भेटिएनन् १४१ महिला

भेटिएनन् १४१ महिला

इलाम : पूर्वका चार जिल्लाबाट एक वर्षमा १ सय ४१ जना महिला हराएका छन्। इलाम, झापा, मोरङ र सुनसरीस्थित माइती नेपालका शाखा कार्यालयमा २ सय ११ जना चेलीबेटी हराएको उजुरी परेकामा १ सय ४१ जना नभेटिएका हुन्।

माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले हराएकामध्ये अधिकांशलाई दलालले सिमाना कटाएको अनुमान गरे। महिला र बालबालिका तस्करी रोक्न प्रयास गरिरहे पनि नियन्त्रणमा नआएको उनको भनाइ छ। पशुपतिनगरस्थित आवधिक गृहले इलाममा हराएका ६३ मध्ये २२ जनालाई फेला पारेर परिवारको जिम्मा लगाएको जनाइएको छ। झापामा हराएका ८६ मध्ये ३० जना फेला परेका छन्। मोरङमा हराएका २७ मध्ये ३ र सुनसरीमा हराएका ३५ मध्ये १५ जना फेला पारेर परिवारलाई जिम्मा लगाएको संस्थाले जनाएको छ।

घरसल्लाह नभएको, कागजात नमिलेका कारणले झापा, मोरङ, सुनसरी र इलामका ४ सय ७९ महिलालाई नाकाबाट फर्काइएको उनले सुनाए। पछिल्लो समय तस्करले महिलालाई फसाउन निःशुल्क भिसासहितको आश्वासन दिने गरेको उनको भनाइ छ। तस्करले मुख्य नाका छलेर चोरबाटो प्रयोग गरी महिला र बालबालिकालाई भारत पुर्‍याउने गरेको जनाइएको छ।

माइती नेपालका अनुसार ५२ जिल्लाबाट पशुपतिनगर हुँदै भारत जाने गरेका छन्। दलालले मुख्य नाकाभन्दा पनि अन्तु, समाल्बुङतिरका चोरबाटो प्रयोग गर्न थालेपछि मानव तस्करी नियन्त्रणमा चुनौती थपिएको उनले सुनाए। उनका अनुसार प्रहरी र स्थानीय महिला सञ्जालको सहकार्यमा मानव तस्करी रोक्ने प्रयास भइरहेको छ।

तस्करले मुख्य नाका छलेर चोरबाटो प्रयोग गरी महिला र बालबालिकालाई भारत पुर्‍याउने गरेको जनाइएको छ।

नाकामा महिला कर्मचारीले निरन्तर जाँच गरे पनि दलालको जालमा परेका महिला र युवतीले विभिन्न बहाना बनाउने गरेकाले पहिचान गर्न गाह्रो पर्ने गरेको उनले बताए। विभिन्न बहानामा देहव्यापारका लागि भारत लगिनेमा १४ देखि २७ वर्षका युवती बढी रहेको संस्थाले जनाएको छ। घरेलु हिंसा, बाल विवाहमा परेका, विद्यालय छाडेका, आर्थिक अवस्था कमजोर भएका, बहुविवाहमा परेका महिला कमाउने नाममा दलालको जालमा पर्ने गरेका छन्। भारतका सिलिगुडी, कालेबुङ, सिक्किम, चारमाइल, दसमाइललगायत ठाउँबाट एक वर्षमा ३२ महिलालाई उद्धार गरिएको छ।

इलामका एसपी माधव श्रेष्ठले गत आर्थिक वर्षभरि चेलीबेटी बेचबिखनका दुईवटा उजुरी मात्र परेको सुनाए। महिला हराएको सूचना आए पनि भेटिएको सूचना नआउने गरेकाले बेपत्ताको संख्या बढी देखिने गरेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमल्सिनाले पशुपतिनगर नाका मानव बेचबिखनका लागि ‘रिस्क जोन’का रूपमा देखिएकाले आवश्यक कदम चालिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.