विपद् विवरण पठाउन स्थानीय तहको आलटाल

विपद् विवरण पठाउन स्थानीय तहको आलटाल

बुटवल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई आफ्नो ठाउँको विपद् विवरण उपलब्ध गराउन ताकेता गरिरहेको छ । तर स्थानीय तहले अहिलेसम्म त्यसलाई आलटाल गरिरहेका छन् । असार २१ गते मन्त्रालयले जिल्ला समन्वय समितिसहित सबै स्थानीय तहलाई विपद् व्यवस्थापनसम्बन्धी विवरणहरू तीन दिनभित्र पठाउन परिपत्र गरेको थियो । सबै ठाउँबाट विवरण नआएपछि मन्त्रालयले पुनः असार २६ गते त्यसरी नै पत्र पठाई ताकेता गरेको छ । तर स्थानीय तहहरूले अझै विवरण पठाएका छैनन् ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये ओमसतिया र गैडहवा गाउँपालिकाले मात्र विपद् अवस्थाबारेको विवरण जिल्ला समन्वय समिति कार्यालयमा पठाएका छन् । जिल्ला समन्वय समितिले सबै विवरण आइसकेपछि मात्र मन्त्रालयमा पठाउने तयारी गरेको छ । ‘संघीय मामिला मन्त्रालयले ताकेता गरिरहेको छ, २ वटाबाहेक अरूको विवरण कार्यालयमा आएको छैन ।’ जिल्ला समन्वय अधिकारी हरि ज्ञवालीले भने, ‘सबैको विवरण आएपछि मन्त्रालयमा पठाउँछौं ।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (न) बमोजिम स्थानीयस्तरमा विपद् व्यवस्थापनका लागि विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजना, पूर्वसूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्री भण्डारण, वितरण तथा समन्वयजस्ता विषय स्थानीय तहको क्षेत्राधिकारभित्र रहने उल्लेख छ । यी विषयमा निर्णय गरेर स्थानीय तहहरूले केन्द्रसम्म आफ्ना योजना र निर्णय पठाउनुपर्ने हो । तर विपद्को सम्बन्धमा जनप्रतिनिधिहरू संवेदनशील भएको देखिएका छैनन् ।

मन्त्रालयको परिपत्रमा स्थानीय तहमा विपद्का घटना वा सम्भावित विपद्का जोखिम, पूर्वतयारीको अवस्था, प्रतिकार्यका प्रस्तावित कार्यक्रम, विपद् व्यवस्थापन कोष भए÷नभएबारे विवरण पठाउनुपर्ने हुन्छ । त्यस्तै विपद् व्यवस्थापन समिति भए÷नभएको वा भए क्रियाशील भए÷नभएको, आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि प्रस्तावित कार्यक्रम उल्लेख गरी पठाउनुपर्ने हुन्छ ।

स्थानीय तहका प्रमुखहरूले भने संघीय मामिला मन्त्रालयबाट परिपत्र भएकोबारे अनभिज्ञता प्रकट गरेका छन् । ‘पत्र कार्यालयमा आएको होला म बुझांैला’, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले भने ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि विवरण नपठाएको भए पठाउन लगाउने बताए ‘विपद् व्यवस्थापनका लागि कोष स्थापनादेखि समिति र उपसमितिसम्म गठन गरिसकेका छौं’, उनले भने, ‘हाम्रा कार्यक्रम तयारी अवस्थामा छन् । पठाउन नभ्याएको हुन सक्छ, छिट्टै पठाउँछौं ।’

विपद् विवरण पठाएको गैडहवा गाउँपालिकाले आफ्नो क्षेत्रमा बाढी, डुबान आगलागीजस्ता समस्या रहेको जनाएको छ । ‘बाढी, डुबानजस्ता समस्या भए सशस्त्र प्रहरी र माथिल्ला निकायको समन्वयमा उद्धार तथा राहतको काममा खटिन्छांै’, गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले भने । विपद्का लागि एम्बुलेन्स तथा अन्य गाउँपालिकासँग मिलेर दमकल खरिदलगायतका लागि बजेट छुट्याएको पनि उनले बताए ।

असार अन्तिममा स्थानीय तहहरू हिसाबकिताब मिलाउन र बजेट सक्न व्यस्त छन् । कतिपय तहमा अधिवेशन जारी छ । त्यसैले पनि धेरै स्थानीय तहको ध्यान विपद् व्यवस्थापनतिर गएको छैन । ‘अधिवेशन र असार मसान्तको व्यस्तताले उहाँहरूले विपद् विवरण पठाउन ढिला गर्नुभएको होला’, जिल्ला समन्वय अधिकारी ज्ञवालीले भने, ‘अब दिनै तोकेर हामी परिपत्र गर्छौं ।’ बर्खायाममा रूपन्देहीमा उत्तरी भेगतर्फ कटान र दक्षिणी भेगमा डुबान समस्या हुनेगर्छ । विशेष गरी मर्चवार र रोहिणी गाउँपालिकामा डुबानको जोखिम बढी छ । त्यस्तै नदी किनारका बस्तीहरू पनि बाढी र कटानको जोखिममा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.