अतिक्रमण हटाउँदै उपमहानगर
धनगढी : धनगढी उप–महानगरपालिका खोलानाला क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानमा जुटेको छ । खोलानाला अतिक्रण हँुदा बर्खामा बस्तीमा पानी पस्ने र डुबान हुने समस्या भएपछि उपमहानगरले अभियान नै चालेको हो ।
नगर क्षेत्रमा पर्ने जिल्ला प्रहरी कार्यालय छेउको नाला, शिवनगर नाला, कैलाली नालालगायत खोलानाला बर्सेनि अतिक्रमणको चपेटामा पर्दै आएका हुन् । खोलानाला मिचेर बनाइएका संरचना भत्काउन पटकपटक अनुरोध गर्दा पनि नमानेपछि उपमहानगरपालिकाले डोजर नै लगाएर अतिक्रमण हटाउने अभियान थालेको हो ।
‘मंगलबार मात्रै ५ भन्दा बढी स्थानमा डोजर र स्काभेटर लगाएर खोलानालाको अतिक्रमण हटाउने कार्य भएको छ’, मेयर नृपबहादुर वडले भने । ‘४ दिनदेखि नगरपालिकाले अभियान नै थालेको छ ।’
उप–महानगरपालिकाको वडा नम्बर १, ३, ११, र ५ मा खोलानालाको अतिक्रमण हटाउन डोजर र स्काभेटर प्रयोग गरिएको उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए । ‘केही ठाउँमा स्थानीयको साथ छ, केही ठाउँमा अतिक्रमणकारीले काम रोक्न प्रतिवादसमेत गरेका छन्’, मुडभरीले भने । उपमहानगरले अतिक्रमण हटाउने अभियानलाई सकारात्मक काम भएको धनगढी उप–महानगरपालिका–१ का खड्कबहादुर विकले बताए । उनले खोलानालाको अतिक्रमण हटाउने कामको प्रतिवाद गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्ने माग गरे ।