सीमान्तकृत संस्कृतिविद्
नेपालको संस्कृति र पुरातत्व अध्ययनमा रुचि राख्नेका लागि जोशी आफैंमा एक विश्वविद्यालय हुन्।
मदन पुरस्कार विजेता हरिराम जोशीको अध्ययन कक्ष संस्कृति, पुरातत्व, इतिहास विषय अध्ययन अध्यापन गर्नेका लागि बृहत् स्रोत पुस्तकालय हो। असी वसन्त पार गरिसकेका संस्कृतिविद् जोशी अनवरत लेखिरहन्छन्। चारैतिर पुस्तकले घेरिएको अध्ययन कक्षको एक कुनामा रहेको पलङ जोशीको शयन, लेखन र अध्ययन गर्ने थलो हो। अर्को कुनोमा छ, उनैको सम्पादनमा प्रकाशित रोलम्ब जर्नलका चाङ।
प्राचीन नेपाल, नेपालको प्राचीन अभिलेख, उत्तर प्राचीन कालीन मुद्रा, मध्यकालीन अभिलेख, मेडिएभल कोलोफोन्स, नेपाली संस्कृति, हाम्रो संस्कृति, हिन्दू देवीदेवता, प्रदीप अभिनव विश्वकोश, नेपालका चाडपर्व, अभिनव संस्कृतिकोष, पञ्चपल्लवलगायत नेपाली संस्कृतिमाथि झन्डै तीन दर्जन पुस्तक लेखिसकेका छन्, जोशीले। गुणराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारबाट पनि सम्मानित भइसकेका र २०६२ सालमा संस्कृति शिरोमणि सम्मान पाएका जोशी हालै डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७५ बाट पनि सम्मानित भएका छन्। नेपालको संस्कृति र पुरातत्व अध्ययनमा रुचि राख्नेका लागि जोशी आफैंमा एक विश्वविद्यालय हुन्।
नेपालको संस्कृति र इतिहासलाई फरक धारबाट हेर्छन् जोशी। यिनै फरक धारका कारण जोशी सीमान्तकृत संस्कृतिविद्को सूचीमा पर्छन्। इतिहास, संस्कृति र पुरातत्वबारे फरक धार राख्नेहरूलाई यस क्षेत्रका विज्ञ र विद्हरूले टिक्न नदिने उनको अनुभव छ। जोशी भन्छन्, ‘हाम्रा इतिहास, संस्कृति र सम्पदाका ठेकेदारहरूले यी विषयहरूमा फरक कोणबाट सोच्ने छुट कसैलाई दिएका छैनन्। यता फरक धारको बोली फुट्यो, उता इतिहास र अभिलेखका पाना च्यातेर प्रहार हुन थालिहाल्छ।’ नेवारी समाजमा सम्बन्ध जोड्न सुपारी दिने लिने चलन छ। आफ्नो फरक विचारको सुपारी समकालीन नेपाली समाजले स्वीकार नगरेको ठहर गर्ने जोशी भन्छन्, ‘त्यसैले म सीमान्तकृत छु।’ यसरी नेपालको इतिहास र संस्कृतिका विषयमा नयाँ खोज र अनुसन्धान हुन नसक्नुको प्रमुख बाधक फरक विचार नस्वीकार्नु देख्छन्, उनी।
त्यसो त जोशीका फरक धारका विचार सुन्न र नेपालको संस्कृति र इतिहासलाई फरक कोणबाट बुझ्न दुईचार अध्येताहरू उनको दैलोमा नपुगेको दिन हुँदैन। विद्यावारिधिका विषय छान्न, फेला परेका कुनै मूर्तिका बारे जान्न, कुनै चाडपर्वबारे बुझ्न। संस्कृति र इतिहासका शिक्षक, विद्यार्थी उनलाई भेट्न पुगिरहेकै हुन्छन्। त्यसैले जोशी आफ्नो दैलोमा दैनिक सात जोर जुत्ता नपसे लच्छिन नहुने मान्छन्। कतिले अनुसरण गरे होलान् त जोशीको फरक धार ? यस प्रश्नको जवाफ छैन उनीसँग। खिन्न हुँदै भन्छन्, ‘फरक धारका कुरा सुन्न जति चाखलाग्दो हुन्छ, मनन गर्न उति नै गाह्रो। हामीकहाँ जे पढाइएको छ, त्यसभन्दा फरक ढंगबाट सोच्ने सिकाइको विकास नै भएको छैन।’ इतिहास र संस्कृतिका विषयमा पढिने र पढाइने हरेक कुरामा किन, कसरी भन्ने खुल्दुली राखिएन भने नयाँ कुरा भेटिँदैन। राजा महाराजाहरूको आदेशमा लेखाइएको शिलालेख मात्रै इतिहास हो र ? यिनलाई मात्र इतिहासका प्रमाण मान्ने परम्पराकै कारण हामी नेपालको इतिहास र संस्कृतिका वास्तविक ऐतिहासिक तथ्यहरूबाट निकै पछाडि छौं भन्छन् उनी।
जोशीले हालै पस्किएको रानीपोखरीबारे फरक कुरा निकै चर्चाको विषय बन्यो। प्रताप मल्लले बनाएका होइनन् भन्ने उनको तर्कमा डा. महेशराज पन्तले निकै लामो खण्डन लेखे। खण्डनका साथै जोशीलाई व्यक्तिगत रूपमा लाञ्छना लगाउनमा पनि आफ्नो विद्वता खर्चिए पन्तले। जोशीलाई पन्तको खण्डनप्रति कुनै तिक्तता छैन। उनले जे जाने त्यही लेखे, मैले जे बुझेँ त्यही भनेँ। जोशी कहिले शुद्धोधन राजा होइनन् गणपति मात्रै हुन् भन्छन्। त्यस्तै बुद्ध राजकुमार होइन भन्ने तर्क गर्छन् उनी। जोशीले हिन्दुहरू वैदिक कालमा गाईको मासु खान्थे भनेर लेखेका छन्। कन्यादान नारी जातिका लागि अभिशाप हो भन्ने जोशी महिलाहरूले समान अधिकारको दाबी गर्ने हो भने पहिले यो दान प्रथा खारेज गर्न अग्रसर हुनुपर्ने बताउँछन्। ६ दशक अघिदेखि नै फरक विचार राख्ने आफ्ना स्वभावबाट रत्ति पनि डगमगाएका छैनन् उनी।
जोशीका विचारमा आफूले जानेका, भोगेका एवं सुनेका कथाहरू सुनाइ विविध विषयका ज्ञान आर्जन गर्ने परम्परा हाम्रो समाजमा निकै चलेको परम्परा हो। जसलाई लोककथा वा लोकआख्यान भनिन्छ। यी लोककथाहरूले तत्कालीन राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक आदि विविध विषयका ऐतिहासिक तथ्यलाई उजागर गर्छ। यिनलाई बेवास्ता गर्ने हो भने इतिहास अधुरै रहन्छ।
काठमाडौंमा थुप्र्रै चोक, बहा, बही, टोलहरू छन्। ती सबका आआफ्नै नाम छन्। धेरैजसो नामका पछाडि लोककथा र लोकाख्यान जोडिएका छन्। असंख्य गुठी, जात्रा पर्व, देवदेवीका नाच यिनै लोकाख्यान र लोककथामा आधारित छन्। जसको कुनै लिखत वा शिला भेटिँदैन। श्रुति ग्रन्थको रूपमा मान्य वैदिक साहित्य आर्य धर्म, दर्शन एवं संस्कृति आदिको शिलाभित्ति भएजस्तै लोकाख्यानहरू देशको सर्वांगीण समुन्नतिका लागि आधारशीला हुने बताउँछन् जोशी। के यिनलाई हाम्रो इतिहासका अंश होइनन् भन्न सक्छौं हामी ? उनी प्रश्न गर्छन्। जोशीसँग संस्कृति र इतिहासका विषयमा अनुत्तरित प्रश्नका भण्डार र उत्तर पनि छन्। तर, ती उत्तर वर्तमान समाजका बौद्धिक वर्गलाई पाच्य हुने देख्दैनन् उनी। फरक धारका थुप्रै प्रश्नका उत्तरहरू संगृहीत गर्न सुरु गरेका छन् उनले। शरीरले साथ दिएसम्म पाण्डुलिपिमा अक्षर थप्दै जाने सोच छ उनको। तर, अर्धांगिनी कदमको अस्वस्थताका कारण अचेल निकै विचलित छन् उनी।
नेवारी समाज सांस्कृतिक रूपमा निकै धनी समुदाय हो। तर, वर्तमान समाजले यी संस्कृति र संस्कारलाई चलिआएको रीतका रूपमा मात्र बुझ्दा लोप हुने क्रम बढेको छ। यसको महत्व नबुझाएसम्म यो लोप हुने क्रम रोक्न सकिँदैन। जोशी भन्छन्, ‘नेवारी संस्कृति र संस्कार कृषि र विज्ञानमा आधारित छन्। नेवारहरूले वैदिक संस्कृतिका थुप्रै पक्षलाई अनुसरण गर्दै आइरहेका छन्। माल्पा, अपुङ वैदिक कालदेखिका मिठाई हुन्। त्यस्तै ईः, बाह्रा, कयेतापूजा, श्राद्ध आदि सबै संस्कारका व्यवहारिक र वैज्ञानिक महत्व छन्।’ श्राद्ध गर्नु भनेको आफन्तको सम्झना गर्नु हो, श्रद्धा गर्नु हो। तर, मिश्रित समाज र जनसंख्या बढेसँगै नेवारी संस्कृति मनाउने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ। परम्परागत संस्कारलाई झन्झटिलो मान्ने क्रम बढेको छ। यसैकारण थुप्रै सांस्कृतिक पर्व लोप भएका छन्। यो प्रवृत्ति बढ्दै जाने हो भने नेवारी समाजले हामी यहाँका आदिवासी हौं भनेर गर्व गर्ने ठाउँ बाँकी रहनेछैन। हालको चलनले मनाइने संस्कार र संस्कृतिलाई आधार मान्ने हो भने हाम्रो पहिचान नै लोप हुन सक्ने आशंका गर्छन् जोशी।
जागिरे जीवनको लामो समय पत्रपत्रिका सेन्सर र त्यससँग सम्बन्धित विषयमै बिताएका जोशी युवावयदेखि नै वामपन्थी सिद्धान्तमा आस्था राख्थे। रुसका तत्कालीन शक्तिशाली नेता स्टालिनको मृत्युपछि सक्रिय राजनीति त्यागेका जोशी हालै भएको दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण लामो समय टिक्छ भन्नेमा विश्वस्त छैनन्। त्यस्तै वर्तमान पुस्ताका कम्युनिस्ट नेताहरूमाथि रत्तिभर विश्वास राख्दैनन् उनी। भन्छन्, ‘यी कस्ता सर्वहारा नेता हुन्, जो पुँजीपतिभन्दा पनि धनी छन्।’ देश कम्युनिस्टमय भए पनि जनतामा भएको धार्मिक आस्था कहिल्यै नमेटिने जोशीको ठहर छ। आस्था मथ्र्यो भने रुसमा ७० वर्षे कम्युनिस्ट शासन ढलेको भोलिपल्टै चर्च र मस्जिदमा मानिसको भीड लाग्दैनथ्यो। आस्था नै भगवान् मान्ने जोशी संसारमा चार मात्रै भगवान् रहेको मान्दछन्। आमा, बाबु, गुरु र पाहुना। जन्म दिने आमा र बाबु नै प्रथम दुई पूज्य भगवान हुन्। त्यसपछि शिक्षादीक्षा दिने गुरु भगवान हुन्। किनभने ज्ञान प्राप्त गरेपछि हामी दोस्रो जन्म पाउँछौं। त्यस्तै घरमा आउने पाहुनालाई पनि भगवान् नै मान्छन् जोशी। पाहुनाको रूपमा सज्जन, दुर्जनका साथै भगवान् पनि आउन सक्छन्। त्यसैले पाहुनाको सत्कारमा कहिल्यै कमी गर्न नहुने उनको तर्क छ। नेवारी संस्कृतिमा रहेको पाहाँचह्रे पर्व पाहुनाको सत्कार भगवान्सरह गरिनुपर्छ भन्ने सन्देश दिन नै बनेको बताउँछन् उनी।
हाम्रो समाजमा रूख, बिरुवा, ढुंगा, तारा, ग्रह, चन्द्र, सूर्य सबैलाई भगवान्का रूपमा पुज्ने गरिन्छ। नेपालको राष्ट्रिय झन्डामा चन्द्रसूर्य अंकित छ। झन्डामा चन्द्रमा माथि र सूर्य तल राखिनुको मूल कारण प्रस्ट्याउँदै उनी भन्छन्, चन्द्रमा शीतलता र शान्तिको प्रतीक हो। सूर्य रोष र आक्रोशको। हामी नेपालीहरू जुन पनि काम पहिले शान्तिपूर्वक गर्छौं। तर, दमन अत्याचार भए सूर्यझैं राप र तापसहित आक्रोशित पनि हुन सक्छौं भन्ने प्रतीकका रूपमा चन्द्र र सूर्य राखिएको हो।
संस्कृतिविद् जोशीको वृद्ध शरीर थाके पनि मन थाकेको छैन। बौद्धिक रूपमा उनी नयाँ पुस्ताका कोहीभन्दा कम देखिँदैनन्। इतिहास र संस्कृतिका नयाँ पुराना तथ्य नियमित अध्ययन गरिरहन्छन्। नयाँ पुस्ता इन्टरनेट र प्रविधिमार्फत गुगलमा सबै थोक भेटिने आशमा घोत्लिरहँदा जोशी भने आफ्ना पुस्तकालयमा रहेका असरल्ल पुराना पुस्तकहरूमा केही नयाँ कुरा भेटिन्छन् कि भनेर खोजिरहन्छन्। हजारौं पुस्तक छन्, उनको पुस्तकालयमा। अव्यवस्थित, असरल्ल। उनकै सम्पादनमा प्रकाशित रोलम्ब जर्नल तीन दशक प्रकाशित भयो। नेपालको संस्कृति, सम्पदा र इतिहाससम्बन्धी एउटा उच्च कोटीको अनुसन्धानमूलक पत्रिका हो, रोलम्ब। यसका पुराना सबै अंक डिजिटाइज हुने क्रममा छ। तर, नयाँ निस्कने क्रम भने रोकिएको छ।