धमाधम खुल्दै नयाँ सरकारी कार्यालय
कुश्मा : साउन १ गतेदेखि पुराना सरकारी कार्यालय खारेज गरेको गण्डकी प्रदेशले धमाधम नयाँ कार्यालय स्थापना गरेको छ। प्रदेश सरकार मातहत रहनेगरी पर्वतमा आइतवार र सोमवार गरी दुईवटा कार्यालय स्थापना भएका हुन्। साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा पर्वत र बागलुङ जिल्ला हेर्नेगरी ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ भने साविक भु–संरक्षण कार्यालयको स्थानमा पाँच जिल्ला हेर्ने गरी भु तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरिएको छ।
भु तथा जलाधार व्यवस्थापन कार्यालयले पर्वत लगायत साविक धौलागिरिका चार जिल्ला र साविक गण्डकी अञ्चलको स्याङ्जा जिल्ला हेर्नेगरी कार्यालय स्थापना गरिएको हो।
कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेश सरकारका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे भने भु तथा जलाधार व्यवस्थापन कार्यालयको सोमवार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन्।
कार्यालयको उद्घाटन गर्दै मन्त्री लम्सालले संघीयताको अभ्यास सँगसँगै नयाँ संरचना र नयाँ पद्धतिवाट नागरिकलाई सेवा प्रवाह गर्ने उद्धेश्यले यो कार्यालय पर्वतमा स्थापना गरिएको बताए। उनले पर्वतमा कार्यालय राखेपछि सवै हिसावले काम गर्न सजिलो हुने र पाँचवटै जिल्लाको मध्यविन्दुमा पर्ने भएकाले सवैलाई सहज हुने बताए।
उनले विगतमा भु संरषण कार्यालयले गर्ने योजनाभन्दा ठुला र धेरै लाभग्राहिहरु लाभान्वित हुने खालका योजनाहरु यो कार्यालयले संचालन गर्ने बताए। लम्सालले गण्डकी प्रदेश बढि पहाडी र कमजोर भुबनोट रहेको बताउँदै पाँचवटै जिल्लामा समान रुपमा आफ्ना सेवाहरु प्रवाह गनृ आग्रह गरे।
अहिले उक्त कार्यालयमा १६ जनाको दरबन्दी रहेको छ। यस कार्यालयले कुवा पोखरी संरक्षण, सहरी खानेपानीका जलाधार क्षेत्र संरक्षण, संवेदनशिल जलाधार क्षेत्र संरक्षण, भुसंरक्षण प्रदर्शनी स्थल निर्माण, नदि उकास जग्गा पुर्नस्थापना, सडक सँग भुसंरक्षण कार्यक्रमहरु गर्ने मन्त्रालयका सचिब बुद्धिसागर पौडेलले जानकारी दिए।
यसगरी आइतवार सम्पनन कृषि ज्ञान केन्द्रको उद्घाटन गर्दै भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेश भित्र ६ वटा कृषि ज्ञान केन्द्र तथा ७ वटा पशु अस्पताल तथा बिज्ञ केन्द्र स्थापना गरि कृषि र पशुसेवालाई कृषकका बिचमा सहज पहुँचको ब्यबस्था गरेको बताए।
‘कृषि ज्ञान केन्द्रमा माटो परिक्षण लगायतका प्रयोगशाला, बिज्ञ समुह रहने र हरेक स्थानिय तह तथा कार्यालयहरुसँग समन्वय गरि प्राबिधिक सेवा दिने तयारी गरिएको उनले बताए। अहिले कृषिको बजेट स्थानिय तहमा गएपछि सोही अनुसार प्राबिधीक जनशक्ति जान नसक्दा आशा अनुरुप प्रतिफल नआएको कारण प्राबिधीक सहयोग र कार्यक्रमहरु समेत सञ्चालन गरि कार्यालयहरु स्थापना गरिएको मन्त्री थापाको भनाई थियो।
‘यस्ता कार्यालयहरु प्रदेश सरकारका आधिकारीक कार्यालयहरु भएपनि केन्द्र सरकार र स्थानिय तहको समेत संयोजन गरि ब्यबसायिक कृषि र पशुपालन बढाउन मद्दत पुग्ने बिश्वास लिएका छौ’ मन्त्री थापाले भने।
सो अवसरमा भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठले कृषि ज्ञान केन्द्रले संचालन गर्ने कार्यक्रमका बारेमा जानकारी दिएका थिए। कृषि ज्ञान केन्द्र उद्घाटन कार्यक्रममा मन्त्री थापा, प्रदेश साँसद जुनादेबी नेपाली, प्रदेश भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठ, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले लगायतले नयाँ कार्यालयले पर्वत र बागलुङ्ग जिल्लाको कृषिलाई ब्यबसायिकरण गर्न महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा सहित शुभकामना दिएका थिए।