१८औं एसियाली खेलकुद : कराँते र बक्सिङ पनि पदकविहीन
जकार्ता (इन्डोनेसिया) : एसियाली खेलकुदको १८औं संस्करणमा एकपछि अर्को निराशाजनक नतिजा हात पार्दै आएको नेपाली टोली आशा गरिएका थप दुई खेल कराँते र बक्सिङमा पनि पदकविहीन बन्ने निश्चित भएको छ। प्रतियोगिताको १०औं दिन सोमबार कराँते र बक्सिङका सबै स्पर्धा समाप्त हुँदा नेपाली खेलाडीले एउटा पनि पदक हात पार्न सकेनन्।
कराँतेको अन्तिम दिन सोमबार अनुभवी खेलाडी अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै पदकको आशा जगाए पनि कांस्यका लागि भएको भिडन्तमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित हुन पुगिन्। नेपालका लागि कराँतेको यो अन्तिम स्पर्धा थियो।
कुमुतेतर्फ महिलाको ५० केजीभन्दा मुनिको तौलसमूहमा अनुले आफ्नो पहिलो खेलमा मकाउकी सुङ ई चिङलाई ५-१ अंकले हराएकी थिइन्। दक्षिण एसियाली खेलकुदकी पदकधारी अनु क्वार्टरफाइनल भिडन्तमा भने ताइपेईकी गु साइसुङसँग २-७ अंकले पराजित हुन पुगिन्।
त्यसपछि अनुलाई हराउने खेलाडी गु साइसुङ प्रतियोगिताको फाइनलमा पुगेकीले अनुले कांस्य पदकका लागि अगाडि बढ्न अर्को भिडन्तको अवसर पाइन्। उक्त भिडन्तमा अनुले लाओसकी खेलाडी सिरिभिमोन सिरिमुंखोनलाई ३-१ अंकले पराजित गर्दै आफूलाई कांस्य पदकको दाबेदारका रूपमा उभ्याइन्।
तर, कांस्य पदकका लागि उनको प्रतिद्वन्द्वी जापानी खेलाडी परिन्। बलियो जापानी प्रतिद्वन्द्वी मियाहारा मिहोविरुद्घको उक्त खेलमा अनु ९-० ले पराजित हुन पुगिन्। यसरी सफलताको अत्यन्तै नजिक पुगेर पनि नेपाल जारी एसियाडमा पहिलो पदक हात पार्नबाट चुक्यो। क्वार्टरफाइनलमा अनुलाई हराउने ताइपेईकी खेलाडी गु साइसुङले नै उक्त स्पर्धाको उपाधि पनि जितिन्। जारी एसियाडमा अनुबाहेक कुनै पनि नेपाली खेलाडीले दुईवटा खेल जित्न सकेका छैनन्।
त्यसअघि सोमबार नै पुरुषतर्फको ८४ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका खेलाडी दिवश श्रेष्ठ आफ्नो पहिलो भिडन्तमै पराजित भएका थिए। बाई पाएर सीधै दोस्रो चरणमा पुगेका दिवसलाई इरानका जाबिल्लाह पुर्साबले ८-० अंकले पराजित गरेका थिए। नेपाली कराँतेले जारी एसियाडको आठवटा स्पर्धामा भाग लिएको थियो।
यसैगरी सोमबार नै बक्सिङमा पनि नेपालको स्पर्धा सकिएको छ। पुरुष मिड्लवेट ७५ केजी तौलसमूहको भिडन्तमा नेपाली खेलाडी दीपक श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भए। दीपकलाई कान चिवेईले पहिलो खेलमै ५-० ले पराजित गरे।
प्याराग्लाइडिङमा भने नेपालले सोमबार पनि पदक जित्ने सम्भावना कायमै राखेको छ। पुरुष टिम क्रसकन्ट्री स्पर्धाको तेस्रो चरणको खेल सकिँदासम्म नेपाल चौथो स्थानमा छ। अघिल्लो दिन नेपाली टोली तेस्रो स्थानमा थियो।
उक्त स्पर्धामा १० टोली सहभागी छन्। नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्। पुरुषतर्फ इन्डोनेसिया पहिलो, जापान दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा आसीन छन्।
एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको महिला आठ सय मिटरमा दौडँदै नेपालकी सरस्वती भट्टराई (६३)।तस्बिर सौजन्य : राखेप
सोही स्पर्धाको महिलातर्फ भने तेस्रो चरणको खेल सकिँदासम्म नेपाल छैटौं स्थानमा आसीन छ। अघिल्लो दिन नेपाली टोली पाँचौं स्थानमा थियो। महिलातर्फ पनि १० टोली सहभागी छन्। नेपाली महिला टोलीमा प्रतिभा भुजेल, तृषा तामाङ र सबिता तामाङ सहभागी छन्। महिलातर्फ जापान पहिलो, दक्षिण कोरिया दोस्रो, इन्डोनेसिया तेस्रो, थाइल्यान्ड चौथो र मलेसिया पाँचौं स्थानमा छन्।
यसैगरी स्क्वासको पुरुष टिम स्पर्धामा पनि नेपाल पराजित भयो। समूह ‘ए’बाट प्रतिस्पर्धा गरिरहेको नेपाललाई दक्षिण कोरियाले ३-० ले हरायो। पहिलो खेलमा नेपालका अमृत थापामगर दक्षिण कोरियाका को योङ्जोसँग ११-२, ११-१, ११-४ अंकले पराजित भए।
सोही स्पर्धाको दोस्रो खेलमा दक्षिण कोरियाका ली सेउङ्तेकले नेपालका राजेन्द्र शाक्यलाई ११-०, ११-५, ११-५ अंकले पराजित गरे। तेस्रो खेलमा पनि कोरियाली खेलाडी ली से ह्युङले नेपालका अरहान्तकेशर सिंहलाई ११-४, ११-३, ११-४ अंकले हराए।
यसैगरी टेबुलटेनिसको सोमबार भएका चारमध्ये एक खेलमा नेपाल विजयी भयो भने तीन खेलमा पराजय बेहो¥यो। महिला टिम स्पर्धाको आफ्नो पहिलो खेलमा नेपाली टोली हङकङसँग ३-० ले पराजित भयो। नेपालकी नविता श्रेष्ठलाई हङकङकी ली चिङ वाङले ११-७, ११-३, ११-८ अंकले पराजित गरिन्।
अर्को खेलमा हङकङकी निङ विङ नामले नेपालकी स्वेच्छा नेम्बाङलाई ११-४, ११-२, ११-४ अंकले हराइन्। तेस्रो खेलमा पनि हङकङकी सु विई यामले नेपालकी रविना महर्जनलाई ११-६, ११-१, ११-१ अंकले पराजित गरिन्।
महिला टिम स्पर्धाकै अर्को खेलमा भियतनामले नेपाललाई ३-० ले हरायो। पुरुष टिम स्पर्धामा भने नेपालले आफ्नो दोस्रो खेलमा लाओसमाथि ३-१ सेटको जित हासिल ग¥यो। त्यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली उत्तर कोरियासँग ०-३ ले पराजित भएको थियो।
यसैगरी एथलेटिक्सको महिला आठ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई हिट चरणबाटै बाहिरिइन्। हिट तीनबाट प्रतिस्पर्धा गरेकी सरस्वती आफ्नो हिटमा सहभागी सात खेलाडीमध्ये छैटौं स्थानमा आइन्।
निर्धारित दूरी पूरा गर्न सरस्वतीले दुई मिनेट १२.८५ सेकेन्ड समय खर्चिएकी थिइन्। माल्दिभ्सकी खेलाडीले सरस्वतीभन्दा पछाडि दौड पूरा गरिन्। सन् २०१७ मा भारतको भुवनेश्वरमा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा सरस्वतीले यही दूरी पूरा गर्न दुई मिनेट १३.९९ सेकेन्ड समय खर्चिएकी थिइन्।
यसैगरी सेपाकताक्रोमा सोमबार नेपाली खेलाडी पराजित भए। पुरुष रेगु स्पर्धाको प्रारम्भिक चरणमा नेपाललाई भारतले ०-२ ले हरायो।