जनप्रतिनिधिविरुद्ध स्थानीय आन्दोलित

जनप्रतिनिधिविरुद्ध स्थानीय आन्दोलित

फिदिम : जनप्रतिनिधिले विभेदपूर्ण व्यवहार गरेको भन्दै पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन्।

गाउँपालिकामा व्यापक रूपमा अनियमितता भएको र किसानलाई करको भारी बोकाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। तत्कालीन एमालेले एकछत्र जित निकालेको ठाउँमा कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम र लिम्बुवान पार्टीको नेतृत्वमा स्थानीयले यासोकमा आन्दोलन थालेको जनाइएको छ।

किसानलाई अनावश्यक रूपमा करको भारी बोकाएर जनप्रतिनिधिले आफ्नो ढुकुटी भर्ने काम गरेको उनीहरूको आरोप छ। गाउँपालिका अध्यक्ष जयकबहादुर चेम्जोङलगायत जनप्रतिनिधिले विकास बजेट मनोमानी ढंगमा प्रयोग गरेको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको छ।

‘नागरिकले गाउँपालिकामा सूचना माग्दा पाइँदैन’, यासोकका गोपाल पोख्रेलले भने, ‘अनियमितताको कुरा उठाउने जनतालाई गाउँपालिकाका प्रतिनिधिले धम्क्याउने र तर्साउने काम गर्न थालेका छन्।’

जनप्रतिनिधिले तत्कालीन एमालेका कार्यकर्तालाई पोस्ने गरी योजना लागू गरेको असन्तुष्ट पक्षको गुनासो छ। उपभोक्ता समितिमा कार्यकर्ता र आफन्तलाई मात्र राखेर विकास बजेटबाट कमिसन खाने गरेको आरोपसमेत जनप्रतिनिधिमाथि लागेको छ।

गाउँपालिकाले अन्य पार्टीमा आस्था राख्नेलाई लेखेट्ने प्रयत्नसमेत गरेकाले आन्दोलनमा होमिनुपरेको स्थानीय झरेन्द्र खड्काले बताए। यासोक बजारमा लालपुर्जा भएको जमिनमा घर बनाउन गाउँपालिकाले अवरोध गरेको उनको भनाइ छ। ‘नियम–कानुन सबैलाई समान ढंगले लाग्नुपर्ने हो’, उनले भने, ‘नेकपाभन्दा अर्को पार्टीमा आस्था राख्नेलाई यासोक बजारमा घर बनाउन पनि अवरोध गरिएको छ।’

यहाँ बनाइएका घरसमेत गाउँपालिकाले प्रहरी लगाएर भत्काएको स्थानीयको गुनासो छ। स्थानीय गोपालप्रसाद पोख्रेल, राजकुमार श्रेष्ठ, लालबहादुर कार्की, चन्द्रप्रसाद निरौला, नरेन्द्रबहादुर कार्कीको घर गाउँपालिकाले भत्काइदिएको जनाइएको छ।

यासोकका करिब ३ सय स्थानीय जनप्रतिनिधिविरुद्ध उत्रिएका हुन्। उनीहरूले गाउँपालिका नेकपाको पार्टी कार्यालयजस्तो भएको आरोपसमेत लगाएका छन्। विकास निर्माण र गाउँपालिकाको कामबारे सूचना माग्दा नदिएकाले अनियमितता बढेको उनीहरूको आशंका छ।

‘गाउँपालिकामा मौलाएको अनियमितता रोक्न आन्दोनमा होमिनुपरेको हो’, आन्दोलनका नेतृत्वकर्ता बम लावतीले भने, ‘जनप्रतिनिधिले सबै जनताको हितमा काम गर्न नसक्दा समस्या सिर्जना भएको हो।’

निष्पक्ष र पारदर्शी ढंगले काम गर्ने गरिएको गाउँपालिका अध्यक्ष चेम्जोङले बताए। गाउँपालिकाविरुद्ध स्थानीय नभई कांग्रेस, राप्रपालगायत चार दलका कार्यकर्ता सडकमा उफ्रिएको उनको भनाइ छ। ‘प्रक्रियागत रुपमा गाउँपालिका चुकेको छैन’, उनले भने, ‘गाउँपालिकाले गरेको कागजपत्र हेर्न सबैलाई खुला छ।’

९० प्रतिशत नेकपाको पकड भएको ठाउँमा स्वाभाविक रूपमा नेकपाका कार्यकर्ताले धेरै अवसर आएको हुन सक्ने उनले बताए। ‘आन्दोलनको कुनै अर्थ छैन’, उनले भने, ‘गाउँपालिकाले सबैलाई समान ढंगले हेरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.