टेकोमा अडिएको रूखको कथा

बिरुवा रोपेर पानी हाल्दै बिस्तारै हुर्काउने अनि हरियाली बनाउने हाम्रो प्रचलन छ। तर, छिमेकी देश चीनको सिचुवान प्रान्तमा भने रूख नै रोप्ने अभ्यास गरेर हरियाली बनाएको पाइयो। एक रूखको छेउछाउ १० वटासम्म टेको दिएर रूखको संरक्षण गरेको पाइयो। सिचुवान प्रान्तको छेन्दु, हुङ्यान लगायतका सडक किनारदेखि बगैंचा, खुला चौरमा समेत रूख नै रोपेर रूखको संरक्षण गरेको पाइयो।
धेरै रूख भएको क्षेत्रबाट खनेर ल्याई खुला क्षेत्रमा रोपेर एकै वर्षमा हरियाली बनाउने चीनको योजना देखेर जोकोही पनि अचम्मित हुन्छन्। अघिल्लो वर्ष भ्रमणमा पुगेको व्यक्ति पछिल्लो वर्ष त्यही क्षेत्रमा पुग्दा त्यहाँ ठम्याउनै हम्मे हुन्छ। रोपिएका रूख एक अबोध बालकलाई गरिएको भन्दा पनि प्यारो गरेर हुर्काउने गरेको पाइयो। माटोको व्यवस्थापन, चारैतिर टेवा, औषधिमूलो र सिँचाइको पूर्ण व्यवस्थापन गरी दुई वर्षसम्म हेरचाह गरी एक वयस्क रूख हुर्काउने गरिएको छ। यसरी उजाड डाँडालाई चिनियाँहरूले योजना निर्माण गरी पाँच वर्षमा पूरै घना जंगलमा विकास गर्ने गरेको उदाहरण प्रशस्तै रहेछ। सहरका सडकदेखि गाउँ क्षेत्रमा रूख रोपेरै हरियाली बनाउन चिनियाँहरू माहिर नै देखिए।
घाँसदाउराका लागि भन्दा बढी फलफूल उत्पादन हुने गरी हरियाली विकास गर्ने र जीवनस्तर पनि उकास्ने लक्ष्य राखेको पाइन्छ। चिनियाँ विकासलाई हेर्दा योजना र अनुशासन नै मुख्य भएको पाइयो।
नेपालमा भएका हालसम्मको अभ्यास हेर्दा प्रत्येक जिल्लादेखि इलाका वन कार्यालयसम्म बिरुवा उमार्न, बिरुवा रोप्न, गोडमेलदेखि व्यवस्थापनका लागि वार्षिक अर्बौं बजेट विनियोजन हुँदै आएको छ। तर, वन क्षेत्रको विकासमा भने बजेट अनुसारको नतिजा आउन सकेको छैन। चिनियाँ योजनाजस्तै नेपालले पनि समन्वयकारी दीर्घकालीन योजना ल्याएर वन क्षेत्रको विकास गर्नसक्ने देखिन्छ। वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको पाँचवर्षे योजनामा वन क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ।
वन क्षेत्रलाई विकास गर्न वृक्षरोपण मात्र हैन, व्यवस्थापन पनि मुख्य हो भनेर यो उदाहरणलाई हेर्न सकिन्छ। आठ वर्षमा बिरुवा रोप्नका लागि मात्र वन मन्त्रालयले डेढ अर्ब खर्च गरेको छ। तर, वर्षौंदेखिको उही प्रकृतिको कार्यक्रम हुँदा कर्मचारीले कमाई खाने बाटो मात्र भएको छ। वन विभागको योजना तथा अनुगमन महाशाखाका अनुसार आठ वर्षको अवधिमा बिरुवा खरिदका लागि ११ करोड ४६ लाख १३ हजार र रोप्नका लागि एक अर्ब ५४ करोड ६० लाख नौ हजार रुपैयाँ खर्च भएको छ।
विभागले आर्थिक वर्ष २०६६ देखि २०७४ सम्म मुलुकभर पाँच हजार ६ सय ६१ हेक्टर सरकारी र ९७ हेक्टर निजी जमिनमा वृक्षरोपण गरेको जनाएको छ। तर, बिरुवा नजोगिएर वन क्षेत्र विकास हुन सकेको छैन। आठ वर्षमा विभागले एक हजार सात सय १४ हेक्टर जमिनमा पुनः वृक्षरोपण गरेको छ। ४४ दशमलव ७४ प्रतिशत भूभाग वन क्षेत्र छ। जब कि वन मन्त्रालयको तथ्यांक हेर्ने हो भने रोपिएका सबै बिरुवा बाँचेको भए नेपालमा ८० प्रतिशत वन क्षेत्र हुने थियो।
प्रतिक्रिया दिनुहोस !
