उपचार नपाएर सुत्केरीको मृत्यु
ओखलढुंगा : अत्यधिक रक्तस्रावका कारण ओखलढुंगाको खिजीदेम्वा-९पात्लेकी २१ वर्षीया छोटिन शेर्पाको मृत्यु भएको छ। वडाभित्रै स्वास्थ्य चौकी नहुँदा शेर्पालाई आइतबार बिहान घरमै सुत्केरी गराइएको थियो।
सामान्य अवस्थामा छोरी जन्माएको भए पनि करिब ३ घण्टासम्म सालनाल निस्कन सकेन।गाउँमा भएको स्वास्थ्य इकाइका अनमीको सहयोगमा उनको सालनाल निकालिएको थियो।
तर दिउँसोदेखि अत्याधिक रक्तस्राव नरोकिएपछि उनको मृत्यु भएको स्वास्थ्य स्वयंसेविका आङ्फूर्लु शेर्पाले बताइन्। त्यहाँबाट स्वास्थ्यचौकी लैजानका लागि खिजीफलाटे बजार ४ घण्टा टाढा छ। आमा र बच्चा दुवैलाई बोकेर लाने प्रयास गरे पनि निरन्तर परेको झरीले घरमै राखिएको थियो। छोटिनले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्।
शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !