एसियाली खेलकुद : कराँतेमा पनि कमजोर प्रदर्शन
जकार्ता (इन्डोनेसिया) : १८औं एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोको निराशाजनक प्रदर्शनपछि पदकको केही आशा गरिएको कराँतेमा पनि नेपाली खेलाडीले निकै कमजोर प्रदर्शन गरेका छन् । प्रतियोगिताको आठौं दिन शनिबार सुरु भएको कराँतेमा नेपालले पहिलो दिन तीनवटा स्पर्धामा सहभागिता जनायो ।
एउटा स्पर्धाको प्रारम्भिक चरणबाटै बाहिरिएको नेपाल बाँकी दुई स्पर्धामा भने पदक नजिक पुगेर पनि खेलाडीको कमजोर प्रदर्शनका कारण सफलता हात पार्नबाट चुक्यो । महिला काताको कांश्य पदकका लागि भएको भिडन्तमा नेपालकी चञ्चला दनुवार थाइल्यान्डकी मोन्सिचा तारारातान्कुनसँग ५-० अंकले पराजित भइन् ।
समान स्तरका प्रतिद्वन्द्वी भए पनि चञ्चलाले कांश्य पदकको भिडन्तमा अपेक्षित प्रदर्शन गर्न सकिनन् । त्यसअघि उनी आफ्नो पहिलो खेलमा मकाउकी सोउ सी लामसँग ५-० अंकले नै पराजित भएकी थिइन् । तर, उनलाई पहिलो चरणको खेलमा हराउने मकाउकी खेलाडी प्रतियोगिताको फाइनलमा पुगेकीले चञ्चलाले पनि कांश्य पदकका लागि भिडन्त गर्ने अर्को अवसर पाएकी थिइन् ।
त्यसपछि कांश्य पदकको भिडन्तका लागि आफूलाई योग्य सावित गर्न चञ्चलाले दोस्रो खेलमा उत्तर कोरियाली प्रतिद्वन्द्वी काङ् जी उईलाई प्रतिस्पर्धात्मक भिडन्तबीच ३-२ अंकले पराजित गरेकी थिइन् । तेस्रो खेलमा भने थाइल्यान्डकी खेलाडीसँग पराजित भएपछि उनी कांश्य पदकबाट चुक्न पुगिन् । यसरी नेपालले जारी एसियाडमा पहिलो पदक हात पार्ने गतिलो अवसर गुमायो ।
बक्सिङको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा (रातो) र जोर्डनका खेलाडी प्रतिस्पर्धा गर्दै । अन्नपूर्ण
यसैगरी महिलातर्फकै कुमुते ६८ केजीमाथिको तौलसमूहमा पनि नेपाल पदकको निकै नजिक पुगेर निराश बन्यो । उक्त स्पर्धाको कांश्य पदकका लागि भएको भिडन्तमा नेपालकी रीता कार्की पाकिस्तानी प्रतिद्वन्द्वी नर्गिससँग ३-१ अंकले पराजित हुन पुगिन् ।
प्रतिद्वन्द्वी खासै प्रभावशाली नभए पनि रीताले गतिलो प्रदर्शन गर्न सकिनन् । त्यसअघि उनी आफ्नो पहिलो खेलमा चीनकी जाओ मेङमेङसँग ३-० अंकले पराजित भएकी थिइन् । आफूलाई पहिलो खेलमा हराउने जाओ फाइनलमा पुगेकीले रीताले कांश्य पदकका लागि भिडन्त गर्ने अवसर पाएकी थिइन् । उनले चिनियाँ खेलाडीसँगको जस्तो प्रदर्शन पनि पाकिस्तानी खेलाडीविरुद्घ दोहो¥याउन सकिनन् ।
नेपाली टोलीका प्रशिक्षक दीपक श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवको कमिका कारण रीताले स्तरीय प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । ‘रीता क्षमतावान खेलाडी हुन् तर, अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव नभएका कारण उनले स्वभाविक प्रदर्शन गर्न सकिनन्’, दीपकले भने । दीपकका अनुसार, रीताको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
यसैगरी पुरुष कातामा नेपाली खेलाडी पर्शुराम बास्तोला आफ्नो पहिलो खेलमै पराजित भए । उनलाई पहिलो खेलमै कतारका खेलाडी हासिम आदमले ५-० अंकले पराजित गरे । जारी एसियाडमा नेपालले कराँतेको आठवटा स्पर्धामा भाग लिएको छ ।
आइतबार कराँतेले तीनवटा स्पर्धामा भिडन्त गर्नेछ । एसियाली खेलकुदको इतिहासमा नेपाललाई पदक दिलाउने तीनवटा खेलमध्ये कराँते पनि एक हो । कराँतेले हालसम्म नेपाललाई एसियाली खेलकुदमा तीनवटा कांश्य पदक दिलाएको छ ।
नेपाली धावकले दौड पूरा गरेननएसियाली खेलकुदअन्तर्गत शनिबार भएको एथलेटिक्सको म्याराथन स्पर्धामा नेपाली खेलाडीले बीचैमा दौड छाडेका छन् । पुरुष म्याराथनमा दुईजना नेपाली धावकले भाग लिएकोमा दुवैजना धावकले बीचैमा दौड छाडेका हुन् ।
नेपाली धावक कृष्णबहादुर बस्नेतले लक्ष्यनजिक पुग्नुभन्दा करिब दुई किलोमिटर पहिले दौड छाडे भने अर्का धावक गोपिचन्द्र पार्कीले ३० किलोमिटर दूरी पार गरेपछि दौड छाडेका थिए । कुल २१ जना धावकको सहभागिता रहेको म्याराथनमा दुई नेपालीसँग अन्य राष्ट्रका चारजना धावकले पनि बीचैमा दौड छाडेका थिए ।
नेपाली टोलीकी ब्यवस्थापक शान्ती सिंहले इन्डोनेसियाको मौसमका कारण खेलाडीले दौड पूरा गर्न नसकेको बताइन् । यसैगरी एथलेटिक्सका जानकार निलेन्द्र श्रेष्ठले पनि यहाँको मौसमकै कारण खेलाडीले स्वभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।
गर्मी र आद्रताको कमीका कारण खेलाडीले दौड पूरा गर्न नसकेको उनको तर्क थियो । सुरुमै छिटो दौडँदा खेलाडीको शरीरमा पानीको मात्रा कम भएकाले पनि समस्या देखिएको श्रेष्ठले बताए । ६३९ नम्बरको बिप लगाएर दौडिएका कृष्णबहादुरले अघिल्लो पाँच किलोमिटर दूरी केवल ३४.१९ सेकेन्डमा पूरा गरेका थिए । त्यतिबेलासम्म उनी २०औं स्थानमा थिए ।
यसैगरी १० किलोमिटर दौड पूरा गर्न ५१.४२ मिनेट समय खर्चिदै उनी १९औं स्थानमा आए । २० किलोमिटर दौड एक घन्टा १२ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै उनी १८औं स्थानमा आए । त्यसपछि ३० किलोमिटर एक घन्टा ४३ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उनी १२औं स्थानमा आएका थिए । दुई घन्टा २३ मिनेट १३ सेकेन्डमा ४० किलोमिटर दूरी पार गरेर दौड छाड्नुअघि उनी १२औं स्थानमा थिए ।
दुई नेपाली खेलाडीसँगै ब्रुनाई, कजाकस्तान, आयोजक इन्डोनेसिया र माल्दिभ्सका एक÷एक जना खेलाडीले पनि दौड छाडेका थिए । पुरुष म्याराथनमा निर्धारित दूरी दुई घन्टा १८ मिनेट २२ सेकेन्डमा पार गर्दै जापानका इनाई हिरोतो पहिलो भए । बहराइनका एहसान एलबासी दोस्रो र चीनका दु बुजी तेस्रो भए ।
यसैगरी एथलेटिक्सकै पुरुष एक सय मिटर दौडमा नेपालका यामसाजन सुनार पनि हिट चरणबाटै बाहिरिएका छन् । हिट तीनको लेन सातबाट प्रतिस्पर्धा गरेका यामसाजन आफ्नो हिटमा आठौं तथा अन्तिम स्थानमा आए । उनले निर्धारित दूरी पार गर्न ११.३९ सेकेन्ड समय खर्चिएका थिए ।
ब्याडमिन्टनमा नङ्सल पराजित
१८औं एसियाडको शनिबार भएको ब्याडमिन्टनको दुवै स्पर्धामा नेपाली खेलाडी प्रिक्वार्टरफाइनल खेलमा पराजित भएका छन् । महिला एकलतर्फको प्रिक्वार्टरफाइनलमा नेपालकी नङ्सल तामाङ जापानी खेलाडीसँग पराजित भइन् । उक्त खेलमा जापानकी यामागुची एकेन २१-७, २१-१२ ले विजयी भइन् ।
शनिबार नै भएको पुरुष डबल्सतर्फको खेलमा पनि नेपाली खेलाडी मलेसियन प्रतिद्वन्द्वीसँग पराजित भए । नेपालका विकाश श्रेष्ठ र नवीन श्रेष्ठको जोडीलाई मलेसियाका सिम गोह र वी ताङको जोडीले २१-९, २१-१२ को सोझो सेटमा पाखा लगायो ।
बक्सिङमा पनि निराशा
१८औं एसियाडको बक्सिङमा पनि शनिबार नेपालका तीनैजना खेलाडीले हार ब्यहोरेका छन् । पुरुषतर्फको लाइट फ्लाइवेट ४६-४९ केजी तौलसमूहको प्रारम्भिक चरणमा नेपालका तेजबहादुर देउवालाई लाओसका खाम्फोउभाव खाम्साथोनले १-३ ले हराए ।
यसैगरी पुरुषतर्फकै लाइट वेल्टरवेट ६४ केजी तौलसमूहमा अर्का नेपाली खेलाडी भूपेन्द्र थापा पनि पहिलो चरणमै पराजित भए । उनलाई जोर्डनका ओबाद अल्काबेसले ०-४ अंकले पराजित गरे । महिला लाइटवेट ६० केजी तौलसमूहमा नेपालकी पुनम रावल पनि पहिलो चरणमै हार स्वीकार्न बाध्य भइन् । उनलाई चीनकी याङ वेनलुले ०-५ ले पाखा लगाइन् ।
यसैगरी स्पोर्ट क्लाइम्बिङको पुरुष कम्बाइन्ड छनोट चरणमा नेपालका पेम्बा शेर्पा १९औं र प्रनिलमान श्रेष्ठ २०औं स्थानमा रहे । उक्त स्पर्धामा २३ जना खेलाडीको सहभागिता रहेको थियो । सेपाकताक्रो खेलको पुरुष रुगु स्पर्धामा मलेसियाले नेपाललाई २-० ले हरायो । अर्को खेलमा दक्षिण कोरियाले नेपाललाई २-० ले हरायो ।
यसैगरी प्याराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्री स्पर्धाको पहिलो चरणमा नेपाल तेस्रो स्थानमा छ । उक्त स्पर्धामा १० टोली सहभागी छन् । नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी छन् । पुरुषतर्फ इन्डोनेसिया पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा आसिन छन् ।
सोही स्पर्धाको महिलातर्फ भने पहिलो चरणको खेल सकिँदासम्म नेपाल चौथो स्थानमा आसिन छन् । महिलातर्फ पनि १० टोली सहभागी छन् । नेपाली महिला टोलीमा प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी छन् । महिलातर्फ दक्षिण कोरिया पहिलो, जापान दोस्रो र इन्डोनेसिया तेस्रो स्थानमा छन् ।
यसैगरी पुरुष थ्री बाई थ्री बास्केटबलमा पनि नेपालले दुवै खेलमा हार भोग्यो । पहिलो खेलमा मंगलोलियाले नेपालमाथि २१-११ अंकको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । दोस्रो खेलमा जापानले नेपाललाई २१-४ अंकले पाखा लगायो ।