‘नेपालमा एक पाखे सरकार छैन, कतैतिर ढल्किनु पर्दैन’
बिर्तामोडः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा अहिले एक पाखे सरकार नरहेको बताएका छन् । विहीबार झापा पुगेका मन्त्री बाँस्कोटाले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय मामलामा छिमेकी भारत र चीन दुवैसँग प्रधानमन्त्रीको भ्रमणपछि सम्बन्ध सुधार भएकाले एक पाखे सरकारको अन्त्य भएको बताएका हुन् ।
‘सरकार अब अन्तर्राष्ट्रिय मामलामा क्लियर छ, दुवै देशसँग बराबर सहकार्य गर्ने हैसियत यो सरकारले बनाएको छ’, मन्त्री बास्कोटाले भने, ‘एकातिरको सम्बन्ध बिग्रँदा अर्कोतिर ढल्कने अवस्था अब छैन ।’
उनले अब अन्तर्राट्रिय मामिला सकिएकाले अब सरकार आन्तरिक मामिलामा केन्द्रित हुने बताए । ‘अब सरकार नीति निर्णण र बजेटको कार्यान्वयनमा लाग्छ, अब सरकारको प्राथमिकता भनेको मुलुकको समृद्धि हो’, उनले भने ।
मन्त्री बाँस्कोटाले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने समेत बताए । ‘विकासको कुरामा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन, प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौँ’, उनले भने ।
आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेकाले अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको समेत मन्त्री बाँस्कोटाले बताए ।