सीपीएलको दोस्रो खेलमा सन्दीपको मध्यम प्रदर्शन
काठमाडौं : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग(सीपीएल)को आइतबार(स्थानीय समय अनुसार शनिबार राति) को खेलमा मध्यम प्रदर्शन गरेका छन् । सीपीएलको दोस्रो खेलमा सन्दीपले आफ्नो टोली 'सान्ट किट्स एण्ड नेभिज प्याट्रियट'का लागि ३ ओभर बलिङ गरी १७ रन दिएर १ विकेट लिएका छन् ।
भेट्रान क्रिकेटर क्रिस गेलको कप्तानीमा रहेको सन्दीपको टोली 'सान्ट किट्स एण्ड नेभिज प्याट्रियट'ले आइतबार ‘ट्रिन्बागो नाइट राइडर्स’सँग प्रतिस्र्पधा गरेको थियो ।
चौथो ओभरमा बलिङ गर्न मैदान छिरेका सन्दीपले ओभरको चौथो बलमा ‘ट्रिन्बागो नाइट राइडर्स’का ओपनर क्रिस लिनलाई बोल्ड गरे । यस ओभरमा उनले रन पनि दिएनन् । त्यसपछि आठौं ओभरमा बलिङ गरेका सन्दीपले ३ रन मात्रै दिएका थिए ।
दुई ओभर बलिङ गर्दा ३ रन मात्रै खर्चेका सन्दीपले अन्तिम ओभरमा बलिङ गर्दा १४ रन खर्चिन पुगे । पहिलो खेलमा हार व्यहोरेको सन्दीपको टोली 'सान्ट किट्स एण्ड नेभिज प्याट्रियट'ले दोस्रो खेलमा ४२ रनको जित निकालेको छ ।
टस हारि पहिले ब्याटिङको निम्ता पाएको 'सान्ट किट्स एण्ड नेभिज प्याट्रियट'ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो । २०४ रनको लक्ष्य पाएको 'ट्रिन्बागो नाइट राइडर्स’ २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रनमै सीमित भयो । सीपीएलको पहिलो खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । ४ ओभर बलिङ गर्दा १२ रन दिएर २ विकेट लिएका थिए ।