निजी क्षेत्रकै ठूलो दूध प्रशोधन उद्योग खोलिँदै

निजी क्षेत्रकै ठूलो दूध प्रशोधन उद्योग खोलिँदै

इटहरी : केही दिनअघि विराटनगरस्थित सरकारी दुग्ध विकास संस्थानमा पाउडर दूध प्रशोधन गर्ने मेसिन दुई दिन बिग्रियो। त्यस समय किसानले दूध बेच्न पाएनन्। दैनिक ३३ हजार लिटर दूध किन्ने उक्त संस्थानले दूध नकिनिदिँदा बाहिर बेच्न नसक्ने किसानले लाखौं रकम गुमाए।

त्यसो त नेपालमा दूध बिक्री नहुने समस्या मिल्क होलिडे पनि छ। त्यसैले कतिपय किसानले आफूले उत्पादन गरेको दूध छुर्पी बनाउनेदेखि भारतीय बजारमा लगेर बेच्नेसम्म गर्छन्। दूध उत्पादक किसानले बजार नपाउने समस्याका बीचमा इटहरीमा रहेको एक दुग्ध सहकारीले पूर्वकै दोस्रो ठूलो क्षमताको दुग्ध प्रशोधन केन्द्र निर्माण गरिरहेको छ।

दुग्ध उत्पादन र प्रशोधनमा पूर्वकै अग्रणी संस्था इटहरीको कामधेनु सहकारीले डीडीसी विराटनगरकै स्तरको दुग्ध प्रशोधन उद्योग सञ्चालनमा ल्याउने भएको छ। आँपगाछीमा २५ हजार लिटर क्षमताको दूध प्रशोधन केन्द्र निर्माण गरिरहेको हो।

सुनसरी, मोरङ, झापा, धनकुटालगायत पूर्वका विभिन्न जिल्लाबाट दूध संकलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको कामधेनुले आफ्नो क्षमतालाई तीन गुणा बढाउन लागेको हो। त्यसका लागि अहिले उद्योगको भवन निर्माण गर्ने तथा मेसिनहरू ल्याउने काम गरिरहेको छ।

अहिले दैनिक १३ हजार लिटर दूध किनिरहेको कामधेनुले दैनिक १० हजार लिटर दूध प्रशोधन गरिरहेको छ। नयाँ प्लान्टसहित उद्योग सञ्चालनमा आइसकेपछि अहिलेको मेसिनलाई धनकुटामा लगेर जडान गरी सञ्चालन गर्ने योजना रहेको कामधेनुका कार्यसमिति सदस्य लोचन पौडेलले जानकारी दिए।

दुई बिघा दुई कट्ठा क्षेत्रफलभित्र उद्योग भवन बनिरहेको छ। सँगै कोशी राजमार्गमा स्टलहरूसमेत राख्ने योजनामा छ। ‘उत्पादन र बजारीकरणलाई एकसाथ अघि बढाइरहेका छौं’, पौडेलले भने। अहिले प्याकेट दूध, दही, मोही, पनिर, चीज, खुवा उत्पादन गरिरहेको उद्योगले नयाँ मेसिन ल्याएपछि आइसक्रिम, मिठाइसमेत बनाउने योजना बनाएको छ।

धनकुटामा कामधेनुको चीज उद्योग छ। दैनिक दुई हजार लिटर दूधको चीज उत्पादन गर्ने गरिएको छ। त्यसबाहेक विभिन्न जिल्लामा त्यहाँका सहकारीमार्फत दूध संकलन गर्ने गरेको छ। ५८ वटा कृषि सहकारीलाईसमेत सेयर सदस्य बनाएर काम गरिरहेको कामधेनुले तीनै सहकारीहरू तथा चार सय सेयर सदस्यबाट खर्च जुटाएको छ।

यो केन्द्र निर्माणका लागि २० करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। नपुगेको रकम बैंकबाट ऋण लिने योजना रहेको सेयर सदस्य यादव ढकालले जानकारी दिए।

ढकाल आफैं पनि किसान हुन्। बनिगामा दुग्ध उत्पादक सहकारी संस्थाले किन्ने ८०० लिटर दूधमध्ये उनी एक्लैले दुई सय लिटर दूध बेच्ने सम्झौता गरेका छन्। उनी र उनीजस्तै दूध उत्पादक चार सय जना कामधेनुका सेयर सदस्य छन्।

कामधेनुले नयाँ र ठूलो परियोजना सुरु गर्दै गर्दा उनी पनि उत्साहित छन्। ‘कामधेनुले गाईले खाने घाँसदेखि दूध वा दूधबाट बनेका परिकार उपभोक्ताको गाँसमा पुग्दासम्मको प्रक्रियामा विशेष ध्यान राख्छ’, उनी भन्छन्, ‘हिजो सामान्य परिमाणमा हुने काम बजारको आवश्यकताअनुसार ठूलो परिमाणमा गर्दैछौं, यसले किसानदेखि ग्राहक सबैलाई राम्रो गर्छ।’

कामधेनुले उनका लागि २५ लाख रुपैयाँ ६ प्रतिशत व्याजदरमा व्यवस्था गरिदिएको छ। ‘त्यसले कामधेनुले दूध किन्ने र बेच्ने काम मात्रै गर्दैन’, उनी भन्छन्, ‘किसानलाई सबल बनाउनेतिर पनि ध्यान दिएकाले ठूलो परियोजनाको आँट गरेको हो।’

यो उद्योग बनिसक्दा कामधेनु, कामधेनुको सेयर किनेका दुग्ध सहकारीका सदस्यसमेत गरेर ११ हजार किसानको सेयर मूल्यसमेत वृद्धि हुने अनुमान गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.