यस्तो लापरबाहीः स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु

यस्तो लापरबाहीः स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु

 विराटनगर: २४ घण्टा प्रसूति सेवा प्रदान गर्ने भनिएको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीस्थित शौचालयमा एक महिलाले शनिबार शिशु जन्माएकी छन् । 

स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी विदामा बस्दा महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको हो । प्रसव व्यथाले च्यापेपछि डाइनिया स्वास्थ्य चौकीमा २६ वर्षीया दोलतकुमारी साहलाई आफन्तले विहान ११ बजे प्रसूति गराउन लगेका थिए । 

नातामा फूपु पर्ने रोहितकुमारी साहले घर नजिकैको स्वास्थ्य चौकीमा पुर्याउँदा कोही स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ पु¥याएको लगभग एक घण्टापछि शौचालय लगिएकी साहले त्यहीँ छोरी जन्माएकी हुन् । 

‘लामो समय स्वास्थ्यकर्मी पर्खिएर बस्यौं,’ रोहितकुमारीले भनिन्, ‘एक घण्टा बढी कुर्दा पनि कोही नआएपछि शौचालय गएकी दोलतकुमारीले त्यहीं बच्चा जन्माइन ।’ 

दोलतकुमारीका दाजु रञ्जीतले चौकीले बारम्बार यस्तै लापरवाही गरिरहेको बताए । ‘२४ घण्टा प्रसूति सेवा प्रदान गर्नुपर्ने ठाउँमा चरम लापरवाही छ । हामी त्यहाँ पुग्दा स्वास्थ्यकर्मी कोही पनि थिएनन्,’ उनले भने, ‘चौकीका सहयोगी मात्रै थिए । सहयोगीले प्रसूति गराउन सक्ने सम्भाव थिएन ।’ 

रञ्जीतले त्यहाँका स्वास्थ्यकर्मीले बारम्बार लापरवाही गरिरहेकाले प्रसूति गराउन ल्याइने महिलाको ज्यान पनि जोखिममा पर्ने गरेको बताए । उनले भने, ‘जब समस्या पर्छ । त्यही बेला स्वास्थ्य चौकीमा डाक्टर र नर्स नै हुँदैनन् ।’ 

यही असार २१ गते पनि त्यही स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको अवस्थामा एक महिलाले बच्चा जन्माएकी थिइन् । स्वास्थ्यकर्मीको गैरजिम्मेवारीका कारण शौचालयमा बच्चा जन्मिएको भन्दै सुत्केरीका आफन्त आक्रोशित बनेका छन् । 

उनीहरुले केन्द्रमा तालाबन्दी पनि गरेका थिए । आगामी साउन २ गते सर्वपक्षीय बैठक बोलाएर यसबारे छलफल गर्ने सहमति भएपछि वडाअध्यक्ष कमलकिशोर सिंहको रोहवरमा ताला खोल्न आफन्त सहमत भएका थिए ।

वडाअध्यक्ष सिंहले प्रसूति गराउने विषयमा स्वास्थ्यकर्मीको लापरवाही देखिएका कारण छानविन गरेर कारवाही अघि बढाउने प्रतिवद्धता जनाएका छन् । 

केन्द्रले गत फागुन ३० गतेबाट २४ घण्टा प्रसूति सेवा दिन थालेको थियो । सुनवर्षी नगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीका अनुसार केन्द्रमा चार स्वास्थ्यकर्मीसहित १२  कर्मचारी कार्यरत छन् । 

उनका अनुसार शनिबार स्टाफ नर्स कञ्चनकुमारी सिंह र कार्यालय सहयोगी रमाकान्त साहको ड्युटी थियो । केन्द्रका इन्र्चाज सुरेन्द्र साह र नर्सिङ इन्चार्ज सुजिता साह भने विदामा थिए । 

उनीहरु दुवैजना एकै पटक विदामा बसेका बेला प्रसूति गराउन ल्याइएकी महिलाले शौचालयमै बच्चा जन्माउनुपर्ने अवस्था आएको अलीले बताए । सुजिताले शनिबार सार्वजनिक विदा भएको भन्दै ड्युटीको जिम्मा कञ्चनलाई लगाएकी थिइन । 

स्टाफ नर्स सिंहले आफ्नो ड्युटी रहे पनि चौकी छाडेर खाना खान गएका बेला शौचालयमा बच्चा जन्मिएको बताइन् । ड्युटीमा रहेकी स्टाफ नर्स स्वास्थ्य केन्द्र छाडेर बाहिर गएर लामो समय सम्म केन्द्रमा नआउँदा सुत्केरी व्यथाले च्यापेकी महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको आफन्तको गुनासो छ । 

नर्सिङ इन्चार्ज साहले यस विषयमा आफूलाई ढिलो जानकारी भएको बताउँदै भनिन्, ‘शनिबार सार्वजनिक विदा भएकाले ड्युटी जिम्मा लगाएर बसेको थिएँ ।’ आफू विदामा बस्दा लापरवाही भएको भन्दै उनी पन्छिन खोजिन् ।  

नगरपालिकाले स्वास्थ्य केन्द्रमा सातजना स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था गरे पनि गर्भवती महिलाले भने शौचालयमा बच्चा जन्माउनुपर्ने अवस्था आएको स्थानीय राजनीतिकर्मी अमरेन्द्र झाको भनाइ छ । 

उनका अनुसार अहिलेसम्म स्वास्थ्य केन्द्रमा आठजना महिलाको प्रसूति गराइसकिएको छ । सुत्केरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको झाको भनाइ छ । उनको त्यहीं उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रबाट डाइनिया, सिक्टी, कुडेली र झपडताल लगायतका बासिन्दाले सेवा लिँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.