नाती उमेरकालार्इ चुनौती दिँदै एसियाडका ८५ वर्षे खेलाडी
इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगितामा ६ वटा खेल पहिलोपटक समावेश गरिएको छ । ती खेलमध्ये तासको खेल ‘ब्रिज’ पनि एक हो । एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएकाले ब्रिज खेलले छुट्टै इतिहास त बनायो नै, त्योसँगै ब्रिजका एक खेलाडीले समेत प्रतियोगितामा गतिलो इतिहास रचेका छन् ।
ती खेलाडी हुन्, फिलिपिन्सका कोङ ते याङ । नाति÷नातिना खेलाएर घरमा बस्नुपर्ने उमेरका ८५ वर्षीय कोङ ते याङ नातिकै उमेरका खेलाडीलाई चुनौती दिन आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै एसियाली खेलकुद यात्रामा निस्किएका हुन् ।
कोङ ते याङ जारी एसियाली खेलकुद प्रतियोगिताका सबैभन्दा बढी उमेरका खेलाडी पनि हुन् । हाल फिलिपिन्सका नागरिक भए पनि उनको जन्म सन् १९३३ को जनवरी ३ मा चीनमा भएको १८औं एसियाली खेलकुदको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
जारी एसियाली खेलकुदमा सहभागिता जनाउने सबैभन्दा कम उमेरकी खेलाडीको उमेर पनि छक्क पार्ने खालकै छ । आयोजक राष्ट्र इन्डोनेसियाकी अलिक्वा नोभेरीले केवल नौ वर्षको उमेरमा एसियाली खेलकुदमा सहभागिता जनाउँदै छिन् ।
नोभेरीले स्केट बोर्ड प्रतियोगितामा भाग लिएकी हुन् । उनी सन् २००९ को फेब्रुअरी २ मा जन्मिएकी हुन् । एसियाली खेलकुदमा स्केट बोर्ड पनि पहिलोपटक समावेश गरिएको हो । सबैभन्दा जेठा खेलाडी कोङ ते याङ र सबैभन्दा कान्छी खेलाडी नोभेरीको बीचमा ७६ वर्षको फरक छ ।
पहिलोपटक समावेश गरिएको ब्रिज खेल सोमबारदेखि राजधानी जकार्तामा र स्केट बोर्ड अगस्ट २८ देखि पालेम्बाङमा सुरु हुँदैछन् । एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन उमेरको कुनै हद निर्धारण नगरिएकाले पनि उनीहरूले भाग लिने अवसर पाएका हुन् । कति उमेरका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने भन्ने विषयमा सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघहरूले नै निर्धारण गर्ने गरेका छन् ।
खेलका क्रममा शारीरिक बल प्रयोग गर्नु नपर्ने भएकाले ब्रिज खेलले खासगरी बढी उमेरका खेलाडीलाई आकर्षित गर्ने गरेको छ । त्यसैले त ८५ वर्षीय कोङ ते याङमात्र होइन, सिंगापुरकी ८२ वर्षीया लाई चुन नङ र मलेसियाका ८१ वर्षीय ली हुङ फुङले पनि ब्रिज खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
जारी एसियाडमा ब्रिज खेलमा सहभागी ११ जना खेलाडीको उमेर ७० देखि ७९ वर्षको बीचमा छ । इन्डोनेसियाकै अर्बपति व्यक्तिभित्र पर्ने ७८ वर्षीय बामबाङ हार्तोनोले समेत ब्रिज खेलमा सहभागिता जनाएका छन् ।
हार्तोन जारी एसियाली खेलकुदको सबैभन्दा जेठा खेलाडी बन्न नसके पनि उनी प्रतियोगितामा सहभागी करिब १२ हजारमध्ये सबैभन्दा धनी खेलाडी भने बनेका छन् । इन्डोनेसियामा उनी चुरोट, बैंकिङ, दूरसञ्चार लगायतका व्यवसायमा सक्रिय छन् ।
स्मरण शक्तिलाई तीक्ष्ण बनाउन आफू ब्रिज खेलमा सक्रिय रहेको हार्तोेनले बताउने गरेका छन् । उनले केवल ६ वर्षको उमेरदेखि ब्रिज खेल्न थालेका हुन् । ब्रिजलाई एसियाली खेलकुदमा समावेश गराउन पनि उनको महŒवपूर्ण भूमिका रहेको स्थानीय आयोजक बताउँछन् । एसियाली खेलकुदमा स्वर्ण पदक जिते एक लाख दुई हजार अमेरिकी डलर इन्डोनेसियाका खेलाडीको प्रशिक्षण कार्यक्रममा खर्च गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।