कीर्तिमानी धावकलाई कालो रङ प्यारो
मेलवर्न : कीर्तिमानी धावक उसेन बोल्टले दोस्रो इनिङका रूपमा फुटबललाई रोजेका छन्। एथलेटिक्सबाट सन्न्यास लिएपछि व्यावसायिक फुटबलर बन्ने ध्याउन्नमा रहेका बोल्टले विभिन्न क्लबमा ‘ट्रायल’ दिइसकेका छन्।
अहिले उनको रोजाइमा परेको अस्टे«लियन क्लब कोस्ट मारिनर्स। त्यहाँ फुटबल अभ्यास गर्न जान लागेका बोल्टले आफ्ना लागि केही विशेष व्यवस्था नगर्न क्लबलाई भनेका छन्। बोल्टले चाहे जति प्रशिक्षण दिन कोस्ट मारिनर्स तयार भएपछि शनिबार अस्ट्रेलियाको गोस्टफोर्स आउन लागेका उनले आफ्ना लागि एउटा कालो रङको कारको व्यवस्था गर्न भनेका छन्।
कोस्ट मारिनर्सका प्रमुख कार्यकारी सान माइकल क्यापले बोल्टले कालो रङको कारको व्यवस्था गर्न भनेको बताए। उनले आठ पटकका ओलम्पिक स्वर्ण पदक विजेता बोल्टको स्वागतमा के-के व्यवस्था गर्ने भनेर सोध्दा मात्र कालो रङको कार मात्रै व्यवस्था गर्न भनेको बताए। बोल्टले निजी सुरक्षाकर्मी, फ्रान्सको पानीलगायत केही पनि माग नगरेको स्पष्ट पारे।
एथलेटिक्स खेलबाट सन्न्यास लिएपछि सार्वजनिक रूपमै बारम्बार फुटबल खेल्ने इच्छा व्यक्त गर्दै आइरहेका बोल्टले विभिन्न क्लबसँग अभ्यास गरिसकेका छन्। जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड, दक्षिण अफ्रिकन क्लब सन्डाउन्स र नर्वेको स्ट्रोम्सगोड्सेटमा समेत अभ्यास गरिसकेका बोल्टका लागि अस्टे«लियन क्लब चौथो गन्तव्य बनेको छ।
एक सय मिटर र दुई सय मिटरका विश्व कीर्तिमानी बोल्टले व्यावसायिक रूपमा फुटबल खेल्ने आफ्नो इच्छा भए पनि तत्काल आफ्ना लागि मुस्किल रहेको बताएका छन्। ‘व्यावसायिक रूपमा फुटबल खेल्ने मेरो सपना छ। तर त्यसका लागि निकै मेहनत चाहिन्छ। अस्टे«लियन लिग खेल्न सक्ने स्तरमा पुग्न अझै धेरै अभ्यास र मेहनत गर्न आवश्यक छ’ बोल्टले भनेका छन्।
सन् २०१७ मा एथलेटिक्सबाट सन्न्यास लिएपछि फुर्सदमा रहेका जमैकन बोल्टले विभिन्न क्लबमा पुगेर फुटबल अभ्यास गर्दै आइरहेका छन्।