत्मविश्वास ६४ प्रतिशत रहेको मूल्यांकन अमेरिकीहरूको छ।

७२ वर्षको परिपक्व वयमा हिँडिरहे पनि उमेर र पद सुहाउँदो परिपक्वताको उनमा चरम अभाव देखिन्छ। मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने उनको धम्कीले उनलाई थप आलोचित बनायो। ट्रम्पको स्वभाव र अभिव्यक्तिजन्य उतारचढावलाई विश्लेषण गरेर डिमेन्सियाको कारण स्मरणशक्ति ह्रास भएको टिप्पणीसहितका केही पुस्तकहरूसमेत प्रकाशन भए। पत्रकार माइकल वोल्फको ‘फायर एन्ड फ्युरी : इन्साइड दी ट्रम्प ह्वाइट हाउस’, वन्डी एक्स ली को ‘दी डेन्जरस केस अफ डोनाल्ड ट्रम्प’ लगायतका पुस्तकमा उनको स्मरणशक्ति क्षय हँदै गएको उल्लेख छ।

राजनीतिमा आउनुभन्दा पहिला व्यवसायीको रूपमा आफूलाई राम्रोसँग स्थापित गरेका ट्रम्प सोही आधारमा धनाढ्यकै सूचीमा पर्छन्। मार्च २०१८ को फोर्ब्सको फिगरमा समेत उनी ३.१ बिलियन डलरसहित विश्वका सात सय छयसट्ठीऔं धनी व्यक्तिमा दरिएका छन्। यसबाहेक उनको रुचि र संलग्नता धेरैतिर छरिएको पाइन्छ। एक सफल व्यवसायीका साथै टेलिभिजन प्रस्तोताका रूपमा पनि उनले पहिचान बनाए। पुस्तक प्रकाशनदेखि सुन्दरी प्रतियोगिताको इभेन्ट व्यवस्थापन गर्ने काममा समेत उनले आफूलाई उतारे। त्यसबाहेक हास्यव्यंग्य, क्यारिकेचर, अभिनय लगायतमा पनि उनको विगत जोडिएको देखिन्छ। प्रभावशाली महिला प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई हराएका ट्रम्पले महिलाको सवालमाथि राम्रो काम गर्छन् भन्ने विश्वास स्वयं अमेरिकी महिलामा रहेको पाइँदैन। उनले राष्ट्रपतिको कार्यभार सम्हालेकै अर्को २१ जनवरी २०१७ मा महिला अधिकारलाई मानव अधिकारसँग जोड्दै अमेरिकालगायत विश्वभर भएका ऐतिहासिक महिला र्‍याली र विरोध प्रदर्शनले त्यही कुरा इंगित गर्छ। अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो एकदिने विरोध प्रदर्शन भनेर चिनिएको उक्त महिला र्‍यालीमा वासिङ्टनमा मात्रै करिब पाँच लाख र विश्वभर २६ लाखको सहभागिता रहेको आकलन थियो।

उता दिनप्रतिदिन अमेरिकाको निकटतम प्रतिद्वन्द्वीका रूपमा हेरिएको चीनका राष्ट्रपति सी जिनपिङको स्वभाव र चरित्र भने ट्रम्पभन्दा ठीक विपरीत देखिन्छ। अन्तरमुखी स्वभाव प्रतीत हुने उनको व्यक्तित्वमा बाहिरी शालीनता जति प्रस्ट देखिन्छ, भित्री चातुर्य पनि त्योभन्दा कम देखिन्न। उनले राष्ट्रलाई दिइरहेको कुशल नेतृत्व, जनमुखी कार्यक्रम तथा अन्य देशहरूसँग नवीन सम्बन्ध स्थापना गर्ने खुबी आदिमा उनको दिमागीय तीक्ष्णता झल्कन्छ। उनीभित्र रहेको यही खास व्यक्तित्व र फरक क्षमताले आठ करोड ९० लाख सदस्यता भएको विश्वकै ठूलो राजनीतिक दल चिनियाँ कम्युनिस्ट पार्टीलाई विवादरहित ढंगबाट अघि बढाउने नैतिक बल उनलाई मिलिरहेको छ। सन् २०१२ मा पार्टी प्रमुखका रूपमा महासचिव बनेका सी हाल देशका राष्ट्रपति, केन्द्रीय सैन्य आयोगका अध्यक्ष र सेनाका प्रधानसेनापतिलगायत सवै शीर्ष अधिकारबाट सम्पन्न छन्। उनको हातमा चुनौतीविहीन ढंगबाट हाल जे जति राज्यशक्ति र पद केन्द्रीकृत हुन पुगेको छ, यसभन्दा अघिका कुनै नेतालाई यो अवसर प्राप्त थिएन। गत अक्टुबरमा सम्पन्न पार्टीको १९औं महाधिवेशनले उनको सोचलाई सी जिनपिङ विचारधाराको रूपमा पार्टीको विधानमा राख्ने निर्णय गरेबाट उनी नयाँ विचार प्रवर्तकको रूपमा समेत दरिएका छन्। भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना, प्रविधि विकास, अन्य मुलुकहरूसँग सुदृढ सम्बन्ध स्थापना आदि कदम चालेका सीप्रति चिनियाँ जनताको भरपूर साथ छ र यही नेतृत्वले थप प्रगति गर्न सक्छ भन्ने विश्वास पनि चिनियाँहरूभित्र उत्तिकै सबल देखिन्छ।

फोर्ब्सले केहीअघि सार्वजनिक गरेको सर्वेक्षणले सीलाई विश्वभरका शक्तिशाली व्यक्तिमध्ये पहिलो स्थान दिलायो, जब कि अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो स्थानमा आइपुगेका छन्।

गत मार्चमा बसेको चिनियाँ संसद्मा राष्ट्रपतिको दोस्रो पाँचवर्षे कार्यकालका लागि भएको निर्वाचनमा विपक्षमा खसेको एक मतविरुद्ध दुई हजार नौ सय ६९ मतसहित सीले लगभग सर्वसम्मत विजय प्राप्त गरे। त्यसअघि नै संसद्ले राष्ट्रपति पदावधिसम्बन्धी दुई कार्यकालको १० वर्षे सीमा हटाउने विषयलाई पारित गरेकाले सीलाई आजीवन सत्तामा रहनसक्ने ढोका पनि खोलिदिएको छ। क्रान्ति सम्पन्न भएको ६८ वर्षमा ठूलो गुणात्मक फड्को मारेको चीनको पछिल्लो प्रगतिलाई सीको उल्लेखनीय देनको रूपमा चिनियाँ जनताले बुझ्ने गरेका छन्। सन् १९४९ सम्म चरम भोकमरीग्रस्त मुलुकको रूपमा रहेको चीन अहिले विश्वको दोस्रो आर्थिक महाशक्तिका रूपमा रुपान्तरित भइसकेको छ। विश्वको आर्थिक वृद्धिदर सरदर २.५ प्रतिशत र विकासशील मुलुकको सरदर चार प्रतिशत रहेको परिप्रेक्ष्यमा चीनको वृद्धिदर औसत ७.२ प्रतिशत पुग्नुलाई सीको प्रभावकारी नेतृत्वसँग जोड्ने गरिएको छ। यही गति कायम राख्न सके लगभग एक दशकभित्रै चीन अमेरिकालाई उछिनेर विश्वकै पहिलो आर्थिक महाशक्ति बन्ने चिनियाँ लालसाले राष्ट्रप्रमुखका रूपमा सीकै निरन्तरताको पक्षपोषण गरेको स्पष्ट बुझिन्छ। सन् १९११ सम्म अमेरिकाको १५.९ प्रतिशतकै हाराहारीको १३.४ प्रतिशत चिनियाँ जनता गरिबीको रेखामुनि रहेका थिए। तर, २०१६ मा चीनले उक्त प्रतिशतलाई ३.३ मा झारिसक्दा अमेरिकामा भने १२.७ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाउँछ।

आफूलाई विश्व शक्तिमा उभ्याउन चीनले १५ सयभन्दा बढी सुधारका अभियान सीकै योजनाबमोजिम सुरु गरेको चिनियाँ अधिकारीहरू सगर्व बताउँछन्। त्यस्तै सीकै परिकल्पनामा नौ सय अर्ब डलरको विश्वकै सबैभन्दा महŒवाकांक्षी अन्तरमहादेशीय योजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) चीनले अगाडि बढाइरहेको छ, जसमा विश्वभरका करिब ६४ प्रतिशत जनसंख्यालाई समेट्ने चीनको लक्ष्य छ। भ्रष्टाचार र गरिबी न्यूनीकरण, जनताको आय वृद्धि, दृढ र एकताबद्ध चीन आदिको श्रेय सीलाई प्राप्त छ। साथै चीनको अन्य मुलुकतर्फको प्रभाव विस्तार, सुमधुर सम्बन्धलगायत सीका अन्य सकारात्मक भूमिकाप्रति चिनियाँ जनता उत्तिकै नतमस्तक देखिन्छन्। सीले नेतृत्व सम्हालेयता विश्वको अर्थतन्त्रमा चीनले ३० प्रतिशत योगदान दिइरहेको छ, जसको हाराहारीमा अन्य देश पुगेका छैनन्। यी विभिन्न कारणले उनको कार्यकालको बढोत्तरीका लागि जनताको एकताबद्ध साथ प्रतिविम्बित देखिन्छ।

दृढ नेतृत्व, प्रभावकारी शासनशैली र मुलुकलाई निरन्तर समृद्धिको यात्रामा अघि बढाउने दृढ नेताको स्थानमा चिनियाँ जनताले जसरी सीलाई आसीन गराएका छन्; सोहीअनुसार उनले आफ्नो व्यक्तित्वमाथि नकारात्मक टिप्पणीका लागि ठाउँ नछोडेको चीनसम्बद्ध जानकारहरू बताउँछन्। उनको यही आलोचनारहित र निष्कलंक भूमिकाकै कारण १९औं पार्टी महाधिवेशनका अत्यन्तै बौद्धिक दुई हजार दुई सय ८७ प्रतिनिधि उनलाई थप शक्तिशाली बनाउन तयार भएका थिए। उत्पादन निर्यातमा आक्रामक ढंगले अघि बढेको चीन अहिले विश्वभर सी विचार फैलाउन उद्यत छ, त्यसले सीको राजनीतिक व्यक्तित्वमा निकै उचाइ थपिरहेको बुझ्न सकिन्छ। सीले देशभित्र अभिवृद्धि गरेको शक्ति र अन्तर्राष्ट्रिय जगत्मा विस्तारित प्रभावका कारण उनी विश्वका अन्य नेताको तुलनामा निकै शक्तिशाली साबित भएका छन्। फोर्ब्सले केहीअघि सार्वजनिक गरेको सर्वेक्षणले सीलाई विश्वभरका शक्तिशाली व्यक्तिमध्ये पहिलो स्थान दिलायो, जब कि अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो स्थानमा आइपुगेका छन्।

अमेरिका र चीनको आन्तरिक परिवेशलाई मात्रै नियाल्ने हो भने पनि ट्रम्पको तुलनामा सी निकै शक्तिशाली भइसकेका छन्। देशभित्र सीप्रति जसरी जनताको एकछत्र साथ समर्थन जुट्ने गरेको छ, त्यो स्थितिबाट ट्रम्प विल्कुल विमुख छन्। हल्का प्रस्तुति, विवादित अभिव्यक्ति र आफूलाई मन नपरेको विषयमा हदैसम्मको निषेधको रवैयाले उनलाई देशभित्रै आलोचित बनाएको छ भने अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा उनले जसभन्दा बढी अपजस खेपिरहेका छन्।

तर, अघिल्लो साता सिंगापुरमा सम्पन्न ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सम्पन्न शिखर वार्ताले विश्व राजनीतिमा ट्रम्पको साख एकाएक चुलिएको छ। उनी शान्तिका लागि नोबेल पुरस्कारका लागि समेत सिफारिस भएका छन्। कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति र संयुक्त वक्तव्यका लागि किमलाई मनाउन सक्नु ट्रम्पको उल्लेखनीय उपलब्धि मानिएको छ। तर, कार्यान्वयनको कसीमा ट्रम्पमाथिको मूल्यांकन फेरिँदै जानेमा पनि कुनै शंका छैन। विश्वमा कायम वर्चस्वबाट पछि हट्न न अमेरिकाले चाहेको छ, न त ट्रम्पले नै। त्यसका लागि आवश्यक आन्तरिक तथा वाह्य स्थितिलाई थप सुदृढ बनाउने प्रभावकारी खाका ट्रम्पसँग रहेको देखिँदैन तर आन्तरिक स्थिति निकै सुदृढ बनाउँदै त्यसैको बलमा चीनका राष्ट्रपति सीले जसरी कोमल ढंगबाट अन्तर्राष्ट्रिय प्रभाव र सम्बन्ध विस्तार गरिरहेका छन्; उनको सोही गुण, चरित्र, योजना र कार्यकुशलताले अमेरिकालाई पछाडि पार्दै चीनलाई विश्वको अग्रणी आर्थिक महाशक्तिको गन्तव्यमा नपुर्‍याउला भन्न सकिन्न।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.