‘सुरक्षाको साटो डर देखाउँछ प्रहरी’

‘सुरक्षाको साटो डर देखाउँछ प्रहरी’

 इटहरी : ‘नागरिकले चाहेको समयमा प्रहरीले सुरक्षा दिनुपर्छ’, सुनसरीको इटहरीका होटल व्यवसायी गोविन्द थापाले भने, ‘तर, प्रहरी नै चाँडै बन्द गर्नुहोस् भन्दै सम्साँझंै बजार बन्द गराउँदै हिँड्छ भने कसरी हामीले सुरक्षित भएको महसुस गर्ने ? ’

इलाका प्रहरी कार्यालय इटहरी अगाडि थापाको होटल छ तर प्रहरीले १० नबज्दै सुरक्षा दिन नसक्ने भनेको छ। ‘पहिला १० बजेपछि मदिरा प्रयोग गर्न नदिने गरी १२ बजेसम्म होटल चलाउन पाइन्थ्यो’, उनले भने, ‘अहिले ९ नबज्दै बन्द गर भन्दै प्रहरी आउँछन्।’

प्रहरीले सुरक्षाका लागि भन्दै चाँडै पसल बन्द गराउन थालेपछि इटहरीका व्यवसायी आजित बनेका छन्। इलाका प्रहरी कार्यालयमा नयाँ डीएसपी शिवकुमार श्रेष्ठ आएपछि नियम बदलिएको हो। यो समस्याबारे इटहरी उपमहानगरपालिकाले डाकेको छलफलमा १० बजेसम्म मदिरा बेच्न पाउने र ११ बजेसम्म खाना बेच्ने सहमति भएको थियो तर प्रहरी ८ बजेपछि नै बजार बन्द गराउँदै हिँडेपछि व्यवसायी निराश बनेका छन्।

‘यसअघिका डीएसपीले राति ११ बजेसम्म खुला राख्दा हुने भनेका थिए, अहिले त १० बजेपछि बजार खुला राख्दा समस्या हुन्छ भन्नुभएको छ’, होटल व्यवसायी संघ इटहरीका महासचिव उमेश दाहालले भने, ‘तर, ८ बजेपछि नै बन्द गर्नुप¥यो भन्दै प्रहरी आइपुग्छन्, ग्राहक नै तर्सिन्छन्।’

बजार खुला राख्ने र चलाउने काम स्थानीय तहको हो। स्थानीय तहले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा इटहरी बजारको केही ठाउँमा रात्रीकालीन बजार लगाउने योजना बनाएको छ। प्रहरी भने सुरक्षाको कारण देखाउँदै बजार खोल्न तयार देखिँदैन। ‘प्रहरीले त बजार खोल्नुहोस्, हामी सुरक्षा दिन्छौं भन्न सक्नुपर्छ’, उनले भने, ‘चाबी लाएपछि सुरक्षा दिन प्रहरीको के काम ? ’

पूर्वमा यातायातको ट्रान्जिट बनेको इटहरीमा रातभर आवतजावत भइरहन्छ। यात्रुका लागि चौबीसै घण्टा तयार रहनुपर्ने सहर साँझ नपर्दै बन्द हुँदा त्यसले आगन्तुकलाई असुविधा भएको होटल व्यवशायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको भनाइ छ। ‘होटल रातभर सेवा दिनुपर्ने क्षेत्र हो’, उनले भने, ‘लाखौं लगानी गरेर थालिएका होटल दिउँसो मात्र चलाएर व्यापार गर्न गाह्रो हुन्छ।’ उनका अनुसार असुरक्षाका लागि पर्याप्त सुरक्षा उपाय अपनाएर भए पनि होटललाई अबेरसम्म चल्न दिनुपर्छ।

प्रहरीले होटलमा छापा मारेर त्रसित बनाउने गरेको छ। छापा मार्ने कार्यको होटल व्यवसायीले विरोध गर्दै आएका छन्। महासचिव दाहालका अनुसार होटलमा राति बास बसेकाको नाता खोजेर प्रहरीले बाधा पु¥याउने गरेको छ। ‘होटलमा युवती राखेर यौन व्यवसाय गराउनु अपराध हो’, उनले भने, ‘तर, पोखराका ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड इटहरी आएर बस्न नपाउने ? ’

इटहरीका डीएसपी श्रेष्ठले शान्ति-सुरक्षाका लागि अन्यत्रझै इटहरीमा पनि राति चाँडै बजार बन्द गर्नुपरेको बताए। रातिसम्म होटल खोल्दा समाजमा अशान्ति फैलिने भएकाले रात्रिकालीन सेवालाई कम गरिएको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.