आस्थाकी देवी पाथीभरा

आस्थाकी देवी पाथीभरा

नाकै ठोक्किने उकालोमा खुईय गर्दै हिँडे पनि हिमथोपा मिश्रित हावामा रम्नुको मजै बेग्लै। अझ वसन्त ऋतुमा फुलेको गुराँसको रङले दिलमा उमंग भरिदिन्छ। ताप्लेजुङ बजारदेखि उकालो लाग्दैमा प्रकृतिले चिसो बतास हम्किरहन्छ। गाडीबाट तल्लोफेदीमा पुगेर ओर्लिएपछि पैदलयात्रा प्रारम्भ हुन्छ। लेकाली हावापानीलाई पचाएर त्यो चिसोमा होटल चलाउनेहरूको चाहिँ आफ्नै दिनचर्या छ। यद्यपि, सबै चिजको पैसा लागे पनि तातोपानी चाहिँ सित्तैैमा पिउन पाउने सुविधालाई पक्कै पनि सम्मान गर्नैपर्छ। 

ओढारमा सुत्दा

अहिलेको होटेलको सुविधादेखि तल्लो फेदीसम्म मोटरबाटो पुगेको परिस्थितिले विगतको दुःखलाई बिर्साइदिएको छ। उसबेला ढाकर वा ठूलो झोलामा सामलतुमल र ओढ्नेओच्छ्याउनेसहितको भारी बोकेर डाँडा चढ्दै र तल झर्दै यात्रा गर्नुपथ्र्यो। बाटो पनि साँघुरो, चिप्लो, घारीघुरीयुक्त। देउरालीदेखि उकालो चढेपछि त अहिले जसरी सिधा बाटो खनिएको थिएन।ढुंगाले छापिएको बाटै थिएन। जुकाले शरीरका भित्री अंगसम्म पुगेरै टोक्थ्यो। कतिपयले त बाघभालुले मान्छे मार्छ भनेर डरसमेत थपिदिन्थे। घनघोर जंगलका बीचबाट चराचुरुंगी अनि लेकाली कागको धोद्रे आवाज निरन्तर गुञ्जायमान हुन्थ्यो।अनकन्टार जंगलमा एक्लैदोक्लै हिँड्न सम्भव पनि थिएन। कतैकतै गोठालाहरूको याक्सा (सानो टहरो) बाहेक अहिले जस्तो बस्ती कहीँ कतै देखिँदैनथ्यो। तल्लो फेदीदेखि उकालो लागेपछि त भेडीगोठ वा कुनै याक्सासम्म पनि देख्न मुस्किलै हुन्थ्यो।  ताप्लेजुङबजारदेखि बिहानै हिँडेर

पाथीभरा परिसरसम्म पुग्न झन्डै ८–१० घण्टा लाग्थ्यो। कतिपय हिँड्न सक्नेहरू त बिहान २–३ बजे नै उठेर जान्थे अनि साँझसम्ममा सदरमुकाममै फर्केर आइपुग्थे पनि। तिनलाई सामलतुमलको भारी बोक्नुपर्ने झन्झट हुँदैनथ्यो। तर, यसरी यात्रा गर्ने कुरा सबैका लागि सम्भव थिएन। आरामसँग पुगेर फर्कन्छुभन्दाचाहिँपुग्दै दुई दिन पनि लाग्थ्यो। 

अझ यात्रु बास बस्ने पाटीहरू बन्नुभन्दा पहिलाको स्थिति त काल्पनिक कथाजस्तो थियो।सदरमुकामदेखि दिनभरि हिँडेपछि मास्लोफेदीतिरको कुनै गुफामा बास बसिन्थ्यो। दर्शनार्थीले आफूलाई चाहिने सामानलाई समूहमा भाग लगाएर बोक्दा पनि सबैको भारी पुगेकै हुन्थ्यो। तर, बास बसेपछि भोलिपल्टचाहिँ आफ्ना ओढ्नेओछ्याउने आफू बसेकै ओढारतिर राखेर पूजाको सामान मात्रै बोकिन्थ्यो अनि फर्कंदा आ–आफ्ना सरसामग्रीबोकेर झरिन्थ्यो। पछि पाटीहरू बनेपछि त बिस्तारै कुहिरोबाट पानी तान्ने मेसिन जडान गरियो, शौचालयको व्यवस्था भयो, बत्ती पुग्यो। अहिले त इन्टरनेटको सुविधासमेत पुगिसकेको छ। केबलकारका विषयमा पनि केही चर्चा भइरहेको सुनिन्छ। 

पाटीहरू अनि अहिलेका होटेलहरू बन्नुअघि मन्दिरको छेउछाउमा बस्न मिल्ने ठाउँ थिएन। अनि, मन्दिर नपुग्दैको जंगलको ओढारमा पातपतिंगर ओछ्याएर घरदेखि बोकेर लगेको राडीमा लस्करै सुतेको याद पनि लोककथा जस्तै लाग्छ–बाटामा पानी नपाइने। भुटेको मकै, भटमास टोक्दै हिँडेपछि तिर्खा लाग्थ्यो। एउटा कुवाजस्तो ठाउँबाट बोकेर लगेको पानी पनि मास्लोफेदीबाट उकालो लाग्दाओर्दा सक्कियो। राति खाना पकाउने पानी भएन। बास बस्ने ओढारसम्म पुग्दा अँध्यारै भइसकेको थियो। त्यसपछिपहरो रसाएर झरेको पानीलाई एउटा भाँडामा थापियो। वरिपरि हिउँ भए पगाल्ने भनेर खोजी त गरियो तर सायद पग्लिसकेछ क्यार। रात परिसकेको थियो। पुरुषहरूले कम्मरमा खुकुरी भिरेर दाउराको जोरजाम गर्ने अनि महिलाहरूले त्यही जम्मा भएको पानीबाट गुन्द्रुक र भात पकाउने काम हुन्थ्यो। कतिपयले चाहिँ दिनभरि हिँड्दा बाटो छेउको निगुरो बटुल्दै बेलुकाको तरकारीको जोहो गरेका हुन्थे। झमक्कै हुँदा बास बस्ने भनिएको ओढारमा पुगिन्थ्यो। उस्तो धेरै मान्छेको भिड देखिन्नथ्यो। सबैजसो यात्रुले ओढारै खोजेर बास बस्नुपर्ने हुँदा कतै खाली ओढारै नभेटिने पो हो कि भन्ने चिन्ताचाहिँ हुन्थ्यो। बेलुका लाल्टिन वा टर्चलाइटसम्म बाल्ने गरेको स्मरण छ। 

दिनभरिको हिँडाइले थाकेको शरीर अनि पसिना ओभाएर हिमाली चिसोले कठ्याएको परिस्थिति। तात्तातो पिरो गुन्द्रुकको झोल र भातको स्वाद साँच्चै अमृत समान लाग्थ्यो। भोक लागेपछि त्यसै मीठो हुन्छ, अझ चिसो ठाउँमा प्रायः मीठै लाग्छ। ओढारमुनि केही झिक्राझिक्री, केही पातपतिंगरमाथि राडी ओछ्याउने अनि आ–आफ्ना ओढ्ने ओढेर सुतियो। 

छेउमा धुपीका दाउरा, केही सुकेका रुखका मुढालाई रातभरि बलिरहोस् भन्ने अपेक्षा गरिन्थ्यो। सायद प्रकृतिको आफ्नै अनुकूलता पनि होला– काँचै हाँगा पनि पटट पटकँदै बलेको देख्दा अचम्म लाग्थ्यो। 

उज्यालो नहुँदै उठेर यसो पानीका केही छिटाले शरीरमा छर्किएपछि मन्दिर जाने सुरसार हुन्थ्यो।आखिर पवित्रताकी देवीलाई दिलको स्वच्छता नै सर्वस्व हो तथापि सूचीहुने कुरामाचाहिँ कुनै सम्झौता हुनुभएन। मन्दिरमा अहिलेको जस्तो पूजा गर्ने स्थानको व्यवस्थित संरचना थिएन।खुला स्थानको मन्दिरमागाडिएका केही लिंगा, चढाइएका पूmलपाती, टाँगिएका ध्वजापताकाले मन्दिर सजिएको हुन्थ्यो। मास्लोफेदीदेखि धागो बेर्ने चलन पहिल्यै पनि देखिन्थ्यो। भक्तजनले दिलभित्रबाट आपूmले जानेसम्म अर्चना गर्थे। भजन गाउँदै उकालो चढेको याद छ। मन्दिरमा चढाइएका भेटी पनि जताततै छरपस्ट हुन्थे। अहिले जसरी पुजारी राखिएको थिएन। आ–आफ्नो ढंगले पूजाअर्चना गरेर भक्तजन फर्कन्थे। विशेषतः दर्शनार्थीहरू हप्तौं दिनसम्म, महिनौंसम्म पनि हिँडेरै दर्शन गर्न आउँथे।

आस्थाकी साझा देवी

पाथीभरा मन्दिरको पहाडलाई परबाट हेर्दा अन्नले भरिएको पाथीजस्तै देखिन्छ। कतिपयले पाथीभरालाई पार्वती देवी पनि भन्ने गर्छन्। यद्यपि, यो मन्दिरसँग हिन्दु धर्मावलम्बीको मात्र नभई किराँत, बौद्ध, शैव आदि धर्मावलम्बीको आ–आफ्नै   श्रद्धाभाव गाँसिन्छ। एकजना मुस्लिम सम्प्रदायका व्यक्तिले पनि पाथीभरामा गई वर मागेपछि सन्तान प्राप्ति गरेको कथन यदाकदा सुनिन्छ। लिम्बू भाषामा पाथीभरा मन्दिरलाई ‘मुकुम्लुुङ’ भनिन्छ। ‘मुक्तु’ को अर्थ ‘शक्ति वा बल’ तथा ‘बुङ’ को अर्थ ‘बोट’ (ढुंगा पनि भनिएको) अथवा ‘शक्तिको स्रोत’का रूपमा लिएको पाइन्छ। वास्तवमा ईश्वरले प्राणी मात्रको हित गर्ने भावलाई आस्था र विश्वाससँगै जोडेर हेरेमा मानवताको सौम्य संसार निर्माण हुने हो। यसर्थ नेपालको कोशी प्रदेशअन्तर्गत छिमेकी देश चीन र भारतलाई छुने जिल्ला ताप्लेजुङको चर्चित शक्तिपीठ हो– पाथीभरा। 

माघे संक्रान्तिमा पाथीभरा देवी मकर स्नान गर्न तमोर नदीमा नौमती बाजागाजासहित झर्ने गरेको घटनालाई ग्रामीण बुज्रुकहरू अभैm बताउँछन्। उक्त दिनको प्रभातकालीन रात्रिमा नौमती बाजाको आवाज सुन्ने गरेको श्रुतिकथन अद्यापि छ। परापूर्वकालमा भेडीगोठालाले उँभौलीको समयमा भेडा चराउँदै जाँदा अहिलेको पाथीभरा मन्दिरको स्थानमा भेडा पुर्‍याएका थिए। बिहान उठेर हेर्दा भेडा हराएका र खोज्दै जाँदा दुई युवतीहरू अघि लागेको देखिएको र पछ्याउँदै जाँदा एउटा ओढारमा अलप भएको भन्ने पनि सुनिन्छ। यसपछि गोठालामध्ये कसैलाई सपनामा देवीले ‘मेरो स्थानमा तिमीहरू आएका छौ। तिमीहरूले मेरो पूजा गर। अन्य भक्तहरूसमक्ष मेरो प्रचार गर।’ भनी अह्राएको श्रुतिकथन सुन्न पाइन्छ। त्यसपश्चात् भेडामध्येको सबैभन्दा ठूलो थुँबाको बलि दिएको र पूजा गर्दा देवीले आफ्नो सुन्दर स्थानको दर्शन पनि दिएको कथा सुन्न पाइन्छ। उक्त स्थानलाई मूलधाम भनिन्छ जुन हाल मन्दिर भएबाट अगाडिको अग्लो भागदेखि करिब १०–१५ मिनेट हिँडेपछि पुग्न सकिन्छ। 

मूलधाम निकै भिरालो स्थानमा छ। उक्त स्थानमा पुगे पनि तलतिर खसेमा चोटपटक लाग्न सक्छ। कथनअनुसार भक्तजन बढ्न थालेपछि मूलधाममा गई पूजा गर्न असहज र जोखिमपूर्ण भयो। देवीले एकजना साधुलाई हाल मन्दिर भएको ठाउँमा स्थानान्तरण गर्नु भनेकाले माथि सारिएको कथन सुन्न पाइन्छ।विशेषतः चिताएको वर माग्ने र स्वच्छ मनले माग्नेहरूको इच्छा पनि पूरा हुने गरेको जनविश्वास रहेको छ। यो मन्दिरमा छलछाम गरे दण्ड भोग्नुपर्ने र राम्रो कार्य गरे शुभ हुने विश्वास छ। जुठोसुत्केरो परेका, गर्भिणी र महिनावारी भएकाहरूले देवीको दर्शन गर्नु नहुने मान्यता पनि जोडिएको छ। 

यात्राको रम्यता

हिजोआज ताप्लेजुङ बजारबाट बिहानै गाडीमा गएपछि बेलुका आरामसँग बजारमै फर्किन सक्ने सुविधा छ। हाल दर्शनार्थीको भिड बढ्नुमा यातायातलगायतका सुविधा र प्रचारप्रसार नै मुख्य कारण रहेछन्। अझ २०६३ सालमा भएको पहिलो ‘पाथीभरा महोत्सव’ ले नेपालका भक्तजनको ध्यान खिचेको देखिन्छ। हाल देशभित्र र बाहिरका दर्शनार्थीहरू वर्षको अत्यन्तै चिसो समयबाहेक विशेषतः फागुनपछि मंसिरसम्म नै मन्दिर जाने गरेको पाइन्छ। त्यसमध्ये पनि चैत–वैशाख र दसैँताका भिडभाड हुने गर्छ। यद्यपि, मनकामना, दक्षिणकाली, भद्रकाली, गोरखकालीजस्तै नेपालका दैवी शक्तिपीठहरूले जसरी पाथीभराले अधिक भक्तलाई तान्ने प्रयत्न गरिरहेकै छ। यसबाट नेपालको सुदूरपूर्वी ताप्लेजुङ जिल्ला र पाथीभरा मन्दिरसँगको नातो कसिलो बनिरहेझैं लाग्छ। 

तल्लो फेदीमा पुगेपछि पैदल यात्रा गर्नुपर्ने हुन्छ। मज्जाले हिँड्न सक्नेहरू त्यहाँबाट करिब ३–४ घण्टामा पाथीभरा मन्दिर पुग्न सक्छन्। विशेषतः मास्लो फेदीदेखि उकालो लागेपछि लेक लाग्ला भनेर अनुहारभरि सातु दलेर हिँडिरहेको देख्न पाइन्छ। कोही भुटेको ठेट्नावाला मकै चपाउँदै लट्ठीको सहारामा पाइलो सार्छन्। नवआगन्तुकहरूले असहज महसुस गर्नु स्वाभाविकै हो किनभने मास्लो फेदीमा पुगेर कान्छीथानको दर्शन गरेपछिको उकालोको यात्रामा जंगली पूmलको हावाले श्वासप्रश्वासमा केही प्रभाव पार्न सक्छ। तथापि, हिँडाइका कारण भएको गर्मी र त्यहाँको चिसो हावाबीचको मि  श्रणमा बेग्लै मजा हुने रहेछ। रुखबुटा, चराचुरुंगीका आवाज अनि वनस्पतिको विविधताले मन चंगा भइरहन्छ। प्रायः शून्य डिग्रीसम्मकै तापक्रम हुन सक्ने र मौसम बदली भइरहने परिवेशका कारण कसैकसैलाईचाहिँ लेक लाग्ने समस्या हुन सक्छ। समुद्र सतहदेखि ३,७९४ मिटर अर्थात् १२,४४८ फिट उचाइमा रहेको यस मन्दिरसम्मको यात्रा गर्नुअघि बूढापाकाले अदुवाको टुक्रो वा लसुनको पोटी मुखमा राखेर चुसिरहने सल्लाह दिन्छन्। 

भक्तजनहरूबीच आपसमा चिनजान हुनैपर्छ भन्ने छैन– बाटामा दर्शन गरी फर्केका भक्तजनले ‘अब पुग्नै लाग्नुभयो’ भनी हौसला दिन्छन्। ‘जय पाथीभरा माता !’ ‘पाथीभरा माताकी– जय !’ भने जस्तादेवी पुकारामा पैदल यात्रीहरूको समान आवाज गुञ्जायमान हुन्छ। डाँडामा पुगेपछि मौसम खुला भएका क्षणमा ८,५८६ मिटर उचाइ भएको विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल अनि पाथीभरालाई काखैमा राखेजस्तो देखिने ७,७११ मिटर उचाइको कुम्भकर्ण हिमालसँगै दन्त लहरभैmं लाग्ने फुच्चे हिमालहरूलाई नियाल्न सकिन्छ। यसर्थ सौन्दर्यताको जैविक परिवेश हो– पाथीभराको पर्यावरण। सांस्कृतिक, धार्मिक, पर्यटकीय अनि जैविक विविधताको गन्तव्य पनि। जहाँ प्रकृतिको मनोरम आँचलमा भक्तको भक्ति सागर उर्लिन्छ। प्रकृतिको पावन शालीनतासँगै सौन्दर्यको भावमा दैवी शक्तिपीठहरू सौम्य लाग्ने रहेछन्। 

बहुआयामिक सौन्दर्य र सम्भावना स्थल– पाथीभरा

ताप्लेजुङ जिल्लाका फुङलिङ नगरपालिका, पाथीभरा याङबरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकासमेत सीमा क्षेत्र मानिएको पाथीभरा मन्दिर धार्मिक, जैविक, सांस्कृतिक अनि प्राकृतिक धरोहर हो। नेपालको कोशी पारिका तीनजुरे, मिल्के, गुफा क्षेत्रलगायत पाथीभरा क्षेत्रलाई गुराँसले सजाउँदा डाँफे चरीले सुनमा सुगन्ध थप्छ। प्राकृतिक चाञ्चल्यतामा रमेको भक्ति मन अनि आस्थाकी देवीको दर्शन र भक्तिसँग पाथीभराको गन्तव्यमा मनमोहक कला छ। कान्छीथानदेखि नै ध्वजा, पताका, धागाको डोरोले सजिएको मन्दिरको विशाल परिवेशले भक्तिभावनालाई परिजागृत गर्छ। असत्य मन भयले काँप्छ। शक्तिको केन्द्र र इच्छापूर्ति गर्ने मनोवाञ्छित फलदायिनी देवीको आस्थालाई इलाम, झापाको दुहागढी हुँदै देशभरिका विभिन्न क्षेत्रले शाखा विस्तार गरेका छन्। 

null​​​​​​​

नेपालको पूर्वी क्षेत्रको पाथीभरा मन्दिर धार्मिक, पर्यटकीय तथा पर्यावरणीय संरक्षणको गन्तव्य पनि हो। लेकाली सल्ला, गुराँस, धुपीजस्ता वृक्ष वनस्पति तथा हिम चितुवा, रेड पाण्डा, हरियो लाम्पुच्छ«े, लेकाली भालु, मृग, डाँफे, मुनालको सौन्दर्यताले प्राकृतिक धरोहरलाई जीवन्त राखेका छन्। सिकारी भोटे कागको धोद्रो आवाजलाई सुन्दा पाथीभरा माताको भजन र यात्रुको स्वागतगान गाइरहेझैं लाग्छ। सिंगारिएको प्रकृति र आस्थाकी देवीको शक्तिमा आफ्नै गरिमा सुसज्जित छ। यसक्रममा बाटैको चन्द्र–शंख अंकित प्राकृतिक शिलाचित्रलाई हामी कान्छीथान माथिको बाटोमा नियाल्न सक्छौं। यो पनि प्राकृतिक आकृति नै झैं लाग्छ। 

अगाडि कुम्भकर्णको शीतलतासँगै राता, सेता गरी करिब २६ प्रजातिका गुराँस, तीन सय जति प्रजातिका सुनाखरी, महŒवपूर्ण जडीबुटीसँग वृक्ष वनस्पतिको अनेकता छ। बिख्मा, पाखनबेत, पाँचऔंले, खानक्पा, बूढीओखती, टिमुरलगायतका ओखती भण्डार ताप्लेजुङ र पाथीभराको गन्तव्यमा निजी गरिमा छ। चाप, काउलो, कटुस, लौठसल्लो या त ठिङ्ग्रेलगायतका दजनौं प्रजातिका पृथक् वनस्पतिका आडमा रेडपाण्डाले निगालोको टुसा चपाउँछ। भालु र मृगहरूले आफ्नै भागदौड मच्चाउँछन्। पारिस्थितिक पद्धतिमा स्वच्छता छ। हिमाली चरीहरू पाथीभराका रैथाने भक्तझैं लाग्छन् जसको उल्लास र चपलता झनै मनमोहक हुन्छ।

यात्रुले यात्रा गर्दैगर्दा हरिया डाँडासँग, वन वृक्षसँग दुई चार तस्बिर कैद गर्छन्। डाँडाबाट ताप्लेजुङको मनोरमता, तेह्रथुमको धमिलो दृश्य, रातमा दार्जिलिङको बत्ती बलेको हो कि झैं लाग्ने पनि। धनकुटासम्मका दृश्यलाई कञ्चनजंघा हिमशृंखला, ल्होत्से, मकालुबाट नियाल्न सकिने आसपासको पाथीभरा मन्दिरसँग पर्यटन विकासको गन्तव्य गाँसिन्छ। धार्मिक आस्थामा पर्यटकीय गन्तव्य अनि सांस्कृतिक धरोहरमा पर्यावरणीय सौन्दर्यसँग जैविक, वानस्पतिक विविधताले ताप्लेजुङको समृद्धिमा पाथीभरा मुख्य आधार बन्छ भन्नुमा अत्युक्ति नहोला। 

पाथीभरा मन्दिरको धार्मिक आस्थासँगअलैंची, अम्लिसो, चिरैतोसँग चौंरीगाईको छुर्पीजस्ता चिजको व्यापारिक सम्भावना एकसाथ जोडिन्छ। मीठो जिम्बु झानेको दालको स्वादभित्र ताप्लेजुंगेली संस्कृतिलाई अझै जोड्न सकिएको छैन। स्थानीय क्षेत्रमाउत्पादित मूल्यवान् सामग्रीको प्रशोधन र बजार व्यवस्थापन गरी आर्थिक समृद्धि बढाउने सम्भाव्यता छायाँमै छँदा किसानले कामअनुसारको दाम पाइरहेका छैनन्। यति हुँदाहुँदै पनि, सुविधा व्यवस्थापनसँग पैसा कमाउने भाँडो बनाइने लोभीपापी सोचले पाथीभरा मुसिनुहुन्न। आस्था बेचिनुहुन्न। मन्दिर छेउमा बसेर तीर्थालुसँग जबर्जस्ती पैसा असुल्ने लालची बेथिति हुनुहुन्न। आस्थाकी देवीसँगको आस्थामा आँच आउनुहुन्न।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.