फिफा वरीयतामा नेपालको स्थान यथावत्
काठमाडौं : फिफा वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ६१औं स्थानमा यथावत् छ । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । एक स्थान सुधार गरेको भारत समग्रमा ९६औं स्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्रमा वरीयतामा एक सय ५०औं स्थानमा यथावत् छ ।
यसैगरी चौथो स्थानमा रहेको भुटान एक सय ८३, पाँचौं स्थानमा रहेको बंगलादेश समग्रमा एक सय ९४, श्रीलंका दुई सय र पाकिस्तान दुई सय एक स्थानमा छन् । एसियाको शीर्ष स्थानमा रहेको इरान समग्रमा ३२औं स्थानमा छ । अस्ट्रेलिया ४३औं स्थानमा छ भने जापान ५५औं स्थानमा छ ।
यसैगरी विश्वकप विजेता फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ । फ्रान्सले ६ स्थान सुधार गरेको छ । एक स्थान सुधार गरेको बेल्जियम दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल एक स्थान खस्कँदै तेस्रो स्थानमा झरेको छ । १६ स्थान सुधार गरेको क्रोएसिया चौथो स्थानमा उक्लिएको छ । उरुग्वे नौ स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।