प्रचण्डले गरे टेबुलटेनिस टोलीको बिदाई
काठमाडौं : इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस टोलीको सोमबार बिहान अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले बिदाई गरेका छन्। टोलीसँग भेट गर्दै अध्यक्षले टेबुलटेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए।
आफूलाई पनि टेबुलटेनिस खेल औधी मनपर्ने बताउँदै उनले भने, 'राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ।' सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए।
राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीमा थप उर्जा र हौसला बढेको बताए। अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको मेनेजर शाहीले बताए।
सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन्। दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन्।