निराश पार्दै नेपाली तेक्वान्दो
जकार्ता (इन्डोनेसिया) : एसियाली खेलकुदमा सबैभन्दा बढी पदक दिलाउने तेक्वान्दो खेलले १८औं एसियाडमा भने नेपाललाई निराश बनाउने सम्भावना प्रबल बनेको छ। जारी एसियाडको पाँचौं दिन बुधबार तेक्वान्दोका नौवटा स्पर्धा सकिँदासम्म नेपालले एउटा पनि पदक हात पार्न सकेको छैन।
तेक्वान्दोमा अब नेपालको केवल दुईवटा स्पर्धा बाँकी छ। बिहीबार पुरुषतर्फ नेपालका ज्ञानेन्द्र हमाल र महिलातर्फ अस्मिता खड्काले प्रतिस्पर्धा गर्नेछन्। ती दुई स्पर्धामा पनि सफलता हात पार्न नसके नेपाल आफूले सबैभन्दा बढी आशा गरेको तेक्वान्दो खेलमा पदकविहीन हुनेछ।
हालसम्म तेक्वान्दोले एसियाली खेलकुदमा नेपाललाई एक कीर्तिमानी रजतसहित १४ पदक दिलाएको छ। सन् २०१० मा चीनको ग्वान्जाओमा भएको १६औं एसियाड र सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा पनि तेक्वान्दोले देशलाई पदक चुमाउन सकेको थिएन।
करिब तीन महिना तेक्वान्दोको आधारभूमि दक्षिण कोरियामा प्रशिक्षण लिएर एसियाड यात्रामा निस्किएका कुनै पनि नेपाली खेलाडीले जकार्तामा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन्। अधिकांश खेलाडी आफ्नो पहिलो खेलमै पराजित भएका छन्।
प्रतियोगिताको पाँचौं दिन बुधबार भएको पुरुषतर्फको ७३ केजीभन्दा मुनिको तौलसमूहको आफ्नो पहिलो खेलमा नेपालका वीरबहादुर महराले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानका अहमद बक्सीलाई २४—१३ अंकले हराउँदै सुखद सुरुवात गरे पनि त्यो खुसी लामो समय टिक्न सकेन।
लगत्तै भएको प्रिक्वार्टरफाइनल खेलमा उनी कजाकस्तानका काजिबेक बख्तियारुलीसँग ३०—१९ अंकले पराजित हुन पुगे। अन्य खेलाडीको तुलनामा केही स्तरीय प्रदर्शन गरेका २३ वर्षीय वीरबहादुरले प्रिक्वार्टरफाइनल खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई तेस्रो चरणको भिडन्तको अन्तिम समयसम्म पनि गतिलो चुनौती दिएका थिए।
यसैगरी बुधबार नै भएको पुरुषतर्फको ८० केजीभन्दा मुनिको तौलसमूहमा अर्का नेपाली खेलाडी भूपेन श्रेष्ठ आफ्नो पहिलो खेलमै पराजित भए। सीधै प्रिक्वार्टरफाइनल खेल्ने अवसर पाएका १९ वर्षीय भूपेनलाई आफ्नै उमेरका अफगानी प्रतिद्वन्द्वी रमेश हुसैनीले २७—७ अंकले पराजित गरे। हुसैनीले आक्रमणबाट २२ अंक बटुल्दा भूपेनले चार अंकमात्र जोड्न सके। विपक्षीले खेलेको गलत खेलको फाइदा उठाउँदै अफगानी खेलाडीले पाँच अंक हात पारे भने नेपाली खेलाडीले तीन अंक पाए।
यसअघि प्रतियोगिताको पहिलो दिन पुरुष एकल पुम्सेमा कमल श्रेष्ठ र महिला एकल पुम्सेमा पार्वती गुरुङ पराजित भएका थिए। सोही दिन महिला टिम पुम्सेमा पनि नेपाल पराजित भएको थियो। महिला टिम पुम्सेमा नेपालबाट सिना मादेन लिम्बु, नीता गुरुङ र पार्वती गुरुङले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको दोस्रो दिन पुरुष ५८ केजी तौलसमूहमा सागर गुभाजू, महिला ५३ केजी तौलसमूहमा नीमा गुरुङ र महिलातर्फकै ६७ केजी तौलसमूहमा संगीता नेपालीले हार बेहोरेका थिए। मंगलबार भएको खेलमा पनि महिला ५७ केजीमुनिको तौलसमूहमा ज्ञानी चुनारा, महिला ६५ केजीभन्दा माथिको तौलसमूहमा निशा रावल र पुरुषतर्फको ८० केजीभन्दा माथिको तौलसमूहमा अनुज पुजारी पराजित भएका थिए।
कराँतेमाथि चुनौती थपिँदो
एसियाली खेलकुदको इतिहासमा हालसम्म तेक्वान्दो, बक्सिङ र कराँते खेलले मात्र नेपाललाई पदक दिलाउन सकेका छन्। तेक्वान्दोले १४ वटा पदक दिलाएको छ भने बक्सिङले ६ र कराँतेले तीनवटा पदक जिताएका छन्।
इतिहास र परम्परागत मान्यतालाई आधार मान्ने हो भने दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक तालिकामा कराँते, तेक्वान्दो, बक्सिङ, उसु, जुडोजस्ता ‘पावर गेम्स’ ले नै नेपालको प्रतिनिधित्व गर्दै आएका छन्।
आफ्नै घरेलु मैदानमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा त कराँते, तेक्वान्दो र बक्सिङकै कारण नेपालले पदक तालिकाको दोस्रो स्थान कब्जा जमाउँदै ऐतिहासिक सफलता हात पारेको यथार्थ कसैसँग लुकेको छैन। तर, पछिल्लो समय यी खेलहरूमा नेपालको स्तर क्रमशः खस्कँदै गएको छ।
भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा त तेक्वान्दो र बक्सिङले एउटा स्वर्णसम्म जित्न सकेन। सागमा कराँतेलाई भने समावेश गरिएको थिएन। त्यसैले हाल इन्डोनेसियाको जकार्तामा जारी १८औं एसियाली खेलकुदमा तेक्वान्दो खेल पदकविहीन बन्ने सम्भावना प्रबल भइरहँदा अब नेपालको आशा कराँतेमा टिक्नु स्वभाविक हो।
बिहीबार हुने तेक्वान्दोका बाँकी दुई स्पर्धामा पनि नेपाली खेलाडीले पराजय भोगेमा तेक्वान्दोको हारको शृंखलापछि रिक्त बनेको ‘पदक जित्नै पर्ने दबाबको भार’ पनि केही हदसम्म कराँतेले बोक्नुपर्ने हुन्छ। कराँतेका लागि यो चुनौती मात्र होइन गतिलो अवसर पनि हुनेछ।
१२औं दक्षिण एसियाली खेलकुदमा आफ्नो अनुपस्थितिमा राष्ट्रले पदक तालिकामा अपेक्षित सफलता हात पार्न नसकेको अवस्था र १८औं एसियाली खेलकुदमा आफूलाई समावेश गर्दा पदक जितेर राष्ट्रको गौरव बढाएको जश लिन पाउने सुनौलो अवसर यतिबेला कराँतेसँग छ। त्यसैले कराँतेका लागि जारी एसियाली खेलकुद आफ्नो साख जोगाउने गतिलो अवसर पनि बन्न सक्छ।
अर्कोतिर, तेक्वान्दोले लगातार निराश पार्दै आएको वर्तमान अवस्थामा अब आम समर्थकको आँखा कराँतेमै केन्द्रित हुनु पनि स्वाभाविक हो। यस्तो स्थितिमा कराँतेले समेत जारी एसियाडमा पदक जित्न नसके विगतमा ‘पावर गेम्स’ ले देशमा जमाउँदै आएको रवाफमा समेत धक्का लाग्ने पक्का छ।
स्मरण रहोस्, सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाडमा पनि राष्ट्रका लागि एकमात्र पदक कराँतेले नै जितेको थियो। उक्त एसियाडमा कराँतेकी विमला तामाङले एकमात्र कांस्य पदक जितेकी थिइन्। जारी एसियाडमा भने कराँतेको खेल शनिबारदेखि सुरु हुँदैछ।