तेक्वान्दोमा नेपालको हारको ह्याट्रिक
जकार्ता (इन्डोनेसिया) : खेलाडी भन्छन्, प्रतिद्वन्द्वी बलियो परे । प्रशिक्षक भन्छन्, तयारी नै पर्याप्त भएन । अनि पदाधिकारीको दाबी छ, खेलकुदमा सरकारको लगानी नै कम भयो । जसले जे तर्क अघि सारे पनि एसियाली खेलकुदको १८औं संस्करणमा नेपालका लागि नतिजामुखी खेल तेक्वान्दो पदकविहीन बन्न पुगेको छ ।
जारी एसियाली खेलकुदमा तेक्वान्दोका १३ वटा स्पर्धामा भाग लिएको नेपालले एउटा पनि पदक जित्न सकेन । प्रतियोगितामा सहभागी हुन इन्डोनेसिया प्रस्थान गर्नुअघि खेलाडी, प्रशिक्षक र पदाधिकारीको एउटै दाबी थियो, ‘यसपटक पदक तालिकामा तेक्वान्दोले नेपालको प्रतिनिधित्व गर्नेछ ।’
तर, एकपछि अर्को गर्दै आफ्ना खेलाडी एरिनाबाट रित्तो हात फर्कन थालेपछि प्रशिक्षक र पदाधिकारीको अनुहारको रङसँगै भनाइमा पनि विविधता देखिन थालेको हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने खेलको सूचीमा उच्च प्राथमिकतामा परेको र एसियाडकै लागि पनि करिब तीन महिना दक्षिण कोरियामा तयारी गरेकाले समेत यसपटक तेक्वान्दोबाट बढी नै पदकको आशा गरिएको थियो ।
एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेलका रूपमा दरिएको तेक्वान्दोले एसियाडमा पदक जित्न नसकेको यो लगातार तेस्रोपटक हो । यसअघि सन् २०१० मा चीनको ग्वान्जाओ र सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको एसियाली खेलकुदबाट पनि नेपाली तेक्वान्दो रित्तो हात घर फर्किएको थियो ।
यस हिसाबले एसियाली खेलकुदमा हारको ह्याट्रिक गरेको नेपाली तेक्वान्दोले पदक जित्न नसकेको १२ वर्ष पुगिसकेको छ । सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली तेक्वान्दोले पहिलोपटक पदक हात पारेको थियो ।
उक्त एसियाडमा नेपालका लागि राजकुमार राई, विधान लामा, राजकुमार घर्तीक्षेत्री र राजकुमार बुढाथोकीले कांस्य पदक जितेका थिए । सन् १९५१ मा भारतको दिल्लीमा आयोजित पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आएको नेपालले सन् १९८६ मा पहिलोपटक पदक जितेको हो । उक्त एसियाडमा नेपालले हालसम्मकै सबैभन्दा बढी आठवटा पदक जितेको थियो ।
यसैगरी सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियाली खेलकुदमा तेक्वान्दोका मानबहादुर शाहीले कांस्य पदक जितेका थिए । सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुद तेक्वान्दोकै कारण नेपालका लागि ऐतिहासिक बन्न पुगेको थियो ।
उक्त एसियाडमा पहिलोपटक तेक्वान्दोकी सबिता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । एसियाली खेलकुदमा नेपालले जितेको यो नै सबैभन्दा ठूलो पदक हो । उक्त एसियाडमा थप दुई तेक्वान्दो खेलाडी किशोर श्रेष्ठ र सपना मल्लले कांस्य पदक पनि हात पारेका थिए ।
यसैगरी सन् २००२ मा दक्षिण कोरियाको बुसानमा सम्पन्न एसियाडमा नेपालका लागि तेक्वान्दो खेलाडी दीपक विष्ट, रेणुका मगर र रितुजिमी राईले कांस्य पदक हात पारेका थिए । सन् २००६ मा कतारको दोहामा भएको एसियाडमा पनि दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले तेक्वान्दोमा कांस्य पदक जितेका थिए ।
त्यसयता भने एसियाडमा नेपाली तेक्वान्दो लगातार पदकविहीन बन्दै आएको छ । नेपालले एसियाडमा हालसम्म जितेका २३ पदकमा तेक्वान्दोको योगदान सबैभन्दा बढी १४ वटा छ । बाँकी नौमध्ये बक्सिङले ६ र कराँतेले तीन पदक जितेका छन् । त्यसैले पनि तेक्वान्दोको नतिजासँग धेरैको विश्वास जोडिन पुगेको हो ।
जारी एसियाडमा बिहीबार दुई स्पर्धा बाँकी रहँदासम्म पनि तेक्वान्दोबाट पदकको झिनो आशा बाँकी थियो । तर, बिहीबार भएको महिला ४९ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी अस्मिता खड्का आफ्नो पहिलो खेलमै इरानकी नाहिद कियानिचानदेहसँग ४३-४ अंकले पराजित हुन पुगिन् । इरानकी खेलाडीले आक्रमणबाट ४१ र विपक्षीले फल खेलेबापत दुई अंक हात पारिन् भने आक्रमणबाट एक अंक पनि बटुल्न नसकेकी अस्मिताले विपक्षीले फल खेलेका कारण चार अंक पाएकी थिइन् ।
पुरुषतर्फको ६८ केजीभन्दा मुनिको तौलसमूहमा भने नेपालले ज्ञानेन्द्र हमालले सुरुमा केही आशा जगाएका थिए । उनी आफ्नो पहिलो खेलमा भुटानका जिग्मे वाङ्चुकलाई ३९-१७ ले हराउँदै प्रिक्वार्टरफाइनलमा पुग्न सफल भए । तर, आफ्नो दोस्रो खेलमै उनी पनि मलेसियन प्रतिद्वन्द्वी रोजाली रोजाइमीसँग ३०-२ को ठूलो अन्तरले पराजित हुन पुगे । ज्ञानेन्द्रले त्यो दुई अंक पनि विपक्षीले फल खेलेका कारण पाएका हुन् ।
जारी एसियाडमा नेपालका केवल चार खेलाडीले एक÷एक खेल जित्न सके । तीन खेलाडीले भुटानी प्रतिद्वन्द्वीलाई हराए भने एकजनाले बलियो अफगानी प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए । पुरुष ५८ केजी तौलसमूहमा सागर गुभाजु आफ्नो पहिलो खेलमा भुटानका तेन्जिङ दोर्जेलाई हराउँदै प्रिक्वार्टरफाइनलमा पुगेका थिए ।
यसैगरी महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी ज्ञानी चुनराले भुटानकी किनजङ छोदेनलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । पुरुषतर्फको ६८ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका ज्ञानेन्द्र हमाल पनि भुटानकै जिग्मे वाङ्चुकलाई ३९-१७ ले हराउँदै प्रिक्वार्टरमा पुगेका थिए ।
पुरुष ७३ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका वीरबहादुर महराले अफगानिस्तानका अहमद बक्सीलाई २४-१३ ले हराएका थिए । यसैगरी नेपालका दुई खेलाडी बाई पाएर क्वार्टरफाइनलमा पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेनन् । तेक्वान्दोमा सेमिफाइनलसम्म पुग्ने खेलाडीले कम्तीमा कांस्य पदक जित्ने प्रावधान छ ।