स्कुले बालकको अपहरणपछि हत्या

स्कुले बालकको अपहरणपछि हत्या

काठमाडौं : सुरक्षा र सुविधाको पहिलो केन्द्र मानिने राजधानीमा सोमबार एउटा क्रुर र त्रासद् घटना सार्वजनिक भएको छ। ११ वर्षीय स्कुले बालक निशान खड्काको अपहरण भएको २४ घण्टा नबित्दै हत्या गरिएको छ।

काँडाघारीमा चिया पसल चलाउने चमेली खड्का र मलेसियामा वैदेशिक रोजगारीमा रहेका गणेशबहादुरका छोराको अपहरणकारीले हत्या गरेका हुन्। आइतबार साँझ निशान अपहरणमा परेका थिए।

आमा चमेलीले सोचेकीसम्म थिइनन्, यति ख्यालख्यालमै छोराको ज्यान जाला भन्ने तर त्यही नसोचेको घटना भइदियो, उनको जीवनमा।

आइतबार साँझ छोरो हराएपछि भौंतारिएकी चमेलीको मोबाइलमा एक्कासी फोन आउँछ, ‘तिम्रो छोरा हामीसँग छ। सकुशल चाहिन्छ भने ४० लाख बुझाऊ।’ पति वैदेशिक रोजगारी सिलसिलामा मलेसिया गएपछि जीविकोपार्जनका लागि पसल चलाइरहेकी चमेली ४० लाख फिरौती मागिएपछि अल्तालिइन्।

राति नौ बजे चमेलीका चिया पसलमा स्थानीयको भीड लाग्यो। प्रहरीको १०० नम्बरमा घटनाको बेलिबिस्तार पुगेसँगै प्रहरी निशानको खोजीमा जुट्यो।

केही दिनअघि मात्रै नक्कली अपहरणका घटनाबारे जानकार प्रहरीले सुरुमा यस घटनालाई पनि सामान्य रूपमा बुझेको थियो। तर फिरौतीबापत ४० लाख मागेको थाहा पाएपछि काठमाडौं प्रहरी र महानगरीय प्रहरी अपराध महाशाखाको टोली निशानको खोजीमा लाग्यो।

सुरुमा आफन्त र छरछिमेकमा धुइँपत्ताल निशानको खोजी गर्दा नभेटिएपछि चमेलीसँग फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बरको लोकेसन सेवाप्रदायक संस्थासँग मागियो। भक्तपुर ठिमीमा लोकेसन देखिएपछि प्रहरी टोली उतै पुग्यो।

करिब डेढ सय प्रहरी परिचालन गरेर खोज्दा पनि निशान भेटिएनन्। सोमबार बिहान साढे १० बजे फिरौती माग्ने नम्बर भक्तपुर नगदेशमा देखिएपछि प्रहरीले उक्त क्षेत्रमा ‘सर्च अपरेसन’ चलायो। अपरेसन चल्दै गर्दा स्थानीय एक व्यक्तिको बन्दै गरेको घरको डीपीसी नजिकै खनेको आलो माटो देखेपछि शंका लागेर खोतल्दा निशानको शव फेला पर्‍यो।

मुखमा रुमाल र खुट्टामा टेप बाँधेर कुप्रो पारेर गाडिएको अवस्थामा निशानको शव फेला परेपछि प्रहरी टोली निराश बन्यो। अब प्रहरी टोली अपहरणकारी पत्ता लगाउने अभियानमा जुट्यो। मोबाइल फोनको लोकेसन ट्रयाक गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिकास्थित पाइलटबाबाको आश्रम जाने जंगलको बाटोमा देखियो। प्रहरी टोली उतै लाग्यो।

झमझम पानी परेको सुनसान ठाउँमा दुई युवा देखेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो। तर, सोधपुछका क्रममा उनीहरू भागे। प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई नै पेस्तोल ताकेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलायो।

प्रहरी इन्काउन्टरमा दुई युवा नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका अजय तामाङको घटनास्थलमै मृत्यु भयो। प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, दुई राउन्ड गोली र चमेलीलाई फोन गरेर फिरौती माग्न प्रयोग गरेको सिमकार्ड समेत बरामद गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार निशानको अपहरण गर्ने गोपाल र अजय समयसमयमा चमेलीको चिया पसलमा आउजाउ गर्थे। ‘निशानका पिता विदेश गएको थाहा पाएर पैसा हुन सक्छ भन्ने अनुमान लगाउनु, चिया पसलबाट पनि आम्दानी भएको हुन सक्ने पत्ता लगाएरै अपहरणकारीले निशानको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ,’ एसएसपी सिंहले भने, ‘पहिलो भेटमै निशानलाई अपहरण गरी फिरौती माग्न सम्भव देखिंदैन। हामी थप अनुसन्धान गर्दैछौं।’

घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतका अनुसार चमेलीको चियाखाजा पसलमा अपहरणकारीमध्येका गोपाल प्रायः चिया खाजा खान आइरहन्थे। ती अधिकृतले भने, ‘आइतबार पनि गोपालले चमेलीकै पैसा लिएर मोबाइल खरिद गरी ल्याइदिएका थिए। मोबाइल किन्न गोपालसँगै निशान पनि गएका थिए। पसलमा उनले दुईवटा बियर पनि खाएको देखिन्छ। मोबाइलमा निशानले सिमकार्ड राखिदिएको एक छिनपछि गोपाल बाहिर निस्कन्छन्। केहीबेरमा निशानको अपहरण भएको देखिन्छ। सबै बुझेरै निशानको अपहरण गरेको हुनुपर्छ।’

इन्काउन्टरमा प्रहरीले १८ राउन्ड गोली फायर गरेको जनाएको छ।

मृतक निशान सिनामंगलस्थित हाइल्यान्ड इंग्लिस सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए। प्रहरीले निशानसहित तीनै जनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्ज लगेको छ।


२०६८ मंसिरपछिको दर्दनाक घटना


सोमबारको घटना २०६८ मंसिर २ गतेपछिको त्रासद् घटना हो। ०६८ मा ११ वर्षीय बालक शुभम साहको बाफलबाट अपहरण भएको थियो। अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर ५० लाख रूपैंया फिरौती मागेका थिए।

फिरौती दिनुअगावै साह चिच्याएर कराएको भन्दै अपहरणकारीले हत्या गरेका थिए। साहको शव सीता यातायातको काउन्टरबाट सुटकेसमा राखिएको अवस्थामा बरामद भएको थियो।

२०६३ भदौमा अर्का ८ वर्षीय बालक विवेक शर्मा लुइँटेलको हत्या भएको थियो। कोटेश्वरबाट अपहृत लुइँटेलको रिहाइका लागि अपहरणकारीले लुइँटेलका परिवारसँग २० लाख रूपैंया मागे पनि समयमा फिरौती नदिएको भन्दै हत्या गरी धोबीखोला किनारमा शव बोराभित्र राखी फालेर हिंडेका थिए।

२०७३ फागुन ५ मा न्यूरोडका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गर्ने गिरोहले पोल खुल्ने डरमा आफ्नै समूहकी राधिका श्रेष्ठको हत्या गरेका थिए। अग्रवाललाई भने प्रहरीले सकुशल रिहा गरेको थियो।

२०७४ साउन ५ मा पाँच वर्षीय बालक विशाल चौधरी क्षेत्रपाटीस्थित स्कुलको गेटबाटै अपहरणमा परेका थिए। ५० लाख फिरौती दिए बच्चा छाडिदिने भन्दै अपहरणकारीले धम्क्याए पनि परिवारले प्रहरीको सहयोगमा चौधरीलाई सकुशल रिहा गर्न सफल भएको थियो।

चौधरी परिवारको प्रहरीसँगको निकट समन्वय देखेपछि अपहरणकारी चौधरीलाई छाडेर भागेका थिए।

२०६६ जेठ २२ मा जुविलियन्ट कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययनरत ख्याती श्रेष्ठलाई उनकै विज्ञान विषयका शिक्षक वीरेन श्रेष्ठले अपहरण गरी हत्या गरेका थिए। उक्त घटना निकै क्रुर र अमानवीय थियो। वीरेनले ख्यातीको हत्या गरी शव टुक्राटुक्रा पारेर फालेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.