किसानलाई विद्युतीय मिल वितरण

किसानलाई विद्युतीय मिल वितरण

कुस्मा : किसानलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले किसानहरूलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ।

थोरै समय र लागतमा धेरै अन्न कुटानपिसान गर्न सकिने मिल वितरण गरिएको हो। गाउँपालिकाले स्थानीय कृषक समूहको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएका हो। धान कुट्ने, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्न सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ।

गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिलहरू भने पूर्ण रूपमा विस्थापित भएका छन्। घरको पिँढीमै राखेर कुटानपिसान गर्न सकिने उक्त मिल यस वर्ष महाशिलाले १२ वटा वितरण गरेको छ। अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा ३८ हजार रुपैयाँ रहेकोमा ढुवानी खर्चसहित कृषकलाई जम्मा १९ हजार रुपैयाँमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।

गाउँपालिकाका ६ वटामध्ये प्रत्येक वडामा २÷२ वटाको दरले वितरण गरिएको उनले बताए। एउटा मिलले २० भन्दा बढी परिवारका लागि सहजै कुटानपिसान गर्न सक्छ। थोरै अन्नबाली वा बेसार, अदुवाजस्ता मसला पिस्न पनि सहज हुने उच्चैले जानकारी दिए। चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट उक्त मिल वितरण गरिएको र आगामी दिनमा कृषकका मागका आधारमा अझै वितरण गर्ने योजना रहेको पनि उनले सुनाए।

पछिल्लो समय कृषिमा आधुनिकीकरण ल्याउने अभियान चलाएको महाशिलाले कृषकहरूलाई ढिँकी जाँतो वा गाउँमा एउटा मात्रै सञ्चालन हुने मिलमा धेरै समय कुरेर धान, मकै कोदो जस्ता खाद्यान्न पिस्ने झन्झटबाट मुक्त हुन र उक्त समय पनि कृषिमै खर्च गरून् भन्ने उद्देश्यले मिल वितरण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए। यसअघि उक्त गाउँपालिकाका ६ वटा वडामा ६ वटा मात्रै ठूला मिल सञ्चालनमा थिए। ती मिललाई पनि उद्योगका रूपमा विकास गर्ने योजना पालिकाले बनाएको छ।

अहिले वितरण गरिएको पावर मिल घरमै जोडिएको बिजुलीबाट सञ्चालन हुन्छ। यसका लागि थ्रि फेजको लाइनसमेत आवश्यक पर्दैन। साथै यसका लागि दर्ता गर्नुपर्ने मापदण्डसमेत नभएकाले झनै सहज हुने अध्यक्ष पौडेलको भनाइ छ।

उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकहरूलाई मिनि पावर टिलर (यान्त्रिक हलो) पनि वितरण गरेको थियो। चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका ६ वटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनि पावर टिलर वितरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.