टोटनह्यामसँग लज्जास्पद हारपछि संकटमा माउरिन्हो
काठमाडौँः सर्वाधिक पटकको इङ्लिस प्रिमियर लिग विजेता म्याचनेस्टर युनाइटेड यो सिजन पनि खराब लयमा देखिएको छ । गएराति भएको प्रिमियर लिगको आफ्नो तेस्रो खेलमा टोटनह्यामसँग ३–० को लज्जासपद हारपछि युनाइटेडका कमजोरी एकसाथ छताछुल्ल भएका छन् ।
घरेलु मैदानमा वल्ड ट्राफोर्डमा टोटनह्यामसँग नमिठो पराजय भोगेपछि प्रशिक्षक जोजे माउरिन्होको जागिर पनि धरापमा परेको छ । सिजनको सुरुमै लय बिग्रिएपछि म्यानयुको व्यवस्थापनले रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने कोशिश गरेको समाचार बेलायती अखबारहरुले प्रकाशित गरेका छन् ।
घरेलु मैदानमा टोटनह्यामलाई गोलरहित बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडले खेलको ५० औँ मिनेटमा गोल खायो । टोटनह्यामका ट्रिपियरले प्रहार गरेको हाई भली कर्णर बललाई ह्यारी केनले हेडमार्फत् गोल गर्दै १–० को अग्रता दिलाए ।
त्यसपछि काउन्टर एट्याकका क्रममा खेलको ५२ औँ मिनेटमा क्रिस्टियन एरिक्सनले युनाइटेडको डी बक्स भित्र दिएको क्रस बललाई लुकास मोउराले सटिक प्रहार गर्दै जालीको दिशा देखाएर अग्रता २–० मा पुर्याए ।
टोटनह्याम त्यतिमै रोकिएन, यसका लागि लुकास मोउराले नै खेलको ८४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै ३–० को जित पक्का गराए । यो जितसँगै टोटनह्यामल तीन खेलमा सतप्रतिशत नतिजा निकालेर ९ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान ९ अंक भएको लिभरपुल गोल अन्तरका आधारमा अगाडि छ ।
पराजित युनाइटेडले भने यो सिजनका तीन खेलमा लेस्टर सिटीलाई मात्रै हराएको छ । उसले दोस्रो खेल पनि ब्राइटनसँग ३–२ ले गुमाएको थियो । युनाइटेड ३ अंकसहित लिगको १३ औँ स्थानमा खुम्चिएको छ ।