एसियाडमा रोकिएन हारको शृंखला
जकार्ता (इन्डोनेसिया) : अठारौं एसियाली खेलकुद प्रतियोगितामा आफूले भाग लिएकामध्ये आधाभन्दा बढी खेलका स्पर्धाहरू सकिनै लाग्दा पनि नेपालको भागमा हारबाहेक केही हात पार्न सकेको छैन। एकपछि अर्को गर्दै आफ्ना खेलाडीले पराजयको शृंखला व्यहोरिरहँदा जारी एसियाडमा नेपाल कतै पदकविहीन त हुने होइन भन्ने आशंका पनि बढ्न थालेको छ।
जारी एसियाडमा नेपालले २९ खेलमा एक सय ८७ जना खेलाडीलाई सहभागी गराएको छ। सन् १९५१ मा भारतको दिल्लीमा सम्पन्न पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले सन् १९८६ यता कम्तीमा एउटा पदक जित्दै आएको छ।
प्रतियोगिताको पाँचौं दिन बुधबार पनि नेपाली खेलाडीको हारको शृंखला जारी रह्यो। बुधबार पनि तेक्वान्दोको दुवै स्पर्धामा पराजित भएको नेपालले पौडी, कबड्डी, उसु, प्याराग्लाइडिङ, भलिबल, बास्केटबल, फेन्सिङ र भारोत्तोलनमा समेत सुखद नतिजा निकाल्न सकेन।
नेपाली पुरुष भलिबल टोली आफ्नो पहिलो खेलमा चाइनिज ताइपेइसँग ३—० को सोझो सेटमा पराजित हुन पुग्यो। पहिलो सेटमा चाइनिज ताइपेईसँग २३—२५ को साँघुरोअन्तरले पछि परेको नेपाली टोलीले दोस्रो सेटको नतिजा पनि १९—२५ अंकले विपक्षीलाई सुम्पियो। तेस्रो सेटको खेलमा १५—२५ ले पराजित भएपछि नेपाली टोलीले बाँकी दुई सेट खेल्नै परेन।
यसैगरी उसुको महिला नाङवान स्पर्धाको फाइनलमा नेपाली खेलाडी सुस्मिता तामाङ सातौं स्थानमा रहिन्। कुल नौ खेलाडीको सहभागिता रहेको उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन्। उनले चाइनिज ताइपेई र म्यानमारको खेलाडीलाई भने पछाडि पारिन्। उक्त स्पर्धामा चीनकी क्वी झिनईले स्वर्ण पदक जितिन्। मकाउकी ली ईले रजत तथा भियतनामकी होङ थी फुङ जिङ र मकाउकी सु चो म्यानले कांस्य पदक हात पारे।
यसैगरी महिला दुई सय मिटर फ्रिस्टायल स्पर्धामा नेपालकी गौरिका सिंह आफ्नो हिटमा सातौं स्थानमा आइन्। हिट एकको लेन सातबाट प्रतिस्पर्धा गरेकी १६ वर्षीया गौरिकाले निर्धारित दूरी पूरा गर्न दुई मिनेट १२.५३ सेकेन्ड समय खर्चिइन्।
उनले सन् २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा भने सोही दूरी दुई मिनेट १४.४९ सेकेन्डमा पूरा गरेकी थिइन्। आफ्नो हिटमा पहिलो भएकी जापानी खेलाडी चिचिरो इगारासीभन्दा गौरिका १२.३२ सेकेन्डले पछाडि परिन्।
जापानकी २३ वर्षीया ओलम्पियन चिचिरोले चार वर्षअघि भएको इन्चोन एसियाडको यही स्पर्धामा रजत पदक जितेकी थिइन्। जारी एसियाडमा पनि उनले एक स्वर्ण र एक रजत पदक जितिसकेकी छन्। कुल आठ खेलाडीको सहभागिता रहेको उक्त स्पर्धामा मंगोलियन खेलाडी सबैभन्दा अन्तिम स्थानमा आइन्।
यसैगरी पुरुष एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा नेपालका शुभम् श्रेष्ठ आफ्नो हिटमा तेस्रो भए। कुल आठ खेलाडीले सहभागिता जनाएको उक्त स्पर्धामा १७ वर्षीय शुभम्ले निर्धारित दूरी पार गर्न एक मिनेट ११.३७ सेकेन्ड समय खर्चिए।
शुभम्ले हिट एकको लेन ६ बाट प्रतिस्पर्धा गरेका थिए। उनले कतार, मंगोलिया र पाकिस्तानका एक÷एक तथा माल्दिभ्सका दुई खेलाडीलाई पछाडि पारेका थिए। उक्त हिटको पहिलो स्थानमा रहेर निर्धारित दूरी पूरा गरेका भारतीय पौडीबाज सन्दीप जयसवालसँग शुभम् ९.३० सेकेन्डले पछाडि परे।
यसैगरी प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसी स्पर्धाको फाइनल चरणमा नेपाल आठौं स्थानमा रह्यो। नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए। उक्त स्पर्धामा इन्डोनेसिया पहिलो, दक्षिण कोरिया दोस्रो, थाइल्यान्ड तेस्रो र मलेसिया चौथो भए।
प्याराग्लाइडिङकै महिला टिम एक्युरेसी स्पर्धाको छैटौं तथा फाइनल चरणमा नेपाली टोली सातौं स्थानमा रह्यो। नेपाली टोलीमा प्रतिभा भुजेल, तृसा तामाङ र सविता तामाङ सहभागी थिए। कुल नौ टोलीको सहभागिता रहेको उक्त स्पर्धामा थाइल्यान्ड पहिलो, आयोजक इन्डोनेसिया दोस्रो, दक्षिण कोरिया तेस्रो र चीन चौथो भए।
यसैगरी लन टेनिसको महिला डबल्स स्पर्धाको प्रिक्वार्टरफाइनलमा नेपालका माहिका राणा र मायांका राणाको जोडी पराजित भए। जापानी खेलाडी मोयुका उचिजिमा र एरिना हायासीको जोडीले माहिका र मायांकाको जोडीलाई ६—०, ६—० को सोझो सेटमा पराजित गर्यो।
यसैगरी भारोत्तोलनको पुरुष ६९ केजी तौलसमूहमा नेपालका कमलबहादुर अधिकारी छैटौं स्थानमा रहे। ४१ वर्षीय कमलले स्न्याचमा एक सय १९ र क्लिन एन्ड जर्कमा एक सय ६० गरी कुल एक सय ७९ केजी भार उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे। उनले आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
स्न्याचको पहिलो लिफ्टमा एक सय १३ केजी उचाल्न नसकेका कमलले दोस्रो लिफ्टमा भने एक सय १३ र तेस्रो लिफ्टमा एक सय १९ केजी भार उचालेका थिए। उनले क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा एक सय ५०, दोस्रो लिफ्टमा एक सय ५६ र तेस्रो लिफ्टमा एक सय ६० केजी तौल उचाले। उनले सन् २०१० को ग्वान्जाओ एसियाडमा यही तौलसमूहमा कुल दुई सय ७० केजी तौल उचालेका थिए।
यसैगरी फेन्सिङको महिला सर्ब टिम स्पर्धाको प्रिक्वार्टरफाइनलमा नेपाली टोली थाइल्यान्डसँग ४५—१० ले पराजित भयो। कबड्डीमा इरानले नेपाललाई ७५—२१ को विशालअन्तरले पराजित गर्यो। कबड्डीकै दोस्रो खेलमा भने नेपालले मलेसियामाथि २९—१७ को जित हासिल गर्यो। थ्री बाई थ्री बास्केटबलमा भने चाइनिज ताइपेईले नेपाललाई १९—८ अंकले हरायो।