पुस्तक नपाउँदा फोटोकपीको भर

पुस्तक नपाउँदा फोटोकपीको भर

 भोजपुर : कक्षा ९ मा अध्ययनरत भोजपुर नगरपालिका–७, डाँडागाउँकी प्रतिविम्ब राईले इन्जिनियर बन्ने लक्ष्यसहित ऐच्छिक विषयमा विज्ञान रोजिन् । तर, शैक्षिक सत्र सुरु भई दोस्रो त्रैमासिक परीक्षा हुन लाग्दा पनि उनको हातमा पुस्तक परेको छैन ।

‘चार महिना पुग्न लाग्दा पनि पुस्तकको अनुहार देख्न पाएको छैन’, उनले भनिन्, ‘परीक्षा आउन लागेको छ, कसरी तयारी गर्ने होला ? ’

उनका १५ जना साथीको पनि हालत उस्तै छ । स्थानीय विद्योदय माविमा ऐच्छिक विज्ञान विषय रोजेका विद्यार्थीले पुस्तक नपाउँदा पढाइमा बाधा पुगेको छ । पुस्तक नआएपछि विद्यालयले अनलाइनबाट पाठ्य सामग्री डाउनलोड गरी पठनपाठन गराइरहेको छ । विद्यालयले काठमाडौंमै पनि पुस्तक पाउन नसकिएको जनाएको छ । विषय शिक्षकलाई जनक शिक्षा सामग्री केन्द्र पठाउँदा पनि पुस्तक नपाइएको प्रधानाध्यापक कमलप्रसाद राईले बताए ।

कक्षा ११ र १२ मा विज्ञान विषय पढाइ हुने भएकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ देखि नै यसलाई ऐच्छिकमा राखिएको विद्यालयले जनाएको छ । तर, पुस्तक अभाव भएपछि शिक्षक र विद्यार्थीलाई पढाइ अघि बढाउन समस्या भएको प्रधानाध्यापक राईले सुनाए ।

‘शैक्षिक सत्रको अगाडि नै अन्य पुस्तक पाइए पनि ऐच्छिक विज्ञान भने अझै पाउन सकिएको छैन’, उनले भने, ‘पुस्तक नपाइएपछि अहिले वेबसाइटका भरमा कक्षा सञ्चालन गर्नुपरिरहेको छ ।’

नयाँ शैक्षिक सत्रसँगै विज्ञान विषय अंग्रेजी संस्करणमा रहेको र अनलाइनमा नेपालीमा रहेकाले पढाउन समस्या भएको विषय शिक्षक हेमबहादुर राईले बताए । प्रत्येक पाठको पाठ्य सामग्री डाउनलोड गरेर पढाउनुपर्दा शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको सुनाउँदै उनले भने, ‘अहिले अनलाइनबाट डाउनलोड गरी फोटोकपी गरेका भरमा पढाउनुपर्ने बाध्यता छ ।’

जनक शिक्षा सामग्री केन्द्रमा जानकारी लिँदा भने पुस्तक छापिएर आइसकेको बताएको विद्यालयले जनाएको छ । ऐच्छिक विषय कति छाप्ने भनेर अन्योल भएका कारण केही ढिला भएको हुन सक्ने जनाइएको छ । विद्यालयका अनुसार केन्द्रले ऐच्छिक विज्ञान ५ हजार पुस्तक छापिएर तयारी अवस्थामा रहेको बताएको छ ।

विद्यालयमा ई–लर्निङ कक्षा प्रभावकारी बनेको छ । कम्प्युटर प्रविधिबाट पुस्तक, विषयगत पाठ्यक्रम र सन्दर्भसामग्री पढ्न र हेर्न पाइने व्यवस्था भएपछि विद्यार्थीलाई यस्तो कक्षा प्रभावकारी बन्दै गएको जनाइएको छ ।

इन्टरनेटका माध्यमबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दुर्गमका विद्यार्थीलाई दिने उद्देश्यका साथ ई–लर्निङ कक्षा सञ्चालनमा ल्याइएको शिक्षक खोमराज धमलाले बताए । विद्यार्थीलाई इन्टरनेटका माध्यमबाट ज्ञान आदानप्रदानका साथै संसारसँग जोड्न सिकाउने उनको भनाइ छ ।

ई–लर्निङ कक्षामा इन्टरनेटका माध्यमबाट सुविधासम्पन्न सहर र विदेशमा बस्ने नेपाली विज्ञबाट पठनपाठन गराउने तयारी विद्यालयले गरेको छ । एकै पटक ८० विद्यार्थीले विषयगत पाठ्य सामग्री र अन्य सन्दर्भसामग्रीलगायत विविध विषयमा अध्ययन गर्न सक्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.