चितवनमा मृगौला तस्करी, गिरोहका पाँच पक्राउ
भरतपुर : आर्थिक प्रलोभन देखाई मृगौला बेच्ने पाँच गिरोह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले २०७५ असार २५ गतेदेखि परिचालन गरेको ७ जनाको मेडिकल रेस्पोन्स टिम (एमआरटी)ले विभिन्न स्थानबाट उक्त गिरोहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-४ बस्ने ४१ वर्षीय हरि परियार भनिने दुर्गाबहादुर दर्जी, रौतहट जिल्ला चन्द्रपुर नगरपालिका- ४ बस्ने ३५ वर्षीय बिक्रम पहरी, मकवानपुर जिल्ला बकैया गाउँपालिका- ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्ला बयरवन गाउँपालिका- ६ बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका- ३ बस्ने २८ वर्षीय विशाल नेपाली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
पहरी, प्रकाश तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौंबाट र नेपालीलाई भने साउन ४ गते रसुवाबाट पक्राउ गरिएको प्रहरी नायव निरीक्षक ढकालले बताए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अशिक्षित, गरिब तथा दुर्गम भेगका मानिसलाई आर्थिक प्रलोभन देखाई भारतको दिल्ली पुर्याएर उनीहरूको मृगौला बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रनानि ढकालले बताए।
अरु तस्करको सम्पर्कमा रहि भारतका विभिन्न अस्पताल पुगि १/१ वटा मृगौला बिक्री गरेको र सोही क्रममा सर्वसाधारणलाई प्रलोभनमा पारी अस्पतालको सम्पर्कमा मृगौला तस्कर हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।
'मृगौला खरिद गर्ने मानिस खोजीदिए वापत एकजनाको मृगौला बिक्रीबाटै ५० हजार रूपैयाँदेखि एक लाखसम्म कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,' उनले भने। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको चितवनमा विभिन्न खालका आपराधिक गतिविधि बढ्दै गएको भन्दै प्रहरीले निगरानी बढाएको छ।