युभेन्टस छाडेर हिग्वेन मिलानमा
मिलान : युभेन्टस छाडेर ऋणमा अर्को इटालियन क्लब एसी मिलान पुगेका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनलाई सानसिरोमा समर्थकले भव्य स्वागत गरेका छन् । एसी मिलान जाने सहमति बनेपछि हिग्वेन पहिलोपटक शुक्रबार सानसिरो पुगेका हुन् ।
युभेन्टसका मुख्य स्ट्राइकर रहँदै आएका हिग्वेन टोलीमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै मिलान जाने निर्णयमा पुगेका थिए । पोर्चुगिज स्ट्राइकर रोनाल्डो रियलमा नौ वर्षको बसाइपछि १० करोड पाउन्डमा युभेन्टसमा अनुबन्ध भएका छन् । त्यससँगै हिग्वेनले युभेन्टस छाड्ने इच्छा व्यक्त गरेका थिए । उनको त्यही इच्छाअनुसार युभेन्टसले हिग्वेनलाई एसी मिलानमा ऋणमा पठाउने निर्णय गरेको हो ।
हिग्वेनका एजेन्टले जनाएअनुसार एक वर्षको ऋणको सम्झौतापछि उनले एसी मिलानसँगै आधिकारिक सम्झौता गर्ने तयारी गरेका छन् । हिग्वेनले आवश्यक स्वास्थ्य परीक्षणसमेत सम्पन्न गरिसकेका छन् । यो सम्झौतामा अन्य दुई खेलाडीले पनि क्लब परिवर्तन गरेका छन् । माटिया काल्डारा पनि हिग्वेनसँगै युभेन्टसबाट मिलान पुगेका छन् भने रक्षक लियोनार्दाे बोनुसी मिलानबाट युभेन्टस फर्किएका छन् ।
हिग्वेन सन् २०१६ मा सात करोड ९० लाख पाउन्डमा नापोलीबाट युभेन्टस पुगेका थिए । ३० वर्षीय हिग्वेनले युभेन्टसमा बिताएको दुई सिजनमा घरेलु सिरी ए लिग र कोपा इटालियाको उपाधि जितेका छन् । युभेन्टसका लागि उनले सबै प्रतियोगितामा गरी एक सय पाँच खेल खेल्दै ५५ गोलसमेत गरेका छन् । सिरी ए लिगमा मात्रै उनले ७३ खेल खेल्दै ४० गोल गरेका थिए ।