पोखरा-गतिलो गन्तव्य

पोखरा-गतिलो गन्तव्य

कानुन व्यवसायी बन्ने उत्कट चाहना भएकी पोखरा नदीपुरकी अनुराधा पराजुली पृथ्वीनारायण कलेजमा बीएएलएलबी पढ्दै छिन् । भन्छिन्, ‘पोखरामै यो विषय नभएको भए काठमाडौं जानुपथ्र्यो, यहीं भएर सजिलो भयो ।’ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पृथ्वीनारायणमा यो विषयको पढाइको गुणस्तर अन्तभन्दा उत्कृष्ट रहेको पराजुली बताउँछिन् । ‘काठमाडौंतिरका कजेलमा भन्दा हाम्रो पासरेट राम्रो छ, पढाउने गुरुहरू पनि दक्ष हुनुहुन्छ ’ भन्छिन् ।

पृथ्वीनारायण क्याम्पसमा बीएएलएलबीको गुणस्तर निकै माथि रहेको यसका अध्यापक दीपक पराजुली बताउँछन् । ‘१२ पास गरेकाले एलएलबी पढ्न पाउँदैनन्, बीएएलएलबी पढ्न पाइन्छ, नियमित कक्षा र पढाइ हुन्छ, सेमेस्टर प्रणालीमा नियमित जाँच र रिजल्ट हुन्छ’, उनले भने, ‘अंग्रेजी माध्यममा पढाइ हुने भएकाले विदेशमा गएर पनि काम गर्न सक्ने हुन्छन् विद्यार्थी ।’ बार काउन्सिलबाट दिइने कानुन व्यवसायीको लाइसेन्स परीक्षामा पृथ्वीनारायण क्याम्पसको बीएएलएलबीका विद्यार्थी अग्रणी देखिएको उनले सुनाए ।

नेपालमै पहिलोपटक टुरिजम्् एन्ड होटल म्यानेजमेन्टको पढाइ सुरु गरेको पोखरा टुरिजम् एन्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाबाट अहिलेसम्म ७ सय विद्यार्थी स्नातक भइसके । तीमध्ये कोही पनि बेरोजगार नरहेको कलेजका अध्यक्ष अशोक पालिखे बताउँछन् । भन्छन्, ‘कतिले आफैं होटल रेस्टुरेन्ट चलाएका छन्, कतिले रोजगारी गरेका छन्, सबै उत्कृष्ट छन् ।’ सोही कलेजमा बीबीएअन्तर्गत बैंकिङ र इन्सुरेन्सको पनि पढाइ हुन्छ । आफ्ना उत्पादन बैंक र इन्सुरेन्सको क्षेत्रमा खपत भइरहेको जानकारी अध्यक्ष पालिखेले दिए ।

सूचना प्रविधि, कानुन, व्यवस्थापन, मानविकी मात्रै होइन इन्जिनियरिङ र चिकित्साशास्त्रको गुणस्तरीय पढाइ पोखराले दिइरहेको छ । औषधि विज्ञानसम्बन्धी बिफर्मा र नर्सिङमा बीएससीको पढाइ पनि पोखरामै हुन्छ । लेकसिटी कलेजले समाजसेवा विषयको पढाइसमेत थाल्दै छ । कलेजका संस्थापक समाजशास्त्री प्राडा विश्वकल्याण पराजुली भन्छन्, ‘समाजको सैद्धान्तिकसँगै समाजसेवाको व्यवहारिक ज्ञानको पढाइ सोसल वर्क विषयमा हुन्छ ।’ लेकसिटी कलेजबाट पत्रकारितामा स्नातक अर्जुन गिरी पोखरामा ख्याति बटुलिरहेको समाचार अनलाइन ताण्डवन्युज डटकममा सम्पादक छन् । रंगीन कलेवरमा ट्याब्लोइड आकारमा प्रकाशित ताण्डव साप्ताहिकको सम्पादन नेतृत्वसमेत गरिरहेका पत्रकारितामा स्नातकोत्तरका लागि मात्रै काठमाडौं धाएका हुन् । भन्छन्, ‘पोखरामै ब्याचलर लेभलमा पत्रकारिता पढ्न पाएर यो पेसामा केही गर्न सकियो । एमए पढ्नअघिसम्म आफ्नै सहरमा पढ्न पाउनुले धेरै सजिलो भयो ।’

गण्डकी प्रदेशको राजधानी पोखरा शिक्षामा गतिलो गन्तव्यका रूपमा विकसित भएको छ । यहींका झन्डै दर्जन विद्यार्थीले गएको एसईई परीक्षामा ४ जीपीए ल्याएका थिए । १० जोड दुईका थुप्रै विद्यालयले राष्ट्रियस्तरमै सर्वाेत्कृष्ट विद्यालयको पुरस्कार थापेका छन् । स्नातक तहमा पनि पोखराले आफूलाई अब्बल सावित गरिरहेको छ । लेकसिटी कलेजका सञ्चालकमध्येका एक उपेन्द्र पौडेल भन्छन्, ‘पोखराको स्नातक तहको पढाइ अन्तर्राष्ट्रिय क्वालिटीको भइसकेको छ, यहाँका उत्पादन ग्लोबल मार्केटमा बिक्न सक्छन् ।’ अन्तर्राष्ट्रिय डिग्रीको सर्टिफिकेट उपलब्ध गराउने कलेजहरू पनि पोखरामा रहेको जानकारी पौडेलले दिए । लिंकन कलेज त्यसैमध्येका एक हो ।

लिंकनका संस्थापक तथा निर्देशक शेरबहादुर गुरुङ आफूले मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएको जानकारी दिए । भन्छन्, ‘हाम्रो क्रेडिट ट्रान्सफर पनि हुन्छ, यहाँ ब्याचलर पढेको विद्यार्थी, युरोप वा अमेरिका गएर फेरि थप पढ्नुपर्दैन, अर्का तहमा सजिलै भर्ना पाउँछ ।’ अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयबाट सम्बन्धन लिएर सोहीअनुसारको क्रेडिट आवर पढाइ हुँदा त्यस्तो सम्भव भएको उनले सुनाए । ‘हाम्रोबाट बीबीए पास विद्यार्थीले पोखरा विश्वविद्यालयमा एमबीए पढ्न इन्ट्रान्समा सर्वाेत्कृष्ट भएर छात्रवृत्तिमा पढ्न पाउने भएको छ’, लिंकनका गुरुङले भने, ‘होटल म्यानेजमेन्ट पढ्नेहरू इन्टर्नसिप गर्न मलेसिया र चीन जान्छन्, विश्वस्तरको व्यावहारिक शिक्षा लिन्छन् ।’

माटेपानीस्थित इन्फोम्याटिक्स कलेज अन्तर्राष्ट्रिय डिग्री दिलाउने अर्काे कलेज हो । यसले ब्याचलर लेभलमा सूचना प्रविधि पढाइरहेको छ । कलेजका सीईओ अभिनव दाहाल भन्छन्, ‘बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धन लिएका छौं, बेलायत गएर जे पढ्न पाइन्छ, त्यो यहीं पढ्ने सुविधा छ ।’ उनले बेलायत पुगेर पढ्दा हुने खर्च नलाग्ने र महँगो नपर्ने जानकारी दिए । ‘त्यसपछि विदेश गएर पढ्छु भन्नेलाई हाम्रो डिग्री काम लाग्छ’, उनले सुनाए ।

सामुदायिक क्याम्पस जनप्रियले बीबीए पढाउँछ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्यामपस पृथ्वीनारायण क्याम्पसमा जनप्रियले यो विश्वविद्यालयको बीबीए पढाउँछन् । मुलुककै सर्वाेत्कृष्ट सामुदायिक क्याम्पस बनेर पुरस्कार थापिसकेको कलेजको बीबीएतर्फको पढाइ २ पटक देशकै सर्वाेत्कृष्ट भइसकेको छ । क्याम्पस प्रमुख वीरञ्जी गौतम माउन्टेन टुरिजम् म्यानेजमेन्ट विषयको पढाइ देशमै पहिलोपटक सुरु गर्न लागेको बताउँछन् । ‘त्रिविअन्तर्गत हामीले मात्रै यो विषय पढाउँदैछौं’, उनी भन्छन् । यही विषय आफैंले कोर्स डिजाइन गरी पठनपाठन गराएर परीक्षा लिई मानक विश्वविद्यालय बन्ने दिशामा जनप्रिय क्याम्पस अघि बढेको छ ।

पोखरा न्युरोडको नोभल एकेडेमीमा बीएस्सी नर्सिङ पढाइ हुन्छ । यही एकेडेमीमा बिफर्माको पढाइ पनि छ । माटेपानी गौंडाकोमुखको चरक कलेजमा पनि हुन्छ बीएससी नर्सिङको पढाइ । पोखरा विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्यविज्ञान, मानविकी र व्यवस्थापनका थुप्रै विषयमा स्नातकको पढाइ गरिरहेको छ । पछिल्ला दिनहरूमा काठमाडौंमा प्रसिद्धि कमाएका कलेजहरू त्यही नाममा पोखरामा पनि खुल्न थालेका छन् । यी कलेजहरूले स्वदेशीदेखि विदेशी पाठ्यक्रमअनुसार पढाइ सञ्चालन गरिरहेका छन् । पोखरामै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्न पाउँदा विद्यार्थी तथा अभिभावकहरू पनि दंग छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.