पोखराको राजदरबार नागरिकको पहुँचबाहिर

पोखराको राजदरबार नागरिकको पहुँचबाहिर

पोखरा : फेवाताल किनारमा रहेको पूर्वराजा पोखरा आउँदा बस्ने राजदरबारमा (रत्नमन्दिर) अझै पनि नागरिकको पहुँच पुग्न सकेको छैन। नेपाल ट्रस्टले दुई वर्षअघि नै रत्नमन्दिरलाई म्युजियमका रूपमा विकास गर्ने गरी सरसफाइ, रंगरोगन र प्रवेश टिकटसमेत छापे र काम अघि बढाए पनि थप पूर्वाधार विकास हुन नसक्दा पूर्वराजदरबार नागरिकको पहुँचमा आउन नसकेको हो।

नेपाल ट्रस्टले ०७३ असारभित्र रत्नमन्दिर म्युजियमका रूपमा सर्वसाधारणका लागि खुला हुने बताएको थियो। पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडको तीनतिर अग्लो पर्खाल र एकतिर फेवातालको बीचमा रहेको दरबार कस्तो छ भन्ने पोखरेलीमा मात्र होइन, पोखरा आउने आन्तरिक र बाह्य पर्यटकमाझ कौतुहल बनिरहेको छ।

संग्रहालयका रूपमा विकास गर्ने गरी आवश्यक बजेट अर्थ मन्त्रालयले नछुट्ट्याउँदा रत्नमन्दिर म्युजियमका रूपमा सञ्चालनमा ल्याउन नसकिएको नेपाल ट्रस्ट इन्जिनियर श्रीकान्त भट्टराईले बताए। रत्नमन्दिर दरबारलाई म्युजियमको रूपमा विकास गर्न ०७३ सालमै स्टिमेट गरी ५ करोड रुपैयाँ माग गरिए पनि अर्थ मन्त्रालयबाट अहिलेसम्म रकम नछुट्ट्याएकाले काम अघि बढ्न नसकेको इन्जिनियर भट्टराईले सुनाए। रत्नमन्दिरलाई म्युजियमका रूपमा विकास गर्न अहिलेको संरचनाले मात्र नहुने भएकाले समस्या परेको हो। रत्नमन्दिर ५ सेक्टरमा विभाजित छ।

पछिल्लो समय रत्नमन्दिरको मुख्य भवनको ढुंगाको छाना चुहिने गरी बिग्रेका कारण मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको नेपाल ट्रस्ट इकाइ कार्यालय रत्नमन्दिरका कार्यालय प्रमुख कृष्ण गुभाजुले बताए। उनका अनुसार दुई वर्षअघि नै विदेशी नागरिकलाई प्रवेश शुल्क १ हजार, नेपालीलाई १ सय र ज्येष्ठ नागरिक र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरी टिकटसमेत छापे पनि बजेट अभावमा काम अघि बढ्न नसकेको हो।

रत्नमन्दिर दरबार सबैका लागि खुला भएपछि आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने पोखराका पर्यटन व्यवसायी बताउँछन्। रत्नमन्दिरलाई पर्यटक एक दिन भुल्न मिल्ने गरी पूर्वाधार विकास गरी तत्काल सञ्चालन गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले बताए। अन्तर्राष्ट्रिय रूपमै ख्याति कमाएको फेवाताल र तालको बीचमा रहेको ताल बाराही मन्दिर अवलोकन र दर्शन गर्न दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन्। फेवातालको मुख्य आकर्षण बाराही मन्दिर आउजाउ त्यही पूर्वराजा बस्ने दरबार छेउ भएर गर्नुपर्छ। त्यसैले पनि स्वदेशी तथा विदेशी पर्यटकमा पूर्वराजा बस्ने दरबार कस्तो होला भन्ने नागरिकको कौतुहल मेट्न पनि दरबार छिट्टै सञ्चालनमा आउनुपर्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए।

नेपाल ट्रस्ट सञ्चालक समितिको ०७३ वैशाख ८ गते बसेको बैठकले रत्नमन्दिरलाई पर्यटक आकर्षण गर्ने गरी संग्रहालयसहित स्वप्न बगैंचाका रूपमा विकास गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै ट्रस्टले मर्मत सम्भारसमेत गरेको थियो। रत्नमन्दिर म्युजियमका रूपमा सञ्चालनमा आउनुअघि टिकट घर, पर्यटक भित्र पस्ने, बाहिर निस्कने निश्चित स्थान, पर्यटक भित्र छिरिसकेपछि चार÷पाँच घण्टा घुम्नेगरी गार्डेन, वि श्राम स्थल, सुरक्षा प्रबन्ध मिलाउनुका साथै, खानेपानी, शौचालयलगायत पूर्वाधारका काम गर्नुपर्ने भए पनि बजेट अभावमा काम अधुरै रहेको छ।

राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।

रत्नमन्दिरलाई छिट्टै म्युजियमका रूपमा विकास गरी आवश्यक पूर्वाधार तयार गरेर सञ्चालनमा ल्याउनुपर्ने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए। बोटानिकल गार्डेनसहित फेवाताल संरक्षण हुने गरी म्युजियम सञ्चालनमा आउनुपर्ने उनले सुझाए। पोखरामा नेपाल ट्रस्टको १ सय ७५ रोपनी जग्गा छ। रत्नमन्दिर, हिमागृह, रत्नमन्दिरसँगैको ताल किनारको फुटबल ग्राउन्ड र पोखराको रत्नचोकमा रहेको जमिनसहित ट्रस्टको १ सय ७५ रोपानी जग्गा रहेको ट्रस्टले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.