मेसीको जर्सी जलाउन लगाउने फुटबलरलार्इ एक वर्ष प्रतिबन्ध
जुरिच : अर्जेन्टिनी चर्चित फुटबलर लियोनल मेसीको जर्सी र तस्बिरमा आगो बालेको विरोधमा विश्व फुटबल महासंघ (फिफा)ले प्यालेस्टाइन फुटबल संघका अध्यक्ष जिब्रिल राजोउवलाई एक वर्ष प्रतिबन्धको कारबाही गरेको छ । रुस विश्वकपअघि तय भएको अर्जेन्टिना र इजरायलबीचको मैत्रीखेल रोक्न जिब्रिलले हिंसात्मक गतिविधि अपनाएको भन्दै फिफाले जिब्रिललाई एक वर्ष प्रतिबन्धसहित २० हजार स्विस फ्रांकको जरिवानासमेत गरेको छ ।
फिफाले मैत्री खेल भाँड्न प्यालेस्टाइनका समर्थकलाई उचालेर मेसीको तस्बिर र जर्सी जलाउन लगाइएको भन्दै उनीमाथि छानबिन गरेको थियो । छानबिनपछि फिफाले जिब्रिलले प्यालेस्टाइनका समर्थकलाई उचालेर फुटबलमा हिंसा फैलाएको ठहर गरेको छ । उक्त घटनापछि जेरुसेलममा तय भएको अर्जेन्टिना र इजरायल बीचको मैत्रीपूर्ण खेल स्थगित भएको थियो।
प्यालेस्टाइनले भने इजरायलले मैत्रीपूर्ण खेल जेरुसेलममै खेलाएर राजनीतिक सन्देश दिन खोजिरहेको भन्दै विरोध जनाएको थिए । त्यति बेला अध्यक्ष जिब्रिल आफैंले पनि फिफासँग मैत्रीखेल रोक्न लिखित आग्रह गरेका थिए । जिब्रिलले मैत्रीपूर्ण खेलको विरोध गर्न अरब र मुस्लिम राष्ट्रका फुटबल समर्थकलाई मेसीको जर्सी र तस्बिहरू जलाउन आग्रह गरेको प्रमाण फेला पारेको फिफाको दाबी छ । आफैं फुटबलको जिम्मेवार पदमा रहेर जिब्रिलले फुटबलमा घिनलाग्दो राजनीति घुसाएको समेत फिफाले जनाएको छ ।