बजार नपाएपछि छाडे किसानले उखु खेती
बुटवल : रूपन्देहीको गैडहवा गाउँपालिकाको सूर्यपुराका खेत कुनै समय उखु ढपक्कै ढाकिएका हुन्थे । साविक सूर्यपुरा गाविसका प्रायः किसानले उखु खेती गर्थे । त्यस बेला उखु खेती भएको ९० प्रतिसत खेतमा अहिले धान खेती हुने गरेको छ ।
अहिले ५ देखी १० प्रतिशत जमिनमा मात्र मुस्किलले उखुबाली देख्न सकिन्छ । सूर्यपुरामा ०२७÷२८ सालबाट उखु खेती हुन थालेको साविक सूर्यपुराका पूर्वगाविस अध्यक्ष इन्द्रज्ञान तिवारीले बताए । ‘सुरुमा ५०÷६० केजी भारतबाट ल्याएर रोप्न थाल्यौं, एकपछि अर्को गरी सबैले लगाउन थाले’, उनले भने । त्यसबेला यहाँका किसानको मुख्य बाली नै उखु थियो ।
भएभरको जग्गामा उखु नै लगाउने किसान प्रशस्तै थिए । धानभन्दा उखुबाट राम्रो आम्दानी भएपछि किसानहरू उखु खेतीतर्फ आकर्षित हुन थाले । २५ कठ्ठामा लागाएको उखुखेती सबै मासेको गैडहवा–७ का किसान राधेश्याम केवटले बताए ।
स्थानीय कृषमोहन यादवका अनुसार उखु खेतीलाई धानलाई जस्तो लगानी धेरै चाहिँदैन थियो । खाला खेतमा पनि हुने डाँडा खेतमा पनि हुने भएपछि किसान उखुबाटै कमाइ गर्थे । उखुमा जस्तो धानमा त्यति फाइदा थिएन ।
सूर्यपुरासहित जिल्लाका दक्षिणी क्षेत्रमा उत्पादन हुने उखु भैरहवाको महेन्द्र सुगर मिलले लिने गथ्र्यो । ठाउँठाउँमा क्रेसर मेसिन थिए । किसानहरूले भेली उत्पादन गरेरसमेत बेच्ने गर्थे । ०५० सालसम्म यहाँ राम्रै उखु खेती हुने गथ्र्यो । त्यसपछि क्रमशः किसानहरूले उखु लगाउन छाड्दै गए । भैरहवामा रहेको महेन्द्र सुगर मिलले उखु लिन छोडेपछि किसानहरूले सुनवल र चन्द्रौटामा रहेको चिनी मिललाई उखु दिन थाले । त्यहाँबाट भुक्तानी पाउन समस्या भयो । ‘चन्द्रौटा वालाले लगेर २÷३ सालसम्म पनि पैसा दिएन, त्यसपछि मान्छेले उखु लगाउनै छोडे’, गैडहवा–७ का राधेश्याम केटवले भने । बजार पाउने हो भने अहले पनि किसानहरू धानखेती छोडेर फेरि उखु खेती गर्न तयार छन् ।
भैरहवाको चिनी मिल बन्द भएसँगै सूर्यपुराको उखुखेती पनि घट्दै गयो । उखुमा राम्रो आम्दानी हुने भएकाले बढी मेहनत गर्न परे पनि उखुखेतीलाई नै उनीहरूले राम्रो ठानेका छन् । ‘कारखाना सञ्चालन भएर राम्रो पैसा पाउने हो भने अझै यहाँका किसान उखुखेतीमा फर्कन तयार छन्’, गैडहवा–९ का वडासचिव सुख्खु यादवले भने, ‘त्यसो भए हाम्रो क्षेत्रका ७५ प्रतिशत खेतमा फेरि उखुखेती हुन्छ ।
अहिले हुने गरेको उखुखेती बजारका चोकमा रस निकाली बेच्न मात्र प्रयोग हुने गरेको छ । मुलुकका उखुखेती हुने अन्य कतिपय क्षेत्रमा किसानले पाउने भुक्तानी समस्याले प्रत्येक वर्ष उखुको मूल्यमा विवाद हुँदै आएको छ । अर्कोतर्फ सस्तोमा भारतीय चिनीको आयातले नेपाली चिनी खपतमा समस्या भइरहेको छ ।
नवलपरासीमा रहेका चिनी मिलले नेपाली किसानको उखु खरिदमा निकै कम मूल्य दिने गर्छन् । कम मूल्य र समयमै भुक्तानी नहुँदा उखुखेती कम हुँदै गएको छ । चिनीलगायत उखुजन्य वस्तुको प्रतिस्थापनका लागि चिनी मिल सञ्चालन गर्न सकिने सम्भावना रहे पनि सरकारले ध्यान दिन सकेको छैन ।
‘अहिले तरकारीलगायत अन्य बालीमा हामीले कार्यक्रमहरू राखेका छौं । उखु किसानहरू समस्यामा परेका छन्’, गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले भने, ‘सरकारले उखुखेतीबारे राम्रो योजना ल्यायो भने हामी स्थानीय तहले कार्याक्रम बनाउन तयार छौं ।’
प्रतिक्रिया दिनुहोस !