जीर्ण बन्दै फेवा किनारको राजदरबार
पोखरा : फेवाताल किनारमा रहेको पूर्वराजा पोखरा आउँदा बस्ने रत्नमन्दिर संरक्षण अभावमा जीर्ण बनेको छ । मुख्य दरबारको छानोबाट यसै वर्षाको मौसमदेखि पानी चुहिन थालेपछि रोक्ने र टालटुल पार्ने काम थालिएको छ । दरबार सुरक्षाका लागि लगाइएको कम्पाउन्ड वाल पनि भत्किएपछि र टिनले बारेर राखिएको छ ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको दरबार संरक्षण नहुँदा यस्तो अवस्था आएको हो । पोखरेलीले दरबारलाई संग्रहालयको रूपमा सञ्चालनमा ल्याउन माग गरे पनि काम भने भएको छैन । नेपाल ट्रस्टले डेढ वर्षअघि नै रत्न मन्दिरलाई संग्रहालयको रूपमा विकास गर्ने गरी प्रवेश टिकटसमेत छापेर काम अघि बढाए पनि मर्मतसम्भार र पूर्वाधार विकासका लागि आवश्यक बजेट नआउँदा समस्या परेको ट्रस्टका कर्मचारीले बताए ।
रत्नमन्दिरलाई संरक्षण गरी संग्रहालयको रूपमा विकास गर्ने योजना बनाई २०७४ मा ५ करोड रुपैयाँ लागत अनुमानको खाका तयार पारिएको थियो । सोहीअनुसार अर्थमन्त्रालयमा रकम माग गरिए पनि मन्त्रालयले रकम उपलब्ध नगराउँदा निर्माण हुन नसकेको ट्रस्टका इन्जिनियर श्रीकान्त भट्टराइले जानकारी दिए । तै पनि दरबारको चुहिने छानो मर्मत गर्न, भत्केको कम्पाउन्ड वाल र कोल्टे परेको कम्पाउन्ड वाललाई पुर्न, तत्कालै ३३ लाखको लागतमा काम गर्ने गरी प्रक्रिया अघि बढेको इन्जिनियर भट्टराइले सुनाए ।
नेपाल ट्रस्टको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ । सञ्चालक समितिको अध्यक्षमा गृहमन्त्री, उपाध्यक्ष मुख्यसचिव र गृह, शिक्षा, स्वास्थ्यलगायत ५ मन्त्रालय सदस्य रहने व्यवस्था छ । पूर्वराजाको नाममा रहेको सम्पत्ति सरकारले अति दुर्गम गाउँका स्थानीय बालबालिकाको शिक्षा र स्वास्थ्यमा अधिकतम लाभ पुग्ने गरी ट्रस्टको आम्दानी लगाउने गरी व्यवस्था गरेको छ । फेवा किनारमा रहेको राजदरबारलाई संग्रहालयको रूपमा सञ्चालन गर्न सके यसबाट हुने आम्दानी ट्रस्टको उद्देश्यअनुसार उपयोग गर्न सहयोगी हुने ट्र्स्टका कर्मचारी बताउँछन् ।
ट्रस्टले २०७३ असारभित्र रत्नमन्दिर दरबार म्युजियमका रूपमा सर्वसाधारणका लागि खुला हुने बताएको थियो । रत्नमन्दिर दरबार सबैका लागि खुला भएपछि आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य हुने पोखराका पर्यटन व्यवसायीको विश्वास छ । फेवातालको अवलोकन र तालबीच रहेको बाराही मन्दिरको दर्शन गर्न दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक रत्नमन्दिर छेउ हुँदै पुग्छन् । यसैले पनि स्वदेशी तथा विदेशी पर्यटकमा पूर्वराजा बस्ने दरबार कस्तो होला भन्ने कौतूहलता छ । यसैले पनि पोखरेली पर्यटन व्यवसायी रत्नमन्दिर कहिले संग्रहालयमा परिणत होला भन्ने पर्खाइमा छन् । रत्नमन्दिरलाई छिट्टै संग्रहालयको रूपमा सञ्चालनमा ल्याउनुपर्ने नागरिक समाज पोखरामा संयोजक विष्णुहरि अधिकारीले बताए । गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालले रत्नमन्दिरलाई प्रदेश सरकारमातहत ल्याएर संग्रहालयको रूपमा सञ्चालन गरिने बताउँदै आए पनि संरक्षणका लागि ठोस पहल गरेको भने पाइँदैन ।
राजा महेन्द्रले पोखरा आउँदा बस्ने उद्देश्यले रानी रत्नको नाममा २०१३ सालमा ताल किनारमा दरबार बनाएका हुन् । स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे । रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ । दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षण रहेको छ । बंगलामा ११ कोठा छन् । त्यससँगै राजा पोखरा आउँदा दैनिक रूपमा काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन् । तालको किनारमा रहेको दरबार आकर्षक छ । चराचुरुंगीको आवाज, दरबार परिसरमा रहेका पुराना रूखमा झुण्डिएर फुलेका सुनाखरी र फेवातालको मनोरम दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँछ ।
पोखरामा नेपाल ट्रस्टको १ सय ७५ रोपनी जग्गा छ । रत्नमन्दिर, हिमागृह, रत्नमन्दिरसँगैको ताल किनारको फुटबल ग्राउन्ड र पोखराको रत्नचोकमा रहेको जमिनसहित ट्रस्टको १ सय ७५ रोपनी जग्गा रहेको ट्रस्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !