नेपाल भियतनामसँग भिड्दै
काठमाडौं : १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’मा रहेको नेपाल समूह चरणको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग १–० गोलले पराजित भएको थियो। जापानसँग रक्षात्मक खेल खेलेको नेपालले खेलको सुरुआतमै गोल खाएको थियो।
यू–२३ टोलीबीचको प्रतिस्पर्धामा नेपाले जापानसँग राम्रो खेलेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई जनही एक सय अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेको छ। एन्फाले नेपाली टोलीले भियतनामलाई हराए जनही एक सय ५० र पाकिस्तानलाई हराएमा एक सय अमेरिकी डलर पुरस्कार दिने पनि जनाएको छ।
समूह चरणको अन्तिम खेल नेपालले अगस्ट १९ मा पाकिस्तानसँग खेल्नेछ। नेपालसहित जापान, पाकिस्तान र भियतनाम रहेको यस समूहमा भियतनाम पनि बलियो प्रतिद्वन्द्वी हो। आफ्नो पहिलो खेलमा भियतनामले पाकिस्तानलाई ३–० गोलले पराजित गरिसकेको छ। एसियाड फुटबलमा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो टोली अघिल्लो चरणमा पुग्नेछन्।
नेपाली टोली तीन महिना लामो घरेलु तयारी गरेर थाइल्यान्ड हुँदै एसियाडमा सहभागी हुन इन्डोनेसिया पुगेको थियो। नेपालीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। नेपाल दुईवटै अभ्यास खेलमा पराजित भएको थियो। तीनजना सिनियर खेलाडी राख्न पाउने प्रावधानअनुसार नेपालले कप्तान एवं गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई टोलीमा राखेको छ।