राणाकालीन टुँडिखेल अब नमुना रंगशाला

राणाकालीन टुँडिखेल अब नमुना रंगशाला

धनकुटा : राणाकालीन समयमा निर्माण भएको धनकुटा सदरमुकामस्थित ऐतिहासिक तल्लो टँडिखेलको स्तरोन्नति भएसँगै नमुना रंगशाला बन्न सफल भएको छ। धनकुटा–५ मा अवस्थित तल्लो टुँडिखेलमा पक्की प्यारापिट, सुविधायुक्त मञ्चलगायतको पूर्वाधार निर्माण, मैदान सम्याउने र वरिपरि तार घेराबार गर्ने काम सम्पन्न भइसकेको छ।

अघिल्लो आर्थिक वर्ष संसद् विकास कोषको १० लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्को पाँच लाख गरी १५ लाख ५० हजार रुपैयाँको लागतमा मैदान वरिपरि १२ फुटको दुई सय ४० मिटर तार घेराबार गरिएको थियो। त्यस्तै सोही आर्थिक वर्ष धनकुटा नगरपालिकाको ७० लाख रुपैयाँ लागतमा पक्की प्याराफिट, बाटो र वाल लगाउने काम भएको थियो। निर्माण सम्पन्न भइसकेको पक्की प्याराफिट तीन हजार दर्शक अट्ने क्षमताको छ।

जीर्ण अवस्थामा रहेको पुरानो मञ्चलाई भत्काएर गत आर्थिक वर्षमा नगरस्तरीय बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा सुविधायुक्त पक्की मञ्च निर्माण गरिएको छ। त्यस्तै मैदान सम्याएर दुबो रोप्ने काम अहिले धमाधम भइरहेको छ। दुबो रोप्ने काम सम्पन्न भइसकेपछि धनकुटा सदमुकामको यो ऐतिहासिक टँडिखेल देशकै नमुना रंगशाला हुने धनकुटा–५ वडाका वडासदस्य तथा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए।

नगरपालिकाले सहिद भीमनाराण गोल्डकपको लागि उपलब्ध गराएको दुई लाख रुपैयाँ बजेटले अहिले दुबो रोप्ने काम भइरहेको छ। ‘मैदान स्तरोन्नतिको कामले सहिद भीमनारायण गोल्डकपको १४औं संस्करण प्रतियोगिता समयमै हुन पाएन।’ उनले भने ‘सो बजेटले मैदानमा दुबो रोप्ने काम गरिएको र प्रतियोगितालाई अझ प्रतिष्ठित र व्यवस्थित बनाउन मैदानले सहयोग पुग्नेछ।’

सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप पूर्वीक्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिता भए पनि मैदानको स्तर राम्रो नहुँदा ठूला क्लबले सहभागिता जनाउन मान्दैनथिए। तर अब स्तरोन्नति भएपछि देशमै नाम चलेका प्रतिष्ठित क्लब प्रतियोगितामा सहभागी हुने उनले विश्वास गरे। प्रतियोगिताको १४औं संस्करण माघमा आयोजना गर्ने तयारी भइरहेको उनले बताए।

धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको सो टुँडिखेल धनकुटा फुटबल संघले २५ वर्षका लागि लिजमा लिएको थियो। जसको कारण अहिले मैदानको व्यवस्थापन संघले गरिरहेको छ। हाल मैदानको लम्बाइलाई बढाएर अहिले एक सय १० मिटर र चौडाहा बढाएर ७० मिटर बनाइएको छ। मैदानको माथिल्लो भेगमा रहेको प्याराफिट र मञ्चमा सुन्तलाको पहिचान दिने खालको सुन्तले कलरले रंगरोगन गरिएको छ।

खेलमैदान स्तरोन्नतिको लागि भन्दै खेलमैदान खेलकुद गतिविधि गर्न रोक लगाइएको छ। दुबो हुर्किसकेपछि सरोकारवाला निकायसँग छलफल गरेर मात्रै खेलकुद गतिविधि खुला गर्ने बताइएको छ।

स्थानीयदेखि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुने सदरमुकामको एकमात्र खेलमैदान मर्मतसम्भार अभावले जीर्ण बनेको थियो। राणा प्रधानमन्त्री देवशमशेर काठमाडांैबाट खेदिएर धनकुटा आएपछि उनैको पहलमा यो टँडिखेल निर्माण भएको इतिहास छ। टुँडिखेलको एक छेउमा जोर धरहरासमेत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.